– हेमन्त परदेशी

कथा -मैले लेख्न नचाहेको एउटा कहानी

 

एउटा सीमान्त सुखदायी होस् या असह्य पीडायुक्त दुखदायी आखिर जीवन जीवन नै हो र र त्यसको अन्त्यको एउटै बिन्दु मृत्यु नै हुन्छ । जसलाई न कसैले चुनौती दिन सक्छ नत त्यसको समय सीमाको हेराफेरी गर्न नै । बस् जसको पालो आउँछ उसले चुपचाप जानुपर्छ र त्यो पनि बिल्कुल खालि हात लिएर ।

तर यति हुँदाहुँदै पनि मान्छेहरु जीवनमा अनेक थोक गर्न उद्यत हुन्छन् । बालुवामा सुनगाभा फूलाउन खोज्छन् । हिमालमा धानको बाला झुलाउन खोज्छन् । अझ धर्तीले मात्रै नपुगेर चन्द्रमा र मङ्गल ग्रहमा समेत मानव बस्ती बसाल्ने महत्वाकांक्षा राख्छन् ।
हो, यही महत्वाकंक्षी मानव मन भनौं या जिउने जिजीबिषाको बाध्यात्मक खोज कहिल्यै पूरा नहुने जीवनको सपना बोकेर यो मरुस्थलको रेगिस्तानमा भौतारिन थालेको पनि थाहै नपाइ दशक बढी भइसकेछ । ऐनामा आफैलाई नियालेर हेर्छु । अनुहारमा बुढ्यौलीका प्रशस्तै धर्साहरु कोरिन थालेका छन् । कपाल पनि तिल चामले बनिसकेको छ । तर मन उस्तै छ । रहरहरु उस्तै छन् । मानौं मन नै मान्छेको एउटा त्यस्तो अपरिवर्तनीय पाटो हो जो न कहिल्यै बुढो हुन्छ नत सन्तुष्ट नै ।
मन र मष्तिस्कको गहिराइ भित्र दुब्दै जाँदा कहिलेकाहीँ अतित बल्झिने गर्छ । अनुभब र अनुभूतिका बिम्बहरु छताछुल्ल बनेर पोखिन्छन् । र जब जवानी खर्चेर कमाएका आफ्ना अनुभब र अनुभूतिहरुलाई सडक्, चौक र कफिसपहरुमा बेवारिस बनेर पोखिइरहेको देख्छु तब त्यसलाई जीवनको अकुत सम्पत्तिको रुपमा संग्रहित एबम् सुरक्षित गर्ने महत्वाकांक्षाले कलम र डायरीसँग मेतेरी गाँस्ने प्रेरणा दिन्छ मलाई ।
अनुभव र अनुभूतिहरुलाई पर्गेल्दै जाँदा कहिले आफु जन्मिए हुर्किएको गाउँ-बस्ती चाहार्न पुग्छु त कहिले जवानीका रमझमपूर्ण अतितहरु भित्र हराउँछु । संझँदै जाँदा अनेक परिदृष्यहरु मानसपटलमा टनाटन खात लाग्न थाल्छन् । म सकेसम्म त्यसलाई डायरीका पानाहरुमा स्थानान्तरण गर्ने जमर्को गर्छु र समयान्तरमा सीमाहीन शब्दहरुको थुप्रोले मेरा डायरीका पानाहरु भरिन पुग्छन् ।
साँच्ची कस्तो अचम्म? जति सम्झे पनि कहिल्यै नरित्तिने मान्छेको अतित । त्यो बाल्यकाल, त्यो जवानी अनि गुज्रिसकेको त्यो पल । जति सम्झ्यो झनै बढी सम्झना आउने कस्तो अबिष्मरणीय? हो जीवनका तिनै अबिष्मरणीय पलहरु मध्ये मेरो स्मृतिपटलमा बारम्बार दृष्यानुभूत हुने एउटा दर्दनाक घटनाको परिदृष्यले आज पनि बिहानै देखि मलाई बेचैन बनाइरहेको छ ।
हुन त आज मलाई थाहा छैन , उनीहरु कसरी बाँचिरहेका छन् । अथवा बाँच्ने जिजीबिषामा जिन्दगीको कुन मोडमा उभिइरहेका छन् । यद्धपि उनीहरुको दुर्भाग्यपूर्ण जीवन यात्राका बारेमा त्यसबेला सहकर्मी आदितीको मुखबाट सुनेको त्यो बृतान्त भने आज पनि मेरो कानमा जस्ताको त्यस्तै प्रतिध्वनित भइरहेको छ ।
तर अफशोच ! समयको फड्को माराइ सङ्गै उनीसितको सम्पर्क बिच्छेदले अधुरो बन्न पुगेको उनको बृतान्तमा आधारित उपन्यास लेख्ने मेरो रहर भने आज पनि जहाँको त्यही पूर्णबिराम लागिरहेको छ । सुनेको छु, यतिबेला उनी कुनै बृटिस लाहुरेसित बेलायततिरै सुखमय जीवन ब्यतित गर्दैछिन् रे । यद्धपि सहकर्मी पत्रकारको रुपमा उनीसित बिताएका ती पलहरु र मेरो लेखन यात्रामा उनले दिएका प्रेरणाहरुलाई सम्झँदा आज पनि उनी मेरो समीपमै रहेको अनुभूति हुन्छ मलाई ।
वास्तबमा पत्रकारहरुको काम नै समाजमा घटिरहेका नयाँ नयाँ घटनाहरुको खोजी गर्नु र त्यसलाई छापा तथा बिद्युतीय संचार माध्यमहरु मार्फत सार्बजनिक गर्नु हो । यद्यपि कतिपय महत्वपूर्ण बिषयहरु पनि परिस्थितिबस ओझेलमा पर्ने गर्छन् । पत्रकारिता क्षेत्रमा मैले संगालेको अनुभवको एउटा टुक्रा हो यो ।
कुरा ५२ को दशकको हो । त्यसबेला भर्खरै मात्र माओबादी जनयुद्धको बीजारोपण भएको थियो भने हामी दुवै जना राजधानीबाट प्रकाशित हुने एउटा चर्चित एबम् समाचारमुलक पाक्षिक पत्रिकामा बिशेष संबाददाताको रुपमा कार्यरत थियौँ ।
स्वाभावैले बिशेष संबाददाताहरुको जिम्मेवारी एबम् भूमिका अन्य संबाददाताहरुको भन्दा बढी र महत्वपूर्ण रहेको हुन्छ र हामी पनि त्यही जिम्मेवारी बहन गर्दै कार्यलयको निर्णय बमोजिम “जनयुद्धको बीजारोपण र पूर्बी नेपालमा त्यसको असर” का बारेमा स्थलगत रिपोर्टिङ्ग तयार गर्न दुई हप्ते पूर्वान्चल दौडाहामा निक्लिएका थियौं । यद्धपि हामीले रिपोर्टिङ्ग गर्ने जिल्लाहरु भने बेग्ला-बेग्लै तोकिएका थिए ।
“अमन जी ! तपाईँ त साहित्यकार पनि, चाहानु भयो भने त्यस घटनामा आधारित एउटा राम्रो उपन्यास नै तयार गर्न सक्नु हुन्छ ।” स्थलगत रिपोर्टिङ्गबाट फर्किएको दिन नै उनले आफ्नै गृह जिल्ला धनकुटामा घटेको एक् यूगल जोडीको दर्दनाक प्रेमकथाको बृतान्त सुनाउँदै एउटा उपन्यास लेख्न सुझाएकी थिइन् मलाई । तर मैले त्यसबेला उनको कुरालाई अलिकति पनि गम्भिरतापूर्बक लिन चाहिन अर्थात उनले सुझाएकी त्यही पुरानै चलन चल्तीको प्रेम र बिछोडको घटनामा आधारित सामाजिक उपन्यास लेख्ने भन्दा जनयुद्धको सुक्ष्म अध्ययन गर्ने र त्यही बिषयमा एउटा गतिलो ऐतिहाँसिक उपन्यास तयार गर्ने आफ्नो क्षमता भन्दा बाहिरको महत्वाकांक्षाले आवश्यक्ता भन्दा बढी नै अन्तरमुखी बनाएको थियो मलाई त्यसबेला ।
हो, उनले सारंशमा सुनाएकी त्यस घटनाको बृतान्तलाई मैले आफ्ना डायरीका पानाहरुमा टिपोट मात्रै गरेको भए पनि त्यसबेला एउटा बेजोड उपन्यासको पाण्डुलिपी तयार हुने थियो । तर आज समय धेरै अगाडी निक्लिसकेको छ । त्यसैले उनीहरुको जीवनमा घट्न पुगेका दुर्भाग्यपूर्ण सडक दुर्घटनाहरु बाहेक उनीहरुका जीवनका सम्पूर्णा उतरचढावहरु आजको पुस्तालाई सामान्य भन्दा सामान्य मात्रै लाग्नेछन् । एक अर्थमा भन्ने हो भने “टिन-एज” मै एक अर्का प्रति खुल्लम खुल्ला प्रेम गर्ने र बिछोडिने यो पुस्तालाई अभिज्ञान र निरुपमाको प्रेमकथा केवल समय खेर फाल्ने एउटा औचित्यहीन कहानी मात्रै हुनेछ ।
हो, युगान्तर संगै औचित्यहीन बने पनि त्यस घटनाको स्मरणले आज पनि बारम्बार स्तब्ध बन्ने गर्छु म । नियाल्छु, समय र जीवनका बिरोधाभाषपूर्ण चलायमानहरुलाई । साँच्ची कति अन्तर छ यी दुई बीच । एउटा जीवन जो सधैँ समयसंग सम्झौता गरेर अगाडी बढ्न खोज्छ अनि अर्को समय जो जीवनलाई सधैँ किनारा लगाउन चाहान्छ ।
वास्तबमा अभिज्ञान र निरुपमाको प्रेम यात्रा अधुरो बन्नुमा पनि समयको यही कपटपूर्ण खेल नै पूर्णरुपेण जिम्मेवार थियो । यद्यपि यस्तो बिकराल परिस्थित्को सिर्जना हुनुमा कथित सामाजिक प्रतिष्ठाको नाममा उनीहरुको चोखो प्रेमलाई स्वीकार गर्न नसक्ने आफ्नै अभिभावकहरुको दोष पनि कम जिम्मेवार रहेको थिएन ।
हुन पनि सामाजिक प्रतिष्ठालाई भन्दा आफ्नो सन्तानको खुशीलाई प्राथमिकता दिएर अभिज्ञान र निरुपमाको सच्चा प्रेमलाई उनीहरुले स्वीकार्न मात्रै सकेको भए न अभिज्ञान र निरुपमा राता रात गाउँ छाड्न विवश हुन्थे नत निरुपमाले त्यस्तो डरलाग्दो सडक दुर्घटनाको शिकार नै बन्नु पर्थ्यो ।
आखिर सधैँ निरीह र असाह्यहरुमाथि नै बज्रिने दु:खको बज्रपात उनीहरुको जीवनमा पनि बज्रिएरै छड्यो । एउटा बिना कुनै निश्चित गन्तब्य रातारात गाउँबाट टाप कसेका उनीहरु फेरि अर्को रात पर्न नपाउँदै जीवन यात्राकै घनिभूत अँध्यारो भित्र हराउन पुगे । धनकुटाबाट धरान तर्फ ग इरहेको यात्री बस जब भालुखोपामा दुर्घटनाग्रस्त बन्यो तब अभिज्ञानको जीवन यात्रामा पार गर्नै नसक्ने एउटा डरलाग्दो चुनौती खडा हुन पुग्यो ।दुर्घटनाबाट निरुपमाका दुइटै खुट्टा पूर्ण रुपले क्षत बिक्षत मात्रै बनेनन् अपितु त्यसको उपचरार्थ उसले महिनौं दिनसम्म अस्पतालमै बस्नु पर्ने समेत भयो ।
जतिसुकै ठुलो गल्ती गरे पनि आफ्नो सन्तानको पीडामा आँशु नबहाउने बाबु-आमा संसारमा को होलान् र? बस दुर्घटनामा निरुपमा सख्त घाइते बनेकी र उसलाई उपचरार्थ भारतको सिलिगुडी पुर्याइएको समाचार सुन्ने बित्तिकै उसका बुबा आमा पनि रातारात त्यहाँ पुगे र उसको उपचारको लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको कुराको खुलासा समेत गरे ।
त्यो पनि एउटा सौभाग्य नै भन्नु पर्छ कि आर्थिक रुपमा सम्पन्न उच्च घरानिया परिवारकी छोरी भएकै कारणले त्यस्तो गन्भीर दुर्घटना पछि पनि निरुपमाले एउटा नयाँ जीवन प्राप्त गरी । यद्धपि शल्यक्रिया र सर्जरीको भरमा ठीक भएको उसको खुट्टा पहिलेकै जस्तो मजबुत भने हुन सकेन ।
मान्छेको हजार गुणलाई अझेल पार्न उसको एउटै मात्र अबगुण पर्याप्त हुँदोरहेछ । नत्र आफ्नै जन्मदाता बुबा आमाकै कृपाबाट नयाँ जीवन प्राप्त गरेकी निरुपमालाई “अभिज्ञान जस्तो सडकछाप केटासित बिहे गर्ने दुस्साहस मात्रै गरिस् भने तँ हाम्रो निम्ति सधैँका लागि मर्नेछेस् ” भन्ने आफ्नै आमाको बचन निलकाँडा झै बनेर अझै सम्म किन उसको मनमा बिझिरहन्थ्यो र?
हो, आमाको त्यही एउटा तिखो बचन र अभिज्ञानप्रतिको सिङ्गो परिवारको तिरस्कृत ब्यबहारकै कारण निरुपमाको मन सधैका लागि पारिवारिक मोहबाट अलग्गिन पुगेको थियो । यहँ सम्म कि उसले प्राप्त गरेको नयाँ जीवनसंगै अभिज्ञानलाई ज्वाइँको रुपमा स्वीकार्ने तत्परता देखाउँदा देखाउँदै पनि उसका बुबा आमा रित्तै हात घर फर्कन बिबश बनेका थिए । यद्यपि अभिज्ञानलाई आफ्नो बाबु माइतिको हैसियतमा उभिन सक्षम बनाएर कुनै दिन बुबा आमाको आशिर्बाद लिन अवस्य आउने बाचा भने गरेकी थिई उसले ।
तर दुर्भाग्य, समयको छलकपटसंगै निरुपमाको बाचा पनि केवल बाचामै सिमित हुन पुग्यो । आफू अस्पतालबाट डिस्चार्ज् भएको महिना दिन नबित्दै अभिज्ञान फेरि अर्को एउटा सडक दुर्घटनाको शिकार हुन पुग्यो । बिपरित दिशाबाट आइरहेको मोटरसाइकलको ठक्करबाट टाउकोमा लाग्न पुगेको गम्भीर चोटका कारण उसले आफ्नो मानसिक सन्तुलन नै गुमायो ।त्यसपछि त निरुपमा झनै बेसाहारा बन्न पुगी । जागिर खाउँ कसले दिने? मजदुरी गरौँ शारीरिक बिकलाङ्गताले साथ नदिने । अन्तत: अभिज्ञानको प्रेमको चिनो स्वरुप आफ्नो गर्भ भित्र हुर्किरहेको भ्रुणको समेत प्रवाह नगरी जीवनमा कहिल्यै नसोचेको काम समेत गर्न विवश बनी ऊ । एक अर्थमा भन्ने हो भने उसलाई आफ्नो सतित्वको भन्दा पनि अभिज्ञानको जीवनको धेरै चिन्ता थियो । होटल, बार र गल्लीहरुमा आफ्नो सर्बस्व गुमाएर नै सहि अभिज्ञानलाई जसरी भए पनि नयाँ जीवन दिएरै छड्ने संकल्पले उसलाई आँखा चिम्लिएर अघि बढ्न प्रेरित गरिरह्यो । अन्तत उसले आफ्नो संकल्प पुरा गरेरै छाडी पनि ।
अभिज्ञानको स्वास्थ्यलाभसंगै केही महिना पछि निरुपमाले छोरालाई जन्म पनि दिई । रिक्सा चलाएरै भए पनि निरुपमा र नवजात शिशुको स्याहार सुसारमा कुनै कमी आउन दिएन उसले । बिस्तार बिस्तारै निरुपमा पनि तङ्ग्रिदैगई र कुनाको दिनचर्याबाट बाहिर निक्ली । उनीहरुको दिनचर्या पुन: पुरानै अवस्थामा फर्कियो । दिनभरी रिक्सा चलाए पनि साँझमा डेरा फर्कँदा पटक्कै थकित देखिदैनथ्यो अभिज्ञान । एक अर्थमा भन्ने हो भने जतिसुकै दु:ख र अभाव भए पनि प्रेमले स्वर्गको सुखानुभूति दिलाउँछ भन्ने एउटा सत्य उनीहरुको जीवनमा हुबहु लागु भएको थियो त्यसबेला ।
फराकिलो समय बित्दै जाँदा एक दिन अचनाक उनीहरुबीच अबिश्वासको दरार पैदा भयो । बाध्यता र विवशतालाई पनि अपराध सम्झिने बिकृत मानसिक सोचले उनीहरुको सुखी एबम् सुन्दर संसारमा एकाएक आगो सल्काइदियो । अभिज्ञानलाई नयाँ जीवन दिन बाध्यताबस चालिएका उसका कदम कदमहरुमा घृणा र तिरस्कारका निलकाँडाहरु बिझ्न थाले ।यहाँ सम्म कि अभिज्ञान स्वयंले समेत आफूप्रतिको उसको समर्पणतालाई बेइमान र धोकाको संज्ञा दियो । आखिर जसको निम्ति आफ्नो सर्बस्व गुमाई उसैबाट अपहेलित र तिरस्कृत बन्नु पर्दा निरुपमालाई आफ्नै जीवन कति बोझिलो महसुस भयो होला? उसकै भनाईहरुलाई उद्धृत गर्दै आदितीले त्यसको बृतान्त सुनाउँदा मभित्रका मानवीय संबेदनाहरु एकाएक स्तब्ध बन्न पुगेका थिए त्यसबेला ।
थाहा छैन, आज पनि ऊ फगत एक पेट दाल र रोटीका लागि पूर्ब-पश्चिम राजमार्गका अँध्यारा कुनाहरुमा आफ्नो अस्मिताको घुम्ती ब्यापार गर्न विवश बनिरहेकै छे या जीवनको बोझ थाम्न नसकेर सधैँका लागि जीवनबाटै बिश्राम लिइसकी । तर, मेरो मनमा भने सधैँ त्यही एउटा कौतुहलता छाईरहेको छ -“कास्, त्यस दिन आदितीले सुझाएकी कुरालाई सतही रुपमा नलिएको भए एउटा लघुकथामा सीमित बन्न पुगेको यो घटनाको बृतान्त सैयौँ पृष्ठ लामो उपन्यासमा कति पठनीय बन्ने थियो होला?”

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *