घाम सङ्गै आफुलाई एक कान्ला
पश्चिम डाँडातिर धकेलि सकेपछी
रातसङ्गै बगेर एउटा बिहानीलाई लिन जानुछ
फर्किएर फेरि सल्काउनुछ
जिन्दगी नामको पालामा आयुको सलेदो
भोली बिहानै आफैं जलेको खरानि धसेर निधारमा
अर्को बिहानिलाई
स्वागत गर्नुछ
बल मागेर सिमे-भुमे सँग
गुडाउनुछ जीवनको गाडा !
यसरीनै कुनै दिन गुड्दा-गुड्दै रोकिएर
बिना समयमै काटी गएको थियो
मेरो हुलाकी बाबाको बएल गाडाले
त्यो अजङ्गको काल डाँडा !
तेसपछि गाउँमा – कुनै चिट्ठी आएन परदेशिको,
कुनै सम्वाद भएन प्रेमि-प्रेमिकाविच !
न त जालिम बजारमा जोर मादल नै घन्क्यो ।
बाबाको बुई चढेर न त अरेन्ज बल चकलेट नै आयो घरमा
न त झोलाको देब्रे खल्तिमा सिउरिएर सिसाकलम र रातो रिबन नै आए
माहिली दिदी र मेरो चुल्ठो लट्टा परिरह्यो धेरै दिनसम्म ।
बेलुकिपिच्छे घरको पिढी हुँदै लमतन्न तन्किन्थे
सधै बाबा आउने बाटोहरुमा
पर्खाइका हरिया कार्पेटहरु
र त्यो कार्पेटमाथी टेक्दै टेक्दै आउथे निराशाहरु/पीडाहरु
आक्कल-झुक्कल आउनेगर्थे सान्त्वना र;
मायाहरु पनि अनि कोट्याएर गैदिन्थे आला घाउँहरु
छर्किदिन्थे चुक …
यिनै यादहरुको आहालमा डुब्दै
हरेक रातहरुसङ्ग बग्ने क्रममा
अहिले म बिस्तारै बिस्तारै जम्न थालेकी छु ।
यस्तरी जम्दै-जम्दै गएर एकदिन
बरफमा परीणत हुनेछु
र आफैं माथि चिप्लिएर,
बाबाले त्यो समयमै
नाघेर गएको त्यो डाँडा मैले पनि काटेर जानेछु
सायद त्योबेला लेख्नेछिन मेरी छोरीले
अर्को कविता …..।
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र