– टंक वनेम

जति जति एउटा वास्तविकताबाट भाग्न खोज्थेँ,मायाको न्यानो अंगालोले अंगाल्न खोज्थ्यो। अर्को शब्दमा याङडीमास्यौको मायाले फुत्कीनैं नपाइने गरेर बाँध्न खोज्थ्यो। हुन त याङडीमास्यौलाई स्वास्नी बनाएर त्यही बसे पनि त हुने थियो। आखिर जीवनमा माया भन्दा ठूलो कुरापो केे थियो र? घर फर्के पनि घरमा स्वास्नी थिएन क्यारे! भएको आमा बाबु उहिल्यै स्वर्गवास भई सकेका थिए। तब केको लागि घर फर्किनु थियो र? भएको एक जना बहिनि कुटुम्वको हात लागि सकेको थियो। मन एक तमासले चक्काचुली खेल्न थाल्थ्यो। याङडीमास्यौ म अव तिम्रो माया विना बाँच्न नसक्ने भएकोछु। जानी नजानी बर्मेली भाषा बोलेको उस्ले बुझथी र अंगालो हालेर भन्थी। गोर्खा तिमी मेरो मुटु भित्रै रोपिएका छौं बन्दुक पड्काउन छोड। याङ्डीमास्यौको यति धेरै माया,युद्ध मैदानको सिकार हुने सम्भावना तर पनि खोइ कुन्नी केले हो गाउँघर र देशतिरै मन फर्किन्थ्यो। लडाईको मैदानबाट बाँचेर घरै पुगिएला भन्ने भरोसा पनि थिएन। रोलकलमा हाजिर हुन अवेर भयो भन्दा पनि याङ्डीमास्यौ ढिपी गरेर पोल्टाभित्र लुकाउँन खोज्थी।

माया पनि कस्तो नजातीको हुँदो रहेछ। माया बसे पछि ढुङ्गाको मुटु बोकेर मान्छे मार्ने सिपाहीलाई पनि कमलको फूल झैं कोमल र सून्दर देख्ने? भोली उज्यालो भई हाल्छनी ङास्यौ किन सर्पले मणी बेह्ेर राखेझैं बेर्छौ भन्दा पनि उ चुपचाप न्यानो अंगालोमा बेह्रेर अशिम आनन्दमा डुबुल्की मारि रहन्थिन्। मलाई थाहा थियो फस्ट गोर्खा राइफलको पाइतो सरी सकेको छ। भोली बिहान मिरमिरेमा आफ्नो गोली गा तोप,टयाङ्क र युद्धको सामाग्री लिएर युद्धको मार्चपास हुनेछ। दोश्रो गोर्खा राइफलको पालो पनि त त्यसरी नैं अघि बढनेछ। ङास्यौलाई के थाहा थियो होलार? म अव अर्को युद्धको महासग्राममा भिड्न लाग्दैछु। त्यतीखेर जापानले बर्माको पश्चिमबाट आक्रमण गरी दक्षिण पूर्वी भागमा अखडा जमाएको थियो। हाम्रो बटालियन सहित अरु दुई रेजिमेन्ट त्यो अखडालाई तोड्न आक्रमणको लागि तयारी गर्दै थियौं। त्यही आक्रमणकारी दस्ताको एक सिपाही भने ङास्यौको मुटुमा मायाको फूल भएर फक्रिएको थिएँ। ङास्यौ सुनेनौ मादलको टाङटुङ बज्न शुरु गर्‍यो अव रोलकल लाग्नै आँटेको छ म भोली यही ठाउँमा भेटन आउँला। उनी मुटुमा रोपिएको मायाको किल्लोमा बाँधी राख्न पाए हुन्थ्यो भनेर मायाको भिग माग्थिन्। मुटुमा मायाको 137याङ उमि्रन महिना र बर्ष दिन नलाग्दो रहेछ। एकै महिनामा त्यो मायाको पहाड अग्लिएको थियो। उनको आँखाको वरिपरि माखरिङबस्तिको धमीलो आकाश मडारिए रहे झैं लाग्थ्यो। भोली पल्ट लडाइको तयारी गर्न कतै उम्कनै पाइएन। भौतिक शरीर लडाइको तयारीमा भए पनि ङास्यौको मायाले दिमाग गह्ुगो भई रहेको थियो। “युद्धको वलि आज हो कि भोली खाउ रमाउ र मोज गर”। शायद यिनै कुराहरु दिमागभरी नाचेका नाचे थिए। पर्सिपल्ट उही पुग्दा ङास्यौ मलीन अनुहारमा निन्याउरो भएर पर्खि रहेकी थिइन। माफ गर युद्धको तयारीमा ब्यास्त भएँ तिमी रिसायौ होला? ङास्यौले रिसाउँदै ओँठ टोकेकी थिई। यतीखेर मैले दुई नाउमा टेकेर एउटा महायुद्धको जङघार तर्दै गरेको अनुभूति गरेको थिएँ। ङास्यौले बनाएको लोकल रक्सी र शितन खाएर जिब्रो पडकाउँदै सुःख दुःख साटि रहदाँ लाग्थ्यो अव म युद्ध गर्ने कामबाट अलग भएर माखरिङ बस्तितिरै घरजम गर्छु होला। तर भावीले लेखेको कर्म नमेटी मर्न नपाइने रहेछ। बखत बहादुर काका आफ्नो सुल्फामा सूर्ति भर्थे र आफ्नो कहानी अगाडी बढाउँथे।

छुट्टीमा गएर तीनपाने सोमरसको कोसेली चढाएर बूढाबाट तिनै माखरिङ बस्तिको कथा फुत्काउँने उपाय गरेको थिएँ। तर बूढाको सफ्टवेर निकै पूरानो भई सकेको थियो। उनी भन्न खोज्थे तर उही पूरानो जोश जाँगर र ठट्टाइलो पाराको थिएन। हाउ! कान्छा होइन के पो भन्दै थिएँ भनेर अफै प्रश्न गर्थे। बर्मेली काका ङास्यौलाई छोडेर कसरी युद्ध मैदानमा होमिनु भयोनी? भन्ने प्रश्न अघि सार्दा उनी निकैबेर एकोहोरिन्थे र भन्न लाग्थे। अनित नानी एकदिन ङास्यौले ब्यारेक फर्कनै दिइन। उ धेरै रोई कराई र आफैसंग बस्न विन्ति गरी। मलाई पनि उनी प्रति असाध्यै माया लागेको थियो। तर भित्री मनमा भने मलाई फेरि एक पल्ट आफु जन्मेको ठाउँ हेर्न मन लाग्यो। आफ्नो हातको औंठी फुकालेर उस्को औलामा लाई दिएँ उसले पनि त्यसै गरी। अव मेरो श्रीमति भयौ भने पछि म फुत्किन सफल भएँ। ङास्यौको माया लाग्दा लाग्दै फेरि भेट्न सकिन र बटालियन माखरिङ बस्तिबाट मोभ भयो। यति भनि सक्दा बूढाको आँखामा ढलपल ढलपल आँसुको खहरे उर्लेको लियो। लडाईबाट फर्के पछि बखत बहादुर काकाले कसैलाई विवाह गरेनन्। शायद त्यही बर्मेली ङास्यौको मायाले उनलाई जीवनभरि बाँधि राखेको थियो। हिउँदको पारिलो घाममा बखत बहादुर काकाको ब्याथा सुन्नेहरुले हिउँको बरफ जस्तै चिसो भएको अनुभव गरेका थिए। उनी जीवन प्रति पश्चयताप गर्दैन्थे न स्वास्नि र छोरा छोरी बिनाको जीवन एक्लो महसुस गर्दथे। शहरमुखी हुने भए उनी भलाद्मी र विद्धानमा गनिन्थे शायद। उहाँभित्र धेरै प्रकारका ज्ञान थियो। कितावी ज्ञान,वेदान्ति ज्ञान,युद्ध ज्ञान साथै वैद्य ज्ञान आदी।

ङास्यौको मायामा तडपेर ब्रह्मचारी जस्तै भए पछि बखत बहादुरबाट बर्मेली काकाको नामले चिनिएको थिए। बर्मेली काकाको औलामा हरियो पत्थरले मोरेको औंठि टल्की रहेको हुन्थ्यो। ङास्यौसंग माया प्रिती बसे पछि छुट्नु अघि साटसाट भएको औठि हो रे त्यो। तीनपाने लागेको वेला कुनामा बसेर कहिले काँहि त्यही औठी हेर्दै सुक सुकाउँथे। विचरा! बर्मेली काका औठी साटासाट भएको वेला एकाइस बाइस बर्षका लक्का जवान थिए होलान्। ङास्यौको माया उप्काउँनै सकेछन्। युद्ध थामिएको १२ बर्ष पछि सेवा निवृत भएका थिएरे। उनै काकाले भनेका थिए पल्टने जागीरे हुँदै उनको ङास्यौलाई खोज्न माखरिङ बस्तिमा पुगेछन्। तर ङास्यौ बखत बहादुर काकाको मायामा तड्पिन्दै आफ्नो देह त्याग गरी सकेकी थिइन्। ङास्यौले लेखेको पत्र र एउटा मफलर भने लिएरै आएछन्। सुन बुट्टे पश्चिमी मफलर लाएर बूढोको बैँस लरक्कै लर्किन्थ्यो कुनै वेला। गाउँका बूढा पाकाहरुले जिस्काउँथे, हेर नानी हो माया गर्ने हो भने बर्मेली बूढा जस्तो माया लाउँनु पर्छ। न बाढीले बगाउँछ न हुरीले उडाउँछ। गाउँका मान्छेहरु भन्ने गर्थे हो बूढाले काइदाकै सत्य माया लाएका रहेछन्। ङास्यौधाराबाट बगेको साङलो पानीमा उनै ङास्यौको प्रतिविम्व धर्रर …………बगी रहेको थियो। लिम्बूहरुको बस्तिमा ङास्यौ शब्द अपभ्रंश भई ङास्यौङ भएको थियो। बर्मेली काकाले उनै आफ्नो प्रेमिका याङडी मास्यौको नामबाट धारा बनाएका थिए। युद्ध गर्न तम्सिएका बखत बहादुर काकाको हातबाट कति दुश्मनहरुको इहलिला समाप्त भयो उनैलाई थाहा होला। गाउँका मान्छेहरुले देखेको सत्य भने उनी एक जना इमान्दार प्रेमी थिए। प्रेमको पूजा गरेरै आफ्नो जीवनको अन्त गरे।

मृत्यु हुनु अगाडी बर्मेली काकाले आफ्नो बचेको पेन्सिनबाट ङास्यौ धारा पारि पट्टि उच्च डाँडालाई आफ्नो समाधी स्थल बनाउँन किनेका थिए। उनको समाधी स्थलबाट ङास्यौ धारा धर्रर……… बगेको हेर्न सकिन्थ्यो। ङास्यौ धारा र समाधी स्थल पुग्ने मान्छेहरुले धारा र समाधी स्थललाई धेरै अर्थ लाएका थिए। समाधी स्थलको डाँडा अनन्तसंम्म रहन्छ र धाराको मुल पनि निरन्तर बगी रहन्छ। तर धाराको पानी बगेर त्यो डाँडामा पुग्न सक्दैन न डाँडामा त्यो पानीको मुल फुट्न सक्छ। बर्मेली काकाले निकै गमेर त्यो धाराको निर्माण र आफ्नो समाधी स्थलको डाँडा रोजेका होलान्। बर्मेली काकाको चिहान एउटा इमान्दार प्रेमीको चिहानको रुपमा परिणत भएको थियो। याङडीमास्यौ धाराबाट प्रेम प्रेमिकाहरु पानी बोकेर बर्मेली काकाको समाधी स्थलमा पानी खन्याउँथे र वाचा गर्थे। बखत बहादुर काका र याङडीमास्यौ जस्तो बिछोड भएर बाँच्न नपरोस। संसारमा जे जस्तो भोगेर मृत्यु वरण गरे पनि एक दिन इमान्दारीताको कदर हुँदो रहेछ। एक अर्कामा प्राप्त गर्न नसकेर आत्मा हत्या र आजीवन ब्रहमचारी भएर जीवन विताए पनि अनन्त उनीहरुको भेट भएको थियो। ङास्यौ धाराको पानीले बखत बहादुर काकाको तृष्णा मेटिएको थियो। समाधी स्तम्भमा लेखिएको थियो। “बर्मेली काका बर्मा नबसेर नेपाल आयौ,तिम्रो प्रेमिका बर्माबाट याङ्डीमास्यौ पानीको मुल भएर तिम्रो आत्मा सिंचन गरी रहने छिन्। माखरिङको बस्तिमा तिमी महान योद्धा थियौ र तिम्रो जन्मभूमीमा महान प्रेमी”

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *