शब्द जोडेर उतार्नेछौं प्रवेशद्धारको चित्र
अनि वयस्क घामले डढाउन सक्ने छैनन्
हाम्रा इतिहासलाई
खुल्ला मैदानमा रुझ्ने छैनन् हाम्रा शब्दहरु
हामीले चट्टानमा कोरेको आँशुको आकृित
र सपनाको खुल्ला बजारमा निश्चिन्त भई
बिक्री गरेका हाम्रा उदाङ्गा घाउहरु
ती सबै भेटिनेछन् शब्दका क्यानभासहरुमा ।
प्रेमी पर्यटकको दृष्टिमा साइनबोर्ड भएर
टाँगिनेछन् हाम्रा शब्दहरु ।
समयको आँधिबेहेरीमा रचिएका इतिहास
र भग्नावशेष अनुभूति एकै साथ
चित्रमा रुपान्तरित हुनेछन् ।
अँध्यारोको साम्राज्य पार गरी हामी
पहिल्याउँनेछौं नयाँ प्रवेशद्धार ।
तक्मा कमाएर फर्किएको बुढो लाहुरे
आफैंमा सुस्ताइरहेको ऊ जस्तै साँझ ।
अथवा एक हुल सत्यका समर्थकको स्वाभिमानी छाती
यी सब उभिनेछन् कवितामा ।
फूल रेटिने छैन बग्ने छैन रगतको पानी
छचल्किएर रगतका थोपा रुझ्ने छैन
मुस्कानको शास्त्रीय रङ्ग ।
मृत्युको घण्टाले रगतका सिर्काहरु साथ
सल्काउने छैन दरिद्रताको पीडादायी आगो ।
उज्यालो पर्खिबस्दा शित र तुषारोले
रुझाउने छैन देशको गौरवलाई ।
चेतनाको प्रवेशद्धार अगाडि उभिएर
हामी सुरक्षित वासस्थानको कविता लेख्नेछौं ।
यसलाई उज्यालोका स्वागतार्थिहरु
अद्भुत वरदान मान्नेछन् ।
पर्दा च्यातिनेछ भ्रम र अस्पष्टताको ।
टनकपुरको छेउछाउ बिक्ने छैनन् हाम्रा घाउहरु
र बुट्टेदार चोलीमा गन्हाउने छैन वैंशको दुर्गन्ध ।
हो ! विजयको सिन्दूरले लेख्नेछौं सङ्कल्प
अनि सद्भावको न्यानो अक्षर ।
नयाँ उर्जा थप्नेछ शब्दले
पाइलै पिच्छे खुल्नेछ चेतनाको प्रवेशद्धार ।