एक

अचेल बस्ती र शहरहरु उजाड लाग्छ
यहाँ एउटा अप्रत्यक्ष आतंकले
मनाईरहेछ मृत्यु उत्सव,  
संत्राशको घेरा भित्र मान्छेहरु
खुम्चिरहेछन संकुचन हुँदै
निसन्देह उन्मुक्त मनहरु पनि
गुम्सिरहेछन जीवन ज्योति खोज्दै
यहाँ हरेक बिहानी उदाउने सूर्यले  
छर्दैन उज्ज्यालो मनको आँगनमा  
चराहरुले गाइरहेको उन्मुक्त प्रेमगीत  
लाग्छ उदास शोकगीत झै  
फूलिरहेका फूलहरुमा देखिन्छ
उदासीका निरस रङ्ग  
खोलानालाको सुसाई कति निसार  
छोएर जान्छ एक झोका बतासले  
खै भेटिन्न त्यहाँ कुनै सुवास
आकाशको स्वच्छ निलो रङमा  
भेटिन्न शान्तिको कोमल निश्वास
जीवनको गतिशिल समय पनि लाग्छ
मानौ बाँच्नुको फगत आभास !

दुई

जीवन क्षणभंगुर छ र डराउँछ मान्छे
मृत्यु निश्चित छ र त अझै डराउँछ मान्छे
यो धरती, आकाश अनि घाम जून र ताराहरु
नदी नाला, बतास र चराहरु कति स्वतन्त्र छन ?
निस्फिक्री, निस्पाप, निस्वार्थ प्रकृतिको हरियाली जस्तै
उनीहरुको स्वतन्त्रता कहाँ छेक्छ र सिमानाले
रङ, जात, धर्म, वर्ग र सम्प्रदायको
पर्खाल कहाँ छ उनीहरु बिच ?
यहाँ जो छ विकृति मान्छे, मान्छे, मान्छेमा छ
उचँ निच, धनी गरीब, बोक्सी र छुत अछुत
त मान्छेको मन, मन भित्र छ
चिन्दैन मृत्युले कुरिती र कुप्रथा
चिन्दैन अदृश्य संत्रासले विसङति
यसैले त हरेकले भोगिरहेछन कहर
हरेकले पिउँदैछन आतंकको जहर
निर्भिकतापूर्वक छाम्नु आफ्नै आत्मा
बाँचिन्जेल हो संवेग र संवेदनाहरु  
जीवन र मृत्यु त फगत आभास !

तीन

एउटा नदीको दुई किनारा जस्तै “जित र हार”
तर यो समय न हार हो
न जित नै
उस्ता उस्तै हुन
हेत्छाकुप्पा = सिसिफस
अभिशप्त जिन्दगी    
म आफै भित्र हराईरहेछु
आफ्नै लाचारीपनमा चिच्याईरहेछु
म मागीरहेछु एउटा दिन  
जहाँ म उन्मुक्त श्वास फेर्न सकुँ
संत्रासमुक्त धर्ती रमाएको हेर्न सकुँ
छुन सकुँ तिमीलाई, रम्न सकुँ तिमीसँग
बाँच्नको निम्ती हो जिन्दगी
हाँसोमा रम्न पर्छ, काँडामा फूल्नु पर्छ
यसैले समय परिवर्तनशिल छ
अध्यारो पछि, आउँछ सुनौलो दिन
उठ्नु पर्छ, जुट्नु पर्छ
एक भई सगोल धरतीको छातीमा
मेटेर हरेक सिमारेखा, भत्काएर पर्खाल  
जसले छुट्ट्याएकोछ मान्छेलाई मान्छेबाट
विभक्त गरेको छ मनको आत्मियता मनबाट
यसैले फगत आभास होईन जिन्दगी  !

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *