Fotii Golos 2015

रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको ‘गोलोस’ गायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स चर्चका इएरोमोनाख (क्रिश्चियन भिक्षु) फोती (भिक्षुत्वमा दीक्षाप्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् । संसारको मायाजालबाट सन्यास लिएर भिक्षु बनेका एकजना धर्मभीरु अज्ञात गायकले रुसी दर्शकहरुको मन जितेर रुसमा आयोजित गरिने भव्य गायन प्रतियोगितामा प्रथम भई पुरस्कारस्वरुप मोटरगाडी र निश्चित रकमसहित विजय प्राप्त गरेको यो सनसनीपूर्ण समाचार नेपाली पाठकवृन्दका लागि पनि रोचक हुनेछ भन्ने विचारले आज म कलम कोर्दै छु ।
सर्वप्रथम ‘गोलोस’ गायन प्रतियोनिताकै सन्दर्भमा यहाँ संक्षेपमा बताउने अनुमति चाहन्छु । रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलले ४ वर्षअघि पहिलोपल्ट देशव्यापी रुपमा गायनकलाको क्षेत्रमा संलग्न नयाँ पुस्ताका इच्छुक गायकहरुलाई प्रतियोनितामा भाग लिन आह्वान गर्दै आएको छ । प्रतियोगितामा भाग लिन इच्छुकहरुको चयनको प्रक्रिया निकै वस्तुपरक र निष्पक्ष पनि छ । रुस र अन्य गणतन्त्रबाट समेत प्रतियोगितामा भाग लिन आएका गायकहरुलाई क्रमशः आफ्नो प्रतिभाको प्रदर्शन गर्न झिलीमिली सिंगारिएको डबलीमा पठाइन्छ र मास्कोको एक प्रसिद्ध अर्केष्ट्राको संगीतधूनसहित प्रतियोगी (युवक वा युवती) ले गीत प्रस्तुत गर्दछ । डबलीतिर पिठ फर्काएर घुम्ने मेचमा बसिरहेका गायनको क्षेत्रमा ख्यातिप्राप्त चारजना परीक्षकहरु प्रतियोगीको गीतप्रस्तुतिको हावभाव समेत नदेखेर केवल उसको स्वरको आधारमा पारख गर्दछन् (यसै कारण यस प्रतियोगितालाई ‘गोलोस’ अर्थात् ‘आवाज’ भनिएको होला) । कुनै परीक्षकलाई डबलीमा मनमोहक स्वरगुञ्जन भएको प्रतीत भएमा उसले डबलीतिर मेचको मोहोडा घुमाएर हेर्नुका साथै मेचमा जडिएको बत्ती बालेर प्रतियोगीलाई आफ्नो सकारात्मक निर्णयको सङ्केत दिन्छ । डबलीमा गीतको गुञ्जन भइरहँदा दोस्रो, तेस्रो र यदाकदा चारैजना परीक्षकहरुले गीत मन परेको सङ्केत दिन्छन् । गीतको प्रस्तुति समाप्त भएपछि मात्र प्रतियोगीले आफ्नो परिचय दिन्छ । चारजना परीक्षकहरुमध्ये कसैले पनि गीतको प्रस्तुतिअवधिभरि डबलीतर्पm हेरेन भने प्रतियोगी विफल भई प्रतियोगिताबाट बाहिरिन्छ । जे–जसो भए तापनि परीक्षकहरुले क्रमशः प्रतियोगीको आलोचना वा प्रशंसा गर्दै उसको त्रुटितर्पm औंल्याएर गायनकला तिखार्नमा मद्दत पुग्ने किसिमको सल्लाह पनि दिन्छन् । दुईभन्दा बढी परीक्षकले कुनै प्रतियोगीको स्वर र प्रस्तुति मन पराएको खण्डमा प्रतियोगिताको भावी चरणका लागि आफ्नो निर्देशकको रुपमा एकजना परीक्षकलाई उसले रोज्न सक्तछ ।
यसरी हप्ताको एकपटक प्रतियोगीहरुको कन्सर्टको आयोजना गर्दै प्रतिद्वन्दीहरुको चयन भइसकेपछि आ–आफ्ना निर्देशकको परामर्शअनुसार तैयारी गरी प्रतियोगिताको अर्को अझ जटिल चरण सुरु हुन्छ । प्रतियोगिताको अर्को चरणका लागि प्रतियोगीहरुको छनोटमा निर्देशकहरुले मात्र नभई टेलिभिजन दर्शकहरुले समेत मतदान गर्दछन् । यदाकदा दर्शकहरुको मतदानको प्रतिशत निर्देशकको भन्दा बढी भएको समेत देख्न सकिन्छ र अन्तिम चयनमा दर्शकहरुकै मतको निर्णायक भूमिका हुन्छ । प्रतियोगिताको अन्तिम चरणमा त दर्शकहरुले मात्र निर्णयक मत दिन्छन् र निर्देशकहरु चहिं मूकदर्शक बन्न पुग्छन् । के पनि बताइहालौं भने प्रतियोगीलाई रुस महासंघको जुनसुकै ठाउँबाट टेलिफोनबाटै १ व्यक्तिले जम्मा २० मत मात्र दिन पाउने नियम बनाइएको छ र जन्मजात रोगी तथा अनाथ केटाकेटीहरुको परोपकारका लागि चन्दास्वरुप प्रत्येक मतदानको निम्ति ५० रुबल चन्दा संकलन गर्ने समेत व्यवस्था मिलाइएको छ ।
विगत तीन वर्षसम्म लगातार पुरानो पुस्ताका संगीतज्ञ, अनुभवी प्रोफेसर अलेक्सान्द्र ग्राद्स्कीको निर्देशनप्राप्त प्रतियोगीहरुले ‘गोलोस’ गायन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्दै आएका थिए भने यसपल्ट उनको निर्देशनमा प्रतियोगिताको अन्तिम चरणसम्म प्ग्न सफल भएका प्रतियोगी मिखाइल ओजेरोभले टेलिभिजन दर्शकहरुको २४ प्रतिशत मात्र मत प्राप्त गरी द्वितीय स्थान हासिल गरेका छन् भने यस पालि पहिलो पल्ट निर्देशकको आसनमा बसेका प्रसिद्ध रुसी गायक ग्रिगोरी लेप्सको निर्देशनमा अर्थाडक्स चर्चका क्रिश्चियन भिक्षु फोतीले दर्शकहरुको ७६ प्रतिशत मत प्राप्त गरी प्रथम स्थानमा विजय हासिल गरेका छन् ।
हरेक हप्ता निकै अभिरुचिपूर्वक टेलिभिजनमा ‘गोलोस’ गायन प्रतियोगिताको अवलोकन गर्नेगरेको छु । प्रतियोगीको प्रथम चयन गरिंदा क्रिश्चियन भिक्षुको गायनले परीक्षकको रुपमा केवल ग्रिगोरी लेप्सको मात्र ध्यान आकर्षण गरेको थियो र उनले बत्ती बालेर डबलीतर्पm दृष्टि ंिदंदा धर्मभीरु भिक्षुले गीत प्रस्तुत गरिरहेको देखेर ‘अब तपाईलाई लिएर के गर्ने होला ?’ भन्दै आश्चर्य प्रकट गरेको अहिले मलाई सम्झना भएर आयो । एकजना क्रिश्चियन भिक्षुले सबै प्रतिद्वन्दीहरुलाई जितेर प्रथम स्थान ग्रहण गर्ने छ भन्ने त्यतिखेर कसैेले विश्वास समेत गरेको थिएन । तर अवस्थाको सदुपयोग गर्न सिपालु संगीत निर्देशक ग्रिगोरी लेप्सले हरेक पल्टको प्रतियोगिताको लागि क्रिश्चियन भिक्षुको स्वभावअनुकूल रोमान्स र प्रलापगीत जस्ता शास्त्रीय गीतहरुको चयन गरेर गायनकला तिखार्नमा मद्दत पुग्ने खालको परामर्श दिंदै अप्रत्यासित रुपमा प्रथम स्थान लिन सक्षम तुल्याइदिएका थिए ।
रुसमा क्रिश्चियन पादरीलाई धार्मिक गुरुको रुपमा ‘अतेत्स’ अर्थात् ‘पिता’ भनेर सम्बोधन गर्ने चलन छ । तसर्थ यसपटक ‘गोलोस’ गायन प्रतियोगितामा एक सामाजिक गायकले अलेत्स फोतीको संगीत निर्देशक अर्थात् गुरु बन्नुपरेको अप्ठेरो स्थिति देखापरेको थियो । निर्देशकहरुमध्ये सबभन्दा कम उमेरकी र पहिलोपल्ट संगीत निर्देशिका बन्न पुगेकी युरोपव्यापी संगीत प्रतियोगितामा दोस्रो स्थान ग्रहण गर्ने प्रसिद्ध युवती गायिका पोलिना गानारिनालाई मात्र क्रिश्चियन भिक्षु फोतीलाई ‘अतेत्स’ भन्नमा कुनै आपत्ती नभएको स्पष्ट देखिन्थ्यो । प्रोफेसर अलेक्सान्द्र ग्राद्स्कीले चाहिं उमेरले आपूm जेठो भएकाले युवा क्रिश्चियन भिक्षुलाई ‘अतेत्स’ भन्न कस्तो कस्तो अप्ठेरो लागे पनि परामर्श दिन सक्ने दाबी गरेका थिए, तर ग्रिगोरी पेप्ससमक्ष यस्तो स्थिति पनि थिएन । तैपनि उनले कुशलतापूर्वक सफलताका साथ संगीत निर्देशकको भूमिका निर्वाह गरेका थिए । उनले प्रतियोगिता विजेताको सन्दर्भमा व्यक्त गरेको भनाई घतलाग्दो छ ः ‘प्रतियोगितामा विजयले उनको प्रारब्धमा सायदै कुनै परिवर्तन ल्याउला, तर जसले उनको गीत सुन्ने छ उसको जीवनमा चाहिं अवश्य नै ठूलो परिवर्तन आउन सक्तछ’ ।
नयाँ रुसमा अर्थाडक्स चर्चको सक्रियता निकै बढिरहेको परिप्रेक्ष्यमा रुसी अर्थाडक्स चर्चको एक सक्रिय धार्मिक कार्यकर्ता हुनाले क्रिश्चियन भिक्षु फोतीले ‘गोलोस’ गायन प्रतियोगितामा दर्शकहरुकोे अत्यधिक मत प्राप्त गरेको हुँदा प्रथम स्थान पाउन सफल भएका हुन् भन्ने कतिपय रसियालीहरुको धारणा छ । यस सन्दर्भमा ‘चर्चको सेवामा संलग्न भएकाले मात्र मैले विजय प्राप्त गरेको होइन’ भन्ने प्रतियोगिता विजेता फोतीको कथन सत्यको ज्यादै निकट प्रतीत हुन्छ । वास्तवमा नै अधिकांश रसियालीहरु निकै चर्को आवाजमा गाइने आधुनिक गीतहरुभन्दा शान्त र सुमधुर गीत नै बढी रुचाउँछन् ।
हरेक वर्ष आयोजना गरिने र शरदपछि वर्षान्तसम्म ४ महिना जति हरेक हप्ता टेलिभिजनबाट प्रसारण गरिने ‘गोलोस’ गायन प्रतियोनिता र यसरी नै रुसभरिका केटाकेटीहरुको उत्कृष्ट सांस्कृतिक प्रतियोगिता हेर्दा रुसमा कुनाकाप्चामा समेत प्रतिभावान् बालबालिकाहरु र युवायुवतीहरु प्रशस्तै भएको बोध हुन्छ ।
दिनाङ्क ः २८ डिसम्बर २०१५ (सोमवार),
मास्को, रुस महासंघ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

कृष्णप्रकाश श्रेष्ठ ई-मेल : kpsnepal@gmail.com टेलिफोन : ८-९१६-९६७-३८३२ ठेगाना : मास्को ११९४२१, लेनिन्स्की प्रोस्पेक्ट ९९-५०३ जन्मतिथि : ७ नभेम्बर १९३८ जन्मस्थान : चुनिखेल, शोणितपुर (थानकोट), काठमाडौं, नेपाल । शिक्षा : स्नातक (बि.ए.), (पटना विश्वविद्यालय, भारत, १९५९) स्नातकोत्तर (एम.ए.), (पत्रकारिता संकाय, मास्को राजकीय विश्वविद्यालय, रूस, १९६६) विद्यावारिधिका लागि अनुसंधान (प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को) । पेशागत सेवा : नेपाली कार्यक्रम संचालक, रेडियो मास्को (१९६३-१९९१), रेडियो रूस (१९९१-२००६) । अनुवादक : प्रगति प्रकाशन, मास्को (१९७५-१९८५); रादुगा प्रकाशन, मास्को (१९८५-१९९०) । संप्रति : वैज्ञानिक कार्यकर्ता, भारतवर्ष अनुसंधान केन्द्र, प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को (१९९९ देखि) । आबद्ध संस्थाहरू : मानार्थ सदस्य, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, । मानार्थ सदस्य, नेपाल बालसाहित्य समाज, काठमाडौं । सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (२००९), अनेसास, रूस शाखा (१९९९) उपाध्यक्ष (१९९८-२००१), प्रधान संपादक (२००१ देखि), रूस-नेपाल मैत्री एवं सहयोग संघ, सदस्य (१९९९ देखि), रूस लेखक संघ, मास्को नगर संगठन, गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद् । सम्मान : मित्रकुञ्ज, काठमाडौं (१५.१०.२००३), गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद्, मास्को (२७.१०.२००६), महाकवि देवकोटा शताब्दी सम्मान, काठमाडौं, २००९ । कदर-पत्र : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, रूस शाखा, मास्को (१२.०६.२००९)। पदक : ‘टेलिभिजन एवं रेडियोका उत्कृष्ट कार्यकर्ता’ (सोभियत टेलिभिजन एवं रेडियो राजकीय समितिद्वारा प्रदत्त सम्मानपदक, १९८८); ‘शिक्षानुरागीप्रति’ (पुश्किन जन्म द्विशताब्दीको उपलक्षमा रूस वाङ्मय प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदत्त पुश्किन स्वर्णपदक, २००३); ‘मैत्री कार्यमा योगदानवापत्’ (रूस महासंघको परराष्ट्र मन्त्रालयअन्तरगत रोस्जारुभेजसेन्त्रद्वारा प्रदत्त सम्मानपदक, २००५); 'साहित्य सेवा सम्मान-पत्र' (गैरआवासीय नेपाली रुस राष्ट्रिय समन्वय परिषदद्वारा नेपाली साहित्यको अनवरत सेवा वापत प्रदान गरिएको सम्मान, सन् २००६) । पुरस्कार : ‘जगदम्वा-श्री’ पुरस्कार (वि.सं. २०५९), नृपध्वज कार्की अन्तरराष्ट्रिय साहित्यिक पुरस्कार, न्युयोर्क (सन् २००९), नइ देरुनीख अन्तरराष्ट्रिय पुरस्कार (वि.सं. २०६७) । प्रकाशित मौलिक कृतिहरू : नेपालीमा : रूसमा नेपालको अध्ययन, नेपालभाषा साहित्य, रूसमा नेपालको छवि, नेपाली समालोचक र समालोचना, नेपाली किम्बदन्तीमाला (श्लोकबद्ध), स्थाननामकोष । रूसी भाषामा : नेपालमा पशुपक्षीको पूजा, स्वस्थानी, मित्रता र सहयोगको गांठो, रेलगाडीमा हिमालयतिर (कार्यपत्र र लेखसंग्रह), नेपालको साहित्यमा परम्परा र आधुनिकता, इतिहासको परिप्रेक्षमा नेपाली किम्बदन्ती र परम्परागत उत्सव-पर्व, नेपालमा परंपरागत भोजको विधि–विधान आदि। प्रकाशित अनूदित कृतिहरू : रूसीबाट नेपालीमा : अलेक्सान्द्र पुश्किन - जिप्सी (खण्डकाव्य), बेल्किनका कथाकहानी (गद्यकृति), दुब्रोभ्स्की (लघुउपन्यास); इभान तुर्गेनेभ – गद्यमा कविता (लघुकथाहरू), पिता र पुत्र (उपन्यास); मिखाइल शोलोखोभ – मान्छेको भाग्य र दोनका कथाहरू; मिखाइल लेर्मोन्तोभ – हाम्रो जमानाका चरित्र नायक (उपन्यास); लेभ तोल्स्तोइ – कथाकहानी, लेभ तोल्स्तोइका उत्कृष्ट कृतिहरू; अलेक्सान्द्र ग्रीन – राता पालहरू (लघुउपन्यास र कथाहरू); माक्सिम गोर्की – मेरा विश्वविद्यालयहरू (उपन्यास); रसूल हाम्जातोभ – जीवित देवी (काव्यकृतिहरू); चिंगिज आइतमातोभ – प्रथम शिक्षक (लघुउपन्यास); सुनौला सिउर (रूसी लोककथा संग्रह); रूसी चरित्र (कथासंग्रह); लेनिन-गाथा (कवितासंग्रह); लेओन्तयेभ – संक्षिप्त राजनीतिक अर्थशास्त्र; आफानास्येभ – दर्शनशास्त्रको प्रारम्भिक ज्ञान आदि विभिन्न कृतिहरूका साथै रूसी बालसाहित्यका कैयौं पुस्तकहरू । नेपालीबाट रूसीमा : यमलोकमा जिउंदो मान्छे (नेपाली लोककथासंग्रह); कल्चौंडीको ठुङ्ग र पञ्जा किन पहेंलो हुन्छ? (नेपाली बाललोककथासंग्रह); लैनसिंह बाङ्गदेल – लङ्गडाको साथी (लघुउपन्यास); रमेश विकल – फुटपाथ मिनिस्टर्स (कथा); ज्ञानकाजी मानन्धर – कुमारी चण्डेश्वरी (नाटक); हिरण्यलाल श्रेष्ठ – नेपाल परिचय; स्वामी आनन्द अरूण – सन्त-दर्शन (लेखसंग्रह); लोपोन टशी छिरिङ्ग लामा - मणिमन्त्र (कृति) आदि । संस्कृतबाट नेवारीमा : कृष्णगीता (श्रीमद् भागवत् गीताको समश्लोकी अनुबाद) । रूसीबाट हिन्दीमा : अनोखे चीजों की दुकान (आधुनिक बाललोककथा-संग्रह), (कृतिलेखकद्वय - कारेभा तथा कराल्योभ) । सम्पादन तथा संकलन : पत्रिकाहरू – किरण (नेपाली छात्रसंघ, सोभियत संघ); झिल्को (अनुवाद संस्थान, मास्को); सार्थवाह (रूस सिआईएस नेपाल उद्योगवाणिज्य संघ); नारीदृष्टि (नेपाली नारी निकुञ्ज) । शब्दकोषहरू - रूसी-नेपाली शब्दकोष; नेपाली-नेपालभाषा शब्दावली; अंग्रेजी-नेपाली पालरभाषिक शब्दकोष । पुस्तकहरू – लक्ष्मीप्रसाद देवकोटा, संकलित रचना (रूसी भाषामा); नेपाल : सहस्त्राब्दिहरूको संघारमा (रूसी भाषामा लेखसंग्रह); रसियाली प्राच्यविद्याको सन्दर्भमा नेपाल आदि ग्रन्थका साथै नेपाली भाषामा प्रकाशित विभिन्न संकलन र पुस्तकहरू । नेपालीमा अनुवाद तथा सम्पादन – मिनाएभ र नेपाल ।

Leave a Reply:

Your email address will not be published. Required fields are marked *