हिँड्ने बेला मुन्दुलीले कयाँै हाँगा मन भाँचेर बिदाइ गरेकी थिई हर्केलाई । पुछेर आँसु बलै गरी मुस्कुराएकी थिई ऊ । भविष्यको चिन्ताले पिरोलिएको मन बिदाइपछिको आँसुले लुगालाई झैँ एक्लै बेसरी धोएकी थिई उसले ।  दुःखको विशद सागरलाई एक्लै अँगालोमा हालेर सुखको बर्सात् ल्याउन चाहने हर्के पनि कति दिनदेखि निदाउन सकेको थिएन । मुन्दुलीजस्तो रुन नसक्नु त ऊ पुरुष हुनुको विशेषता थियो । जिन्दगीभर साथै रहने वाचा–कसम तोडेर प्राण प्यारी मुन्दुली र नाबालक छोरीहरूलाई छाडेर एक्लै हिँड्नुपर्दा हर्केले भित्रभित्रै विस्मात्का आँसु मात्र घुटुघुटु पिइरहेको थियो ।
 बिहानको खाना छिटो–छिटो खाइसकेर हर्के आँखाको डिलबाट खसेका आँसु पुछ्दै काभ्राबोटे ओरालो लाग्यो । विचरी ! मुन्दुली, घर मास्तिरको जङ्गल थर्काउने गरी रोई । हुन त बिहे गरेदेखि उसले कहिल्यै सुख पाएकी होइन, तैपनि कत्ति गुनासो नगरी घर आँगनमा मखमली र सयपत्री फुलाएर बाँच्न जानिसकेकी थिई उसले । ‘अब हर्केविनाको दिन एक्लै कसरी काट्ने ?’ नसोचेको प्रश्न उनको मनमा अप्ठेरो भिर भएर उभियो । जस्तोसुकै दुःख आफैँले खेपेर हर्केलाई सुख दिन चाहन्थी ऊ । उनीहरूको यही र यस्तै प्रेम समर्पणकोे चर्चा गाउँ, छिमेक सर्वत्र चलेको हुन्थ्यो । अथवा, यसो भनौँ मनपथ्र्यो सबैलाई हर्के र मुन्दुलीको चलचित्रको कथाझैँे रूपाकृति । कति त आरिसले जल्थे पनि देखेर उनीहरूको त्यही लोभलाग्दो सरस जीवनको घाम–छायाँ ।   
¤¤
एक रात दुवै छोरीहरू सुतेपछि जुनेली छायाँमा आँगनको डिलमा उभिएर दुवैले मनका कुरा खोलेका थिए आपसमा, तर दुवैको मनको कुरो भने फरक भैदियो ।
 मुन्दुली भन्थी, “स्वदेशमै केही गरी खाने मेसो मिलाउनुपर्छ है ।” 
 तर, हर्के ? सानैदेखि हर्केको मनमा पसेको विदेशमोह मुन्दुलीले भन्दैमा किन भङ्ग हुन्थ्यो र ? 
उसले मुन्दुलीलाई सम्झायो, “विदेशमा चार वर्षको सुखदुःख सँगाल्दा बाँकी उमेर प्रेम र सुखका लागि छँदै छ, बुझ्यौ ! बस् तिमी आफूलाई सम्हालेर बस । भविष्यको चिन्ता अहिले नगरे कहिले गर्ने ?” 
   अन्त्यमा हर्केले अँगालोमा बाँधेर सुन्दर सपना देखाउन थालेपछि विचरी मुन्दुलीले ‘हुन्छ’ मात्र भन्न सकी । मुन्दुलीलाई फकाउन हर्केलाई कम्ती हम्मे परेको होइन । भञ्ज्याङको डाँडामा दोकान थापेर जीविकाको मेलो गर्ने मुन्दुलीको सपनालाई हर्केको विदेशबाट अपार सम्पत्ति कमाएर ल्याउने लालसाले थिचिदियो ।
 मुन्दुलीको कपाल मुसार्दै काखमा राखेर हर्केले भनेको थियो, “चिंडीकी आमा चिन्ता नगर् ! अब म विदेश गएर पैसा कमाउँछु अनि यो गाउँको पाखाबारीमा अलैँची र अम्लिसो हालेर छाड्नुपर्छ । वर्षमा एकपल्ट आएर गोडमेल गरे पुग्छ, अरू वेला केही गर्नुपर्दैन । यो पाखोबारी यसै रुँघेर त के गर्नु ?” 
छक्क परेर मुन्दुलीले पनि हर्केको खौरिएर ठुटे मात्र रहेको दाह्री मात्र खेलाउँदै सोधेकी थिई, “अनि, हामी चाहिँ कहाँ जानु नि ?” 
फेरि हाँस्दै हर्केले मुन्दुलीको नाक चिमोट्दै गालामा म्वाइँ खाएर भन्यो, “लाटी, विदेशबाट पैसा कमाउन सकेँ भने बिर्तामोडतिर जग्गा किनेर सानो भए पनि घर बनाउनुपर्छ । सहरमा बस्यो बने छोरीहरू पनि जान्नेसुन्ने हुन्छन् । राम्रो पढ्छन् ।” 
हर्केको कुरो मुन्दुलीलाई पत्यार नलागे पनि आफ्नो प्रियको कुरामा करैले सहमति जनाएकी थिई । गाउँ छिमेकका अरब, मलेसिया गएर कुनै प्रगति गर्न नसकेका र घरै नफर्केका धेरैको नाम र अनुहार मुन्दुलीको मनमा त्यसै त्यसै देखिन थालेका थिए । जोर जोरले रुन मन लागेर पनि मुन्दुलीले त्यस रुवाइलाई गलाभित्रै थिच्न कोसिस गरिरही ।  
आकाशमा ताराहरू टिलपिलटिलपिल गर्दै टल्किरहेका थिए । टुटी झर्ने झर्दै थिए पालैपालो । मुन्दुली तिनै टुट्ने तारा देखाउँदै थिई । हर्के पनि आनन्द मानी–मानी मुन्दुलीको कपाल खेलाउँदै थियो । घरभित्र कोठामा खाटमा सुतेकी सानी छोरीलाई सम्झेर मुन्दुली हर्केको काखबाट जुरुक्क उठेर जान खोजी । हर्केले फेरि मायालु पाराले उसलाई तानेर आफ्नो अँगालोमा बाँधिहाल्यो । मुन्दुली पनि लोग्नेको न्यानो अँगालो पाएर लिप्त भइहाली ।  दुवै जुनेली रातको गहिराइमा हराए । हर्केले तलैबाट जुरुक्क उचाल्यो र नानीझँै बोकेर मुन्दुलीलाई भित्र कोठाको ओछ्यानमा पु¥यायो । दुवै हराए अर्कै संसारमा । उनीहरूबाहेक कोही पनि केही पनि थिएनन् त्यहाँ । त्यो उनीहरूको सुन्दर संसार थियो, केबल हर्के र मुन्दुलीको संसार । 
¤¤
अर्को बिहान ? 
हर्के र मुन्दुली मिलेर देखेको जिन्दगीको सपना मुन्दुलीकै काँधमा छाडेर सबेरै विदेशका नाममा काँडाघारीको बाटोतर्फ लाग्यो हर्के । आधा सपना आफूसँगै पोको पारेर हिँडेकाले पूरै साकार पारेर मात्र फर्किने अन्तस्करणकै अठोट थियो हर्केको । भिसा लागेको खबर आएको दिन कति रमाएको थियो ऊ । मुन्दुलीले भने त्यही भिसाका कारण आफ्नो प्राणसरिको हर्केबाट टाढा हुनुपरेको खबर छ । किन किन ? आज सबै कुरा व्यर्थ बोध हुँदै थियो मुन्दुलीलाई ।
 जुठेल्नोको भित्तोबाट निकै तलसम्मको दृश्य देखिन्थ्यो । मुन्दुली हर्के गएको काभ्राबोटे ओरालोतिर आँखा ओछ्याएर एकछिन आँखा चिम्म गर्दा पनि त्यहाँबाट हर्के गायब हुन्छ कि झैँ गरेर आँसु झार्दै बसिरही । विस्तारै डाँडाबाट ओरालो लाग्यो हर्के । घाँटीमा गरिबीको डोरी बाँधी उसको परिस्थितिले गोरुझैँ तान्दै विदेश पठाउँदै थियो उसलाई । एक जोर जुत्ता थिएन खुट्टामा, ट्रेकिङ चप्पल थियो ।
 हर्के देखिन छाडेपछि मुन्दुलीलाई सही नसक्नु भयो । डाकै छाडेर एकपल्ट रोऊँ रोऊँ लाग्यो । दूध खाइरहेकी सानी छोरीका आँखामा आफ्ना आँखाहरू टाँस्ने चेस्टा गरेर धीर हुन कोसिससम्म गरी । छोरीकै छेउमा रुनु उचित लागेन उसलाई । पल्लो मतानको सिखुवामा हर्केको सम्झना दिलाउने कोक्रो झुन्डिरहेको थियो । त्यही सानी छोरी हान्माका लागि हर्केले एक दिनभर लाएर बुनेको थियो त्यो । नानीलाई लगेर त्यही कोक्रोमा राखी ।
 पीडाले आक्रान्त भएको मनले छाडेन उसलाई कसैगरे पनि । यति असह्य पीडाको अनुभूति कहिल्यै भएको थिएन । रुन त आपूmलाई असाध्यै माया गर्ने आफ्नी सासूको निधन हुँदा पनि तीन दिनसम्म रोएकी हो ऊ । तर, आजको भक्कानोले त मुटुलाई फुटाउलाजस्तो गरिरह्यो । बिहे गरेर यस घरमा आएदेखि कहिल्यै पनि हर्केविना एक्लै बस्नुपरेको थिएन । एक्लै बसेर खाएको पनि थाहा छैन । धेरै वर्षसम्म त्रिसाली त्रिवेणी मेलामा धान नाचेर मायाँ गाँसेका थिए दुवैले बराबरी । मुन्दुली राम्री बान्की परेकी अग्ली थिई गाउँभरिमा । उसलाई मन नपराउने कोही थिएन । हर्केसँग भागेर आएकै रात उसलाई माग्न मलायाको लाहुरे आउने तयारीमा रहेको कुरो सुइँको पाएर हर्केलाई वारिको डाँडा गाउँसम्म बोलाएर भागेकी हो ऊ । आज एक्लै भएपछि बल्ल सम्झिने फुर्सद भयो मुन्दुलीलाई । नानाथरीका अतीतका सम्झनाले पनि एक्कासि चिथोर्लान् झैँ गर्न थाले आजै । 
माइतीमा लामो समयपछि मात्र हर्केलाई ज्वाइँ स्वीकारेका थिए । मुन्दुलीकोे बाउ मेजर बुढो कडा स्वभावको थियो । भित्तामा झुण्डिएको बन्दुक हातमा लिएर गर्जी पो हाल्थ्यो रिस उठ्यो भने । धन्न उसको बन्दुक माओवादीले लगिदिएर ढुक्क भएको छ गाउँका केटाकेटीहरूलाई नत्र त केटाकेटी उसको आँगन टेक्न पनि डराउँथे । रिसको के कुरा, एकपल्ट सुक्रेको गोरुले राति गोठबाट फुस्केर उसको बारीको गहुँ खाइदिँदा झन्डै गोरुलाई गोली ठोकेको उसले । बेसरी कुकुर भुकेकोले टर्चको उज्यालोमा मेजरनी बुढी पनि बाहिर आएर रोकेकी थिई । खोसेकी थिई बन्दुक । गोरु बाँचेको थियो त्यस दिन । नत्र, औँसीको रातमा सिकार हुनै लागेको थियो सुक्रेको गोरु ।
“छोरीले गल्ती गरिहाली, कुटुम्ब नराम्रा पनि छैनन् । एकपल्ट बोलाउने हो कि बाउ ?” चाँदीले बाँधेको तोंग्बामा धेरै दिनदेखि छिप्पेको जाँड खुवाउँदै फकाएकी थिई मेजरलाई उसकी बुढीले ।
 अन्त्यमा, मेजर बुढो पनि तोंग्बाको रस सकिए झैँ गरी हारेको थियो बुढीसँग  । बुढीको ममताले मेजरको मनमा जितको झन्डा गाडेपछि नौलो ज्वाइँ र छोरी मुन्दुलीलाई स्वागत गर्न खबर पठाएको थियो । खबर पाए लगत्तै लिम्बूको रीतिथितिअनुसार चार्कलम ल्याएर पुरै गाउँलेलाई भतेर खुवाएको थियो । हर्केको पनि घरमा छिः भन्नुपर्ने केही थिएन । एक जमानाका सुब्बा थिए हर्केका बाउबाजेहरू । बहुदल आएपछि शुभाङ्गी खोसिएको थियो । विस्तारै विस्तारै देशमा राजतन्त्रको अन्त्य भए जस्तै हर्केको घरमा पनि उसको काकातुम्बाहरू अंश बाँड्दै जाँदा जग्गाजमिन घट्दै गएकोे थियो ।
  हर्के एक्लो छोरो भए पनि पाखोबारीले मात्र जीवन धान्न गाह्रो भएकाले मुन्दुलीलाई घरैमा छाडेर अनि मुटुमा गाँठो पारेर मलेसिया हिँड्नुप¥यो ।
गाउँमै भए पनि दुवैले पढेका थिए । हर्केले दश कक्षासम्म पढेको थियो भने मुन्दुलीले पनि नौ कक्षा पास गरेकीे थिई । मेजर बुढो आफ्नी एक मात्र छोरीलाई धेरै पढाउन चाहन्थ्यो । एसएलसी पास गरेपछि क्याम्पस पढाउन धरानमा उसकी फुफू कहाँ पठाउने भनेर सल्लाह पनि भइसकेको थियो । तर, मुन्दुली पढाइभन्दा छिटो आफ्नो मायाको अँगालोको न्यानो स्पर्श पाउन चाहन्थी, सँगै जिउन चाहन्थी । हर्के पनि आफ्नो पढाइ त्यत्तिमै स्थगित गरेर गाउँघरमै डकर्मी काम गर्न थाल्यो । ऊ घर बनाउन, काठ काट्न, कुखुरा र सुँगुरको खोर बनाउन साह्रै सिपालु थियो । गाउँमै पनि एकछिन फुर्सद हुँदैनथ्यो । मान्छे अलि छुच्चो स्वभावको, अलि फौदारी खालको भएकाले वारिपारि निकै दुश्मन कमाएको थियो । धेरै पटक बजारमा भनाभन परेको मुन्दुलीले पनि देखेकी थिई । तर पनि किन किन उसले साह्रै मन पराएकी थिई हर्केलाई ।
¤¤
बिहानै भालेको डाकसँगै मुन्दुली ठुली छोरीको स्कुल ड्रेस र केही सौदा गर्न गोपेटारतर्फ लागी । बल्ल बल्ल बजार जान पाउँदा एउटा चिठी पनि पोस्ट गर्नुपर्ला भनेर रातभरि टुकी बालेर लेखेको चिठी नबिर्सिएर झोलामा राखी । ठुली छोरी दुई कक्षा पास गरेर तीनमा पुगिसकेकी थिई । सानी छोरी पनि अर्को वर्षदेखि त स्कुल जानसक्ने भइसकेकी थिई । मुन्दुलीको परिस्थिति यस्तै थियो ।  
 हर्के पनि मलेसिया पुगेर कमाउन थालेको थियो । हरेक महिना नभए पनि तीनचार महिनामा कहिले पचास हजार त कहिले साठी हजार रूपियाँ पठाउँथ्यो । मुन्दुली खुशी थिई । मूल घरमा बुढी कन्या बसेकीे एक आमाजू र ससुरा थिए । आफ्नीे स्वास्नीलाई दिदीले वचन हालेको या भनौँ हेपेको मन नपरेर हर्के आफँै छुट्टिएको थियो । 
मुन्दुलीले त मानेकी होइन । गाउँकाले के भन्लान् ? सासू मरेको एक वर्ष नबित्दै छुट्टिनु कदापि राम्रो होइन भन्ने सोच मुन्दुलीको मनमा थियो । उसले हर्केलाई सम्झाउन पनि खोजेकी हो । मुन्दुलीको कुरा हर्केले मान्दै मानेन, सुन्दै सुनेन ।  
बडी आमासासुले भनेकीे थिइन्, “होइन हौ ठुली, बुहारी त नसक्नुकी छ कि के हो ? एउटा भा’को छोरा पनि बुढी च्यापेर त्यसरी लान्छ भने त अब के छोरा पाउनु र ?”
  “त्यही त तुम्मा ! ससुरा स्याहार्नुपर्छ भनेर मीठो, मसिनो खान हिँडेका होलान् नि ! हाम्रो त मूल घर हो, बाउबुढा भइन्जेल पाहुना आउँछन् । मीठो खान पाइँदैन क्यारे ।” ठुली आमाजूले व्यङ्ग्य छेडेर ठ्याक्कै यही भनेकी थिइन् । त्यो कुरा मुन्दुलीको कानमा सुइरोले घोचे जस्तै भयो ।
 मुन्दुलीको मन त्यति वेला साह्रै अमिलो भएको थियो । त्यसरी लाएको वचन सुनेर पनि नसुने जस्तै गरी उसले । घरमा थोपो पानी नभएकोले बाटो मास्तिर उक्लेर एकछिन लुकीे, सोेची कि उसलाई देखेर नभएको कुरो गर्नेको शिर नझुकोस् । मुन्दुली थिई ज्यादै सरल स्वभावकी आइमाई । 
 हर्केले आपूm जानुभन्दा अघि नै ठूलो चिटिक्क परेको काठैकाठको बार्दली हालेर घर बनाइदिएको थियो । पठाएको पैसाले सासूको बर्खीमा लागेको ऋण र लोग्ने जाँदा लागेको ऋण सबै चुक्ता गरी बाँकी रहेको पैसा मुन्दुलीले गोपेटारमै एउटा बैङ्कमा जम्मा गरेकी थिई । गाउँमा पनि उसले केही पैसा लगानी गरी । अलैँची बारी हुनेले ब्याजमा चलाउन माग्दा दिने गरेकी थिई । मुन्दुली गोपेटारबाट साँझ अलि अबेला आउँदा नानूले खाना पकाएर पर्खिबसेकी हुन्थी । बिहान बेलुकी घरको काममा सघाउने र दिनमा गाउँकै स्कुलमा पढाउने सर्तमा एउटी केटीलाई साथीका रूपमा राखेकीे थिई मुन्दुलीले । छोरी पनि मिहिनेती थिई । गोठमा एउटा खसी र सुँगुर थियो ।
 “यही सुँगुर बेचेर सुनको सिक्री बनाउँछु । खसी बेचेर हातमा घडी !” यस्तै सपना कोरल्दै सुँगुर र खसीको खुबै स्याहार गर्थी नानूले । मुन्दुलीको दिनचर्या सरल र सहज बन्दै गयो यसरी नै । 
¤¤
अब त हर्के परदेश गएको पनि दुई वर्ष पुगिसकेको थियो । घरमाथिको अलैँची गोडिसकेर दशँैखर्च निकाल्न गोपेटार बैङ्कसम्म जाने तरखर गर्दै थिई मुन्दुलीले । तर आज मङ्गलवार भएकोले बुधवार जाने निक्र्यौल गरी । एकदिन पनि आराम गर्ने होइन, घरबारीको झार उखेल्न थाली । नानू पनि आमासित जुटेकी थिई । सुन्तलाको फेदमा कुकुरले गरेको आची झारसँगै नानूको हातभरि लाग्यो अनि कानै खाने गरी चिच्याई ऊ । पछि उठेर मरीमरी हाँसी । कता–कताबाट पुराना यादहरू उर्लेर आए मुन्दुलीको मनमा । खासै त्यति उमेर पनि कहाँ पो खाएकी थिई र मुन्दुलीले ! बल्ल यो सालबाट तेइस वर्ष पूरा भई चौबीस मात्र त लाग्दै थियो । नानू र मुन्दुली सँगसँगै हिँड्दा दिदीबहिनी जस्ता भन्थे सबैले । बेसरी पेट मिचीमिची हाँसे दुवै आमाछोरी आचीको प्रसङ्गमा ।
पारि देवीथानको थुम्कोमा गोठ बनाएर अलैँचीका हेराला केटाहरू सुई… सुइई…गर्दै सिटी बजाउँदै थिए । वारिबाट मुन्दुली पनि कसिएर कराई, “हामीलाई तरुनी देख्यौ बजिया हो ?” 
 नानू भने लजाएकी थिई, केटाहरूले जिस्काएको चाल पाएर । कोदोको बिउ तयार भएकाले अर्को एक गह्राको झार उखेलेर तयार पार्नुपर्ने थियो । भोलिपल्ट नानूले केही खेताला बोलाएकीे थिई, गाउँकै साथी, सङ्गीहरूलाई ।
झार उखेल्दै मुन्दुली नास्पातीको रूखछेउ पुगी र भनी, “नानू, अघि सुन्तलाको बोटमा तिमीले कुकुरको आची समात्यौ, अब मेरो पालो नास्पातीको रूखमुनि पुगे के हुन्छ हेर है त ।” 
यति मात्र के भनिसकेकी थिई मुन्दुलीको दाहिने कुममा आकाशमा उडिरहेको चराले छेरिदियो । नानू रमाइलो मानेर पेट मिचीमिची हाँस्न थाली । बिचरीलाई के थाहा उड्दै गरेको चराले दाहिने कुममा छेर्नु अपशकुनको प्रतीक मानिन्छ भन्ने कुरा । तर, मुन्दुलीलाई राम्ररी थाहा थियो यो कुरा । ऊ निकै चिन्त्तामा डुब्न थाली । त्यत्तिकै मेलो छाडेर ऊ घरभित्र पसेर नुवाइधुवाइ गरी झोला बोकेर भिक्षा माग्न गाउँतिर हिँडी । कसैसँग केही नबोली तीन घर–दैलोमा पुगेर भिख मागेर घर फर्की । खाना खाइसकेर पुजारी बोलाई अनि पितृको पूजा गरी । आजको अशुभ टरोस् भन्ने मुन्दुलीको यो ठूलो अभिलाषा थियो ।
¤¤
बिहानै उठेर सबै कामकाज नानूलाई जिम्मा लगाएर गोपेटार हिँडी मुन्दुली । तल्लो बाटो जाँदा घुमाउरो हुने भएकाले माथिल्लो बाटो लागी । अघिल्लो दिन चराले कुममा छेरेको सम्भावित अपशकुनका बारेमा सम्झिँदै हिँड्दा बाटो कटेको थाहै भएन, कतिबेला गोपेटार पुगिछे । एक्कासि थर्पु पुछारको तल्लोके ठुली छेमाले मुन्दुलीलाई देखेर सोधिन्, “एक्ली बजार आ’की ?” 
मुन्दुली झसङ्ग भई । फरासिली स्वभावकी उसले आज ठुली छेमाको जिज्ञासाको जवाफै दिन सकिन ।  हर्केलाई पो केही हुने हो कि भन्ने चिन्ताले मुन्दुलीको आधा परान खाइसकेको थियो । बजारमा पनि धेरै अल्मलिन मन लागेन चाँडै गरी पैसा मात्र निकालेर ऊ घर सरासर फर्की ।
गाउँमा फोन थिएन । निकै पर सदस्य बाजेको घरमा सोलारमा चार्ज गर्ने खालको एउटा पिसिओ फोन थियो । घाम नलाग्दा बन्द हुन्थ्यो । सदस्य बाजेको बारीमा घाँस काट्दाकाट्दै काम छाडेर मसिने दौडिँदै आयो र सासै नफेरी भन्यो, “भाउजू, मलेसियाबाट तपाईको फोन आ’को छ, जाऊ अरे ।”
 मुन्दुली सधैँ झैँ खुसी भई । जुठेल्नोमा माझ्दै गरेको भाडाकुँडा त्यहीँ त्यसै छाडेर लुँगीले हात पुछ्दै उकालो दौडिई । १५ मिनेटको उकालो बाटो खुसीले काटेको पत्तै भएन । आँगनमा पुग्दा सदस्यनी बोजू बिस्कुन फिजाउँदै थिइन् । केही कुरा नगर्दै फेरि फोन आइहाल्यो । उठाएर हेल्लो भन्दाभन्दै विचरी मुन्दुलीको अनुहार बिग्रिएको देख्यो मसिनेले र सोध्यो, “के भयो भाउजू, दाजु होइन ?”
उताबाट अर्कै मान्छे बोलिरहेको थियो, भन्दै थियो, “दिदी तपार्इँ तुरुन्त काठमाडाँै आउनुप¥यो । हामी यहाँबाट दाइलाई पठाउँदै छाँै, दाइ बिमारी हुनुहुन्छ । त्यतै नेपालमा उपचार गर्नुपर्ने भयो ।”
 मुन्दुली छाँगाबाट खसे झैँ भई र मुस्किलले सोधी, “भाइ कहिले आउने हर्के ? बिमारी भए पनि बोल्न त सक्छ होला नि, म बोल्छु नि एकछिन ऊसँग ?”
  तर, उताबाट जवाफ आयो, “होइन भाउजू दाजु त हस्पिटलमै हुनुहुन्छ । ममात्र तपार्इँलाई फोन गर्न आ’को छु । म दाजुलाई हजुरको खबर सुनाइदिन्छु ।”
 फोनको लाइन यत्तिकैमा काटियो । मुन्दुलीको होसहवासको तार पनि काटियो । बेचैन देखिई । 
अर्को दिन घर, वस्तुभाउ, सानी छोरी नानूलाई जिम्मा लगाएर मुन्दुली काठमाडाँै हिँडी । कहिले नहिँडेको यात्रा थियो । सानै छँदा पल्टनबाट बाउआमाले ल्याउँदा काठमाडौँ केही दिन बसेको रे भन्ने दन्त्य कथामा झँै सुनेको नाम थियो काठमाडौँ । धरान पुगेर आफ्नो कान्छा काका र पढ्न बसेको भाइलाई साथमा लिएर मुन्दुली काठमाडौँ पुगी । पुगेको दिन सातदोबाटोमा उसकी फुफूको घरमा बास बसे । भोलिपल्ट, हर्केलाई मलेसिया पठाउने मेनपावर खोज्दै भाइ र काका बजारतिर लागे । मुन्दिली गाडी लागेर ज्वरोले थलिएर बिमारी भएकोले घरमै सुतिरही ।
 बल्लतल्ल हर्केलाई विदेश पठाउने मेनपावर पत्ता लाग्यो । थाहा भयो कि हर्के त बिमारी होइन, लास भएर बन्द बाकसमा आउँदै छ रे । अब काका र भाइलाई पर्नुसम्म आपत प¥यो । मुन्दुलीलाई कसरी हर्के मरिसक्यो भन्ने ? हर्केलाई के भएको थियो भन्ने पनि त केही थाहा थिएन । लास पर्सि आउँदै छ रे । एयरपोर्टमा पर्खिनु भन्ने खबर मात्र आएको रहेछ । 
पर्सिपल्ट मात्र उतैबाट लास जिम्मा लिएर आएको एकजना मान्छेले अचानक सोध्यो, “लास बुझ्न आउने को हुनुहुन्छ ?”
यो सुनेर मुन्दुली बहोस भई । आत्तिएको भाइले पानी ल्याएर मुखमा राखिदियो । काका पनि इन्तु न चिन्तु देखिए । स्तब्धता र शोकबाहेक त्यहाँ अर्थोक केही देखिएन । 
पूरै दुई वर्ष पाँच महिना पर्खेकीे थिई हर्केलाई मुन्दुलीले । तर हर्के, चिल्लो टिलिक्क टल्किने सुन्दर काठको बाकसभित्र मौन, थकित जिन्दगी बिसाएर निदाइरहेको थियो । लास बिहानको दश बजे जिम्मा लिएर आर्यघाट पु¥याउँदा बाह्र बजेको थियो । काकाले अत्यष्ठीका लागि पहिल्यै बन्दोबस्त गरिसकेकाले सिधै आर्यघाट लगिएको थियो । हर्केको लास जलाउनुअघि मेनपावर कम्पनीका कर्मचारीले मर्नुको कारणबारे केही कुरा भनिरहेका थिए । मलामीहरू मौन भएर उनीहरूका कुरा सुनिरहेका थिए । हर्के सुतेको सुत्यै अवस्थामा फेला परेको रे । तर, लास हेर्दा शरीरैभरि निलडाम र चोटपटकको सङ्केत देखिन्थ्यो । कसैले कुटेर मारेको अनुमान सजिलै लगाउन सकिन्थ्यो । 
आफन्तले लास जिम्मा नलिने भनी केहीछिन अडान पनि लिए । तर बर्खाको महिना भएकाले लासलाई जलाउनै पर्ने भयो । मेनपावर कम्पनीका तर्फबाट दोषीलाई कारबाही गर्न पहल गर्ने भन्ने कुराको जिम्मेवारी लिएर कागजातमा दस्तखत गरियो । उताबाट आएको हर्केको असी हजारको पोको मुन्दुलीका ससुरा र आमाजूको जिम्मा दिने गरी काकालाई हस्तान्तरण गरियो ।
  मुन्दुलीको होस खुले पनि बोली फुटेको थिएन । केबल एक झुल्के नजरले हर्केको अनुहारतिर हेरेर मनैले श्रद्धाञ्जलि मात्र दिई । ऊ फेरि बेहोस भई । हर्केको भौतिक शरीर जलेको आगो र धुवाँसँगै मुन्दुलीको प्रेमकथा पनि खरानी भइसकेको थियो । 
मुन्दुली होसमा आउँदा उसका हातखुट्टा कहिल्यै नचल्ने भइसकेका थिए । वरिपरि माइतीहरू थिए । निन्याउरो अनुहार लाएका दुई छोरीहरूले मुन्दुलीलाई सुताउने, उठाउने र खुवाउने चेष्टा गरिरहन्थे । मुन्दुलीको बोली बन्द नै थियो । आँखामा दुई थोपा आँसु चुहिएका सधैँ देखिन्थे । 
मुन्दुलीको–
‘विछोडको पीडा’
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Song writer, poet, and journalist

Leave a Reply:

Your email address will not be published. Required fields are marked *