रुखबाट फूलहरू झरे झैँ
कुनै झिसमिसे साँझमा
घरआँगन नाघेर हिँडेको आकृति नफर्किन सक्छ
खोलाहरू ओरालै ओरालो जान्छन्
बेहुलीको निधारबाट टिका झैँ
पातको टुप्पोबाट शीतको थोपो खसेर जान्छ
टुक्रिन्छ मुटुको भित्ताबाट झरेर
मायालुको एउटा पुरानो तस्बिर ।
चैतको हुरीले उडाएको बादल
वर्षात् बनेर नआउन सक्छ
जहाज समुद्रको हरियो छाती चिर्दै फर्की नआउला
चराहरू गुँडबाट टाढा उडेर जान्छन्
निभेर गएका ताराहरू देखिँदैनन् फेरि आकाशमा
दोब्य्राएर छोडेको पानाबाटै
सुरु नहुन सक्छ अक्षरहरूको अर्को यात्रा ।
टेवलमाथि हतारमा आधी खाली छोडी गएको
त्यो एक्लो कफी कपलाई
स्पर्श नगर्ला त्यही ओँठको नियानोले ।
Please follow and like us: