-अतीत मुखिया
“प्यालेस्टाइन वा इजरायल जाहा मरे पनि
म मेरो अनुहार मरिरहेकोछु
कास्मिर वा दिल्ली जाहा मरे पनि
म निरपराध मरिरहेकोछु
यतै रोल्पा वा दाङ जाहा मरे पनि
म मान्छे मरिरहेछु
भयग्रस्त
…आफ्नै अनुहारसंग किन
पराजय भोगिरहेछु,
यतिबेला…?”
पुराना पुस्तकहरु केलाउने क्रममा २०५९ कार्तिक अङ्कको मधुपर्कमा कवि नारायण तिवरी सृजित “यतिबेला” सिर्षकको उपरोक्त म आफैले हाइलाइट गरेका पङ्तिहरुमा मेरा आँखा अल्झन्छन् । सायद कविका उपरोक्त पंतिहरु संगसंगै तत्काल मेरा अनुभूतिहरु पनि अदृश्य पीडाका लाभा बनेर बगेका हुनुपर्छ । मैले हाइलाईट गरेका पङ्तिहरु मैले कुनै न कुनै लेख रचनाहरुमा साभार गर्नै गरेको हुदा यी पङ्तिहरुले मलाई पूर्वस्मृतिको रङमञ्चमा उभ्याउछन् र म तिनै परिचित अनुहारहरु झट्ट सम्झन पुग्छु ।
मेरो छिमेकी हरी प्रसाद दाङ काण्डमा वीरगति प्राप्त गर्ने तत्कालिन शाहीशेनाका एक सिपाही । कमल थापा मगर रोल्पाकाण्डमा सहादत प्राप्त गर्ने मेरो एकदमै मिल्ने साथी बिमलको भाई । अनी तेरजना नेपालीहरुको विभत्स सामुहिक हत्याकाण्ड जसलाई अलजजिरा टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका दृश्यमा घाँटि रेटिएका मेरा आफ्नै मितज्वाई जो तत्कालिन जनयुद्धताका शाहीशेना तथा माओबादी बिद्रोही दुवै तर्फको यातनाबाट छलिन बैदेशिक रोजगारको बगाईमा बगेका थिए । जसको घाँटि रेटिनु केही समय अगाडीमात्र नेपालमा मितबहिनीले एक नवजात शिशुको जन्म दिएकि थिइन । यसैले मितज्वाईको दुखद खवर म बहिनीलाई पनि सुनाउन सकिरहेको थिइन । नङ काट्दा मासु दुखनु सोभाविक थियो । उपत्यकाका सबै मुख्य सडकहरु निर्दोश नेपालीहरुको उक्त सामुहिक हत्याकाण्डको बिरोधमा सल्कि रहेका थिए । बल्दै गरेका टायरका काला धुँवाले उक्त नवजात शिशुको कालो भविश्यको सङ्केत गर्दै वातावरण नै कालो बनाइरहेको थियो । जुन घटना सम्झदा आज पनि मेरो शरीरमा काँढा उम्रन्छन् र छात्तिको एकान्त कुनातिर अझै पीडाको महसुस हुन्छ । यसरी आजसम्मनै दस वर्ष अगाडीका उपरोक्त कविताका पङ्तिले सधैं मलाई एउटा तीतो पूर्वस्मृति दिन्छ । यसैले भयग्रस्त म आजसम्म नै आफ्नै अनुहारसंग पराजय भोग्दै छु कवि नारायण तिवारीको कविता जस्तै ।