अर्जुन दाहाल
अक्टोबर, ३ दुबई

फूलको धारले मुटु रेटिदियौ
मलाई मेरै हालतमा मेटिदियौ

यो शेर यूएईका गजलकार जैकी मोजाहुको हो । उनले
उक्त शेरमार्फत् मुटु रेट्न फूल पनि काफी छ भनेर
बताइदिए दुबईमा सम्पन्न एक मुशायरामा ।


गत शुक्रबार डेरा दुबईको कार्ल्टन टावर होटेलमा
सम्पन्न दुबई गजल मुशायरामा यूएईका साहित्य
प्रेमीहरूको राम्रो जमघट भएको थियो । अन्तर्राष्ट्रिय
नेपाली साहित्य समाज (अनेसास) यूएई च्याप्टरले
१४५ औं मोतीजयन्तीको अवसरमा यो मुशायरा
आयोजना गरेको थियो ।

कार्यक्रममा गजलकारहरूको शिरपिच्छे बारम्बार दर्शकबाट तालीको वर्षा भइरहेको थियो । कार्यक्रममको विशेष आकर्षण रहेकिथिइन् पाकिस्तानी उर्दू शायरा (कवियित्री) फर्जाना साहाब मिर्जा । उनले प्रथमपटक नेपाली दर्शकलाई मनोरञ्जन दिएकिथिइन् । उनको उर्दू गजलले नेपाली गजलकारहरूलाई पनि उर्दू तथा हिन्दी गजल वाचन गर्न बाध्य तुल्यायो । जैकी मोजाहु (जाकिर हुसैन), आदिल सर्वर “नेपाली” र घनकुटे कान्छाले उर्दू शेरहरू प्रस्तुत गरेर पाकिस्तानी शायरालाई उत्साहित तुल्याएका थिए । त्यस्तै दलवीरसिंह बराइली “घायल”, ऋषिशेष (शेषनारायण झा) जस्ता यूएईका अन्य स्थापित गजलकारहरू पनि कार्यक्रमलाई गजलमय बनाउन सफल देखिए ।

केही गजलकारहरूले गजललाई तरन्नूम (गायन) मा प्रस्तुत गरेर कार्यक्रममा मिठास भरिएको महसुस भइरहेको थियो । कार्यक्रम सञ्चालकद्व‍य उमेश र निमेष (उनी) को रोचक शैलीको कार्यक्रममा गायिकी भरेका थिए गजलकार दिपराज नेयाङहाङ, जैकी मोजाहु र चञ्चला घिमिरेले । चञ्चला र जैकीको युगल स्वरमा अर्जुन दाहालको “धेरै धेरै माया तिमीलाई दिउँला भनेकै थिएँ” भन्ने गजलले दर्शकलाई मोहनी लगाएको थियो ।

मुशायरामा माइनस प्लस संग्रौला, टेक थजाली मगर, एस. के. भण्डारी, अर्जुन दाहाल, दिनेश आचार्य मण्डू, अञ्जान बोहरा “चतुरे”, सालिकराम पन्थ, चेतन कार्की, गिरधारी “विरही” रिजाल, द कैलाश राई, यम बुढामगर,  विक्रम शिशिर, प्रितम अभागी “प्रित”, मानकाजी सदाबहारलगायतका जम्मा २७ जनाले गजल वाचन गरेका थिए । अमेरिकाबाट गजलकार आचार्य प्रभाले पठाएको गजल पनि सञ्चालकले वाचन गरेका थिए ।

गजलकारहरूबाट मात्र मनोरञ्जन लिएनन् दर्शकले बरु कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष रामेश्वर शाहले तत्कालै एउटा लघु कविता रचेर वाचन गर्दा दर्शकले उनलाई ठूलो तालीले स्वागत गरे । उनले आगामी जनवरीमा दुबईमा हुन गइरहेको एनआरएनको पाँचौ क्षेत्रीय सम्मेलनमा गजल मुशायरा गर्न अनेसासलाई समय प्रदान गर्ने बताए ।

प्रमुख अतिथि नेपाली राजदूतावासका नियोग उपप्रमुख दिपक अधिकारीले गजल मुशायराले नेपाली साहित्यलाई यूएईमा पहिचान दिलाउन सकेको बताए । उनी कार्यक्रम अबधिभरि गजलको स्वाद चाखिरहेको जस्तो देखिन्थ्यो ।

निमेष गिरी र उमेश राई “घायल” ले संयुक्तरूपमा सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाली समाजका अध्यक्ष यमप्रसाद तमू, एनआरएनए यूएईका अध्यक्ष चुडामणि ढकाल, नेपाली समाजका भूतपूर्व अध्यक्षद्व‍य चन्द्रप्रसाद सापकोटा, कृष्ण ढकाल, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष शंकर ज्ञवाली, नेपाली आदिवासी जनजाति महासंघका अध्यक्ष भुवन राई, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष उत्तम अधिकारी, नेपाली एकता समाजका अध्यक्ष मानबहादुर थापा, तमू समाजका अध्यक्ष राजु गुरुङ, सर्वदा बाङमय प्रतिष्ठानका सचिव चेतन कार्की, किरात याक्थुङ् चुम्लुङका सचिव सरोज पाहाङ्गो लगायतको उपस्थिति रहेको थियो ।

अनेसास यूएईका महासचिव गिरधारी “विरही” रिजालको औपचारिक उद्घोषणबाट प्रारम्भ भएको उक्त कार्यक्रममा सहभागी तथा अतिथिहरूलाई कार्यक्रम संयोजक टेक थजालीमगरले स्वागत गरेका थिए भने सभापति समदर्शी काईंलाले उपस्थित सबैलाई धन्यवाद दिंदै सभा समापन गरेका थिए ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *