– बिष्णुनन्द चाम्लिङ्ग

यताउता चारैतिर हेर्दे
घुर्यानको एकछेउमा
दशाको पोका खोल्दै
सबैलाई भागवण्डा लगाइरहेछ दशैँ

हरेकसाल
बालबालीकाहरुको मनमा
उमङ्ग लिएर आउँने दशैँ
अभिभावकहरुको सामू
बहीखाता लिएर आउँने गर्छ

जाति र धर्मको नाम पुकार्दै
चाड र पर्वको मुकुण्डोले छोपिएर
सर्प जस्तै सलसली घिस्रिँदै
दुःखी दरिद्रीहरुको डाडमा डस्न आइपुग्छ दशैँ

दशैँ !
रीति हो कि कुरीति ?
कुरीति हो कि रीति ?
संस्कार हो कि कुसँस्कार ?
कुसंस्कार हो कि संस्कार ?
संस्कृति हो कि बिकृती ?
बिकृती हो कि संस्कृति ?
ठम्याउँन गाह्रो छ

तेरो मेरो
मेरो तेरो
फलानाको
ढिस्काको……….अरे
हाम्रो किन भएन ?
किन समस्त नेपालीको हुँन सकेन दशैँ ?
भूगोलले कि भाकलले छुट्यायो ?
भाकलले कि भूगोलले छुट्यायो ?
यसको निर्क्यौल गरिनु पर्छ
यौटै आकाश ओढेर
यौटै धर्ती टेकेर
यौटै बतासको सास फेरेर
अनि
यौटै रङ्गको रगत बोकेर
धर्मको
धर्र्सोले
भिन्न
बनाइरहेको छ किन ?
समाजले दशैँलाई भाँड्दैछ कि
दशैँले समाजलाई भाँड्दैछ ?
वास्तबमा कसको हो दशैँ ?

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *