एक रात लोग्नेले स्वास्नीलाई मारेर खाल्डोमा पुर्यो। त्यही रात स्यालहरूले स्वास्नीको लाश उधिनेर पाखा निकाले। भोलि पल्ट बिहानै त्यो ठाउँमा एकहुल चिलहरू घुम्न थाले। छर-छिमेकीहरूलाई शंका लाग्यो। प्रहरी चौकिमा खवर पुग्यो।
प्रहरीहरू आए । त्यो ठाउँको निरक्षण गरे। कुकुरले ज्यानमारालाई सुँघेर पत्ता लगायो। प्रहरीहरूले ज्यानमाराका दुइटै हात पछाडि फर्काएर हत्कडी लगाए।
इष्टमित्रहरूले ज्यानमारालाई अघाउजी भने-ए! ” पापी दुष्ट! तैंले आफ्नी स्वास्नीलाई मारेर ठूलो अपराध गरिस्। अब तैंले यो जन्म त के यस्ता सातजन्ममा समेत स्त्री जातीको मुख देख्न पाउने छैनस्। हरे शिव पापी दुष्ट!त कति अभागी रछस्? तेरो अभाग देख्दा हामीलाई भित्रैदेखि दया जागेर आउछ। तर विडम्बना। हाम्रा दयाले तेरो पाप पखालिदैन। त्यसैले हामीले तँ जस्ता दुष्टप्रति दया देखाउनु निरर्थक हुन्छ।
प्रहरीहरूले ज्यानमारालाई चौकीमा लगेर सोधपुछ गरे -तेरि स्वास्नीले त्यस्तो के अपराध गरि? र तैंले उसको ज्यान लिएको?
ऊ फटाफट बोल्यो-मेरी स्वास्नीको अपराध क्षम्य लायक थिएन। ऊ मेरा आँखा छलेर परपुरुषसँग नाजायज सम्बन्ध राख्थी। उसको त्यो बेवकुफीको कारण मलाई नामर्दको आरोप लाग्न सक्थ्यो। मैले जीवनभरि नामर्दमा दर्ता भएर समाजमा शरमले शीर झुकाउनु पर्ने हुन्थ्यो। यो जगतमा एउटा मर्दको लागि यो भन्दा ठूलो सजाय अर्को के हुनसक्छ? त्यसैले मैले उसलाई मारेर खाल्डो खनेर पुर्नुको मतलव थियो,माटोले उसको सारा दोष छोप्ने छ।
यदि त्यसो हो भने तैँले आफ्नी स्वास्नीलाई मार्नु भन्दा स्वास्नीसँग नाजायज सम्बन्ध राख्ने पुरुषलाई मार्न सक्थिस्?आखिर तेरी स्वास्नी जतिकै अपराधी त्यो पुरुष पनि त हो नी?
मैले मेरी स्वास्नीलाई जोगाएर पुरुषलाई मारेको भए, हरेक दिन एक एकवटा पुरुषको वली चढाउनु पर्थ्यो । म दिनुहु एक एकवटा मनुष्यको वली चढाएर वातावरण प्रदूषित पार्न चाहन्न थिएँ। मैले आफ्नी स्वास्नी मारेर दिनुहु रक्तपात हुनबाट धर्तीलाई जोगाएँ। दिनुहु एक एक वटा मनुष्यको वली दिएर आफूलाई पापले धमिल्याउँनु भन्दा, बरु पापको जरोनै उखेलेर मिल्काउँनु बुद्दिमानी ठानेँ। मलाई आफ्नो कर्मप्रति कुनै पछुतो छैन। म कानुन बमोजिम सजाय भोग्न तयार छु। ज्यानमाराले पुराण पढे जस्तै आफूले गरेको अपराध भट्याइसक्यो।
ज्यानमाराको शाहस देखेर प्रहरीहरु मुखामुख गर्न थाले ।