मुटुमै लाग्न सक्छ
हुरी चलेको यत्ति बेला
हल्लिएका छन् जोडले बृक्ष्यहरू
गुँडमा बसेका भोका बचेरा
काम्दै छोपेर बसेका आमाहरू
दूर देशमा उड्दै होलान् कतै
चारो खोज्ने बाबुहरू
कतिबेला तल नुहिन्छ टुप्पो
भुँइ नै छुँला जसरी
कतिबेला उचालिन्छ पल्लो
रूखैमा ठोक्किने गरी
डिम्बा झर्ने हुन् कि माटामा गुँडसितै
बचेरा खस्ने हुन् कि बाटामा
यस्तो बेला माथि शीरमा
उड्दै छ कालो चिल निर्भय
सिरिसे साप पनि एउटा
चढ़दैछ तलको भीरमा निर्भय
त्यही गुँड ताकेर
हेर्नु नि ! हुरी छ कत्रो उडाउनेगरिको
हेर्नु नि !आगनमै लाप्पा छ मूर्ख गोठालाहरुको
यस्तो बेला गुलेली नताक व्याधाहरु हो !
त्यो लिपुलेकमा ज्यूदै छन् हाम्रा वीरहरू
हाम्रो मुटुमै पनि लाग्न सक्छ
तिम्रो पनि मुटुमै लाग्न सक्छ।
“यस्तो बेला किन हो काईंला
उध्याइरहेको देख्छु ?”
ऊ भन्छ–
” किन यो रगत बिहानैदेखि
यसरी उम्लेर मर्छ !
भन !
वीर बलभद्र लडेको किल्ला
यहादेखि कति टाढा पर्छ ?”
गोविन्दराज भट्टराई
२८ वैसाख २०७७