– प्रदिप चापागाई
आमा
कोशौँ टाढा स्वदेशमा
उनको स्नेहले भरिएको मन
अनी परदेशिएको सन्तान
यादै यादले घोच्ने समय
उनका रित्तिएका आँखाहरु
बाटोभरी ओछ्याएर
पर्खाईमा थाक्दिनन् आमा आफ्नो छोरोको
तर्कनाहरु बुन्दै बस्छिन् मायाको डोरोको !!
बिरानो माटोभित्र नपाउने आत्मियता
झझल्कोमा त्यही पखेरोको सामिप्यता
वरिपरी लाखौं अनुहारहरु
मागेर नमिल्ने गुहारहरु
सुखदु:खको मझेरीमा अल्झदै
दिन र रातको फरक नदेखि
बढ्दो छ अघी तिम्रो छोरो आमा
तिम्रै वचनलाई साक्षी राखेर
तिम्रो व्यग्र चाहनालाई
थाती मै राखे अझै केहि वर्ष आमा
अनि
मेरा हँसिला तस्विरलाई
छाती मै राखे अझै केहि वर्ष आमा !
करेसामा मैले रोपेका फूलहरु
रोदनले फुल्दै होलान्
साथीसँगी का बेसारे हूलहरू
म विनै डुल्दै होलान्
मेलापातको रौनक
चाडबाडको उत्साह
र छिमेकीका गुनासाहरु
एक एक गरी सबैलाई
मिलाउँदै बसे अझै केहि वर्ष आमा
छुटेको साथ अनि टुक्रेको मन
सिलाउँदै बसे अझै केहि वर्ष आमा !
घडी पक्कै पनि रोकिने छैन
आशा पक्कै पनि भाँचिने छैन
त्यही सुनौलो दिनको बिहानीमा
तिम्रो मन टाल्न
तिम्रो काख भर्न
अनि तिम्रा सपनाहरु सजाउन
तारा र जूनका कुरा बोकी आउँला आमा,
सकेँ भने सुनका चुरा बोकी आउँला आमा