– चन्द्र घर्ती मगर
आमा !
अचेल मलाई के भैरहेछ !?
यो के देख्दैछु !?के सुन्दैछु!?
होशमै के के बोलिरहेछु ?
आमा ! म त बहुलाएछु !
हेर्दा हेर्दै आँखा अगाडि
तिरिमिरी दृष्य देख्छु
दिनहुँनयाँ धुन सुन्दा
सन्त्रासको बिगुल ठान्छु
शास निस्सासिए जस्तो, र
आवाज भित्रभित्रै भासिए झै मान्छु ।
मेरो जम्मै आदर्शहरु
मेरै सामु भष्म हुदैछन्
नायकहरु खलनायक
खलनायकहरु नायक बन्दैछन्
न्यायमुर्ती न्यायधीशहरु
अन्धो फैसला सुनाउदैछन्
देश सम्भार्ने कर्मचारीहरु
पैसाले समय बेचिरहेछन्
आयु थप्ने डाक्टर सा‘पले
उल्तै ज्यान लिइरहेकाछन्
पत्रकारहरु गाउँ-शहर
भारु हल्ला फिजाउदैछन्
बिद्यार्थीहरु भबिश्य सपार्न
दुषित मुस्लो उडाउदैछन्
नेताले ब्यापार थालेछन्
ब्यापारीले पेशा फेरेछन्
महाराजले भिख माग्दै हिडिरहेछ
भिखारीले दान दिदै त्याग गरिरहेछ
म एकोहोरो टोलाइरहेछु
आमा !
मैले यस्तो केकेदेखिरहेछु !?
म पक्का बहुलाएकै रहेछु!?
आमा !
अचेल मलाई यस्तै भैरहेछ
सुनलाई पित्तल, र
पित्तललाई सुनको भाउ दिइरहेछु
ठुलालाई लुला, र
लुलालाई पो ठुला ठानिरहेछु
जिउदोलाई मृत, र
मृतलाई जिउदो देखिरहेछु
सत्यलाई भ्रम, र
भ्रमलाई सत्य सोचिरहेछु
सच्चालाई दुष्ट, र
दुष्टलाई सच्चा भनिरहेछु
पुण्यलाई पाप, र
पापलाई पुण्य मानिरहेछु
दिनलाई रात, र
रातलाई पो दिन सम्झिरहेछु
समय नखुटिनेयुगीनआत्माभित्र
यताउती छामछुम गर्दै
विश्वाश चाहिरहेछु, शान्ती खोजिरहेछु
आमा !
म त बहुलाएछु ।
मेरो मगज बेस्सरी खल्बलिएछ
चेतना त झन् शुन्य भैसकेछ
यो अर्ध-मुर्छित मनस्थितिमै,
माटोको टिका थाप्ने निधारहरु
सिमा पारी झुकेको प्रस्ट देखिरहेछु
आफ्नै बारी–मझेरीमा साँझ-बिहान
दुक्कले शिकार खेलेको देखिरहेछु
ओठेछापको तोक माग्दैलाचारहरु
चाकरीले संसार जितेको नियालिरहेछु
अरु हाँसिरहेछन्, म धुरुधुरु रोइरहेछु
शालीन आक्रोस ‘पागलपन’चिच्याइरहेछ ।
आमा !
अब भाईरसहरु झनै चल्मलाउने छन
मेरो सारा अङहरु निस्कृय बनाइनेछन
साइत हेरेरै अर्कोबहुलालाईओझेल पारिनेछ
तर, खै! अझै किन हो !?
राष्ट्रियता र स्वाभिमानको बत्ती
धुमिल भएको सह्य छैन
मानवीय धर्म र नैतीक गुण
भुसुक्कै भुल्ने दुस्साहस मान्य छैन
आमा !
बोल्न अह्राएको केही बोलेकै छैन
नबोल्ने जती सबै बोलिरहेछु
आफ्नै कुभलो मात्र गरिरहेछु
आमा !
अचेल मलाई यस्तो के भैरहेछ ?
म त बहुलाएछु !
आमा !
म त साँच्चीकै बहुलाएछु !।?
(13 Sep,’10 चन्द्र चिन्तन)
Please follow and like us: