‘लू’ उपन्यासमा भारतीय सिमावर्ती जनजीवनको पीडा र आशाको झिल्को

‘लू’ उपन्यासमा हामी बाँचिरहेको समय र जीवनको यथार्थ प्रस्तुति छ तर यो जीवनसँग धेरै नेपाली जनता, नेता, राज्य, पार्टी, संविधानसभा, कूतनीतिक पक्ष तथा धर्म निरपेक्ष्यता र राज्य पुनर्संरचनाका चर्का आवाजहरू बेखबर छन् । वर्गलाई नभै जात र धर्मलाई मूल ठान्ने नेपालको उग्र राजनीतिको ठगी नबुझ्ने, आफ्नै पैगम्बर ठानिएकाहरू नै विदेशीका दलाल र शैतान भएर मोज गरिरहेको थाहा नपाउने किनारीकृत पत्थरपुरवाका सहिष्णु जनताको सकारात्मक गाथा हो यो उपन्यास ! करिमसित नटुट्ने साइनो गाँसिदियो यसले, नुसरतको मनमा जस्तै सुनौलो अबोध आशा जगाइदियो अनि महेशरको संघर्षलाई हृदयदेखि नै सलाम गर्न लगायो । इलैयाबाट गुम्न लागेको सुवास लूको तातोमा पनि पुन: संचार गरायो यसले। मान्छेसित धर्ती र संस्कृतिको गहिरो सम्बन्ध परिभाषित गरेर तथा छिमेकीहरुको कुनियतको पर्दाफास गरेर ‘लू’ले जात, धर्म र थरका आधारमा देश चिरेर जनतामथि आफ्नो निरङ्कुशता लाद्न खोज्ने स्वार्थी तत्त्वहरु कहाँबाट सञ्चालित रहेछन् भन्ने कुरो छर्लङ्ग पारिदिएको छ । हामीलाई अपमान, तिरस्कार र भेदभाव गरेर लुट्न पल्केकाहरु बाहिर मात्र होइन, हामीभित्रै पनि रहेछन् भने वास्तविकता पनि पुष्टि गरिएको छ यहाँ । सिमावर्ती गाउँमा जनताका दु:ख, सहभाव, आशा, प्रेम र राष्ट्रियताको खोजी, लेखकीय स्वानुभूति, र निश्चित ‘थिम’लाई उपन्यास कलाको मीठो आधारभूमि दिएर नयनराज पाण्डेले ‘लू’ लाई सिँगारेका छन्। यसघिका ‘विक्रमादित्य एउटा कथा सुन!’, ‘अतिरिक्त’ र ‘उलार’ उपन्यासमा भन्दा निकै गुणा सामर्थ्यशाली उपन्यास ‘लू’ पाठकका अघि राखिदिएर उनी साहित्य र सामाजिक जीवनको सुदीर्घ सम्बन्ध स्थापित गर्न सफल भएका छन् । विगत एक शताब्दीका नेपाली उपन्यासहरूको निकट अध्ययनबाट यही निष्कर्ष निस्कन्छ- ‘लू’ अखबारमा विज्ञापन गरिएभन्दा निकै महत्त्वपूर्ण र नपढ्दा पश्चातापै गर्नुपर्ने उपन्यास हो । कतिपय ठाउँमा कथा भन्ने कथयिता पात्रहरूको कुरामा लेखकीय हस्तक्षेप नभएको भए बेस हुन्थ्यो भन्ने चाहिँ लागिरह्यो। त्यहीँका पात्रको अन्तर चिनाउन अवधी भाषामै केही संवादहरू राखेको भए र आञ्चलिक शब्दहरुको अर्थ परिशिष्टमा पढ्न पाइने हो भने यसको महत्ता अझै बढ्थ्यो कि? यहाँ राप्ती नदीको कुरा छ, पत्थरपुरवाको जीवनसँग त्यसको सम्बन्ध कस्तो छ, जान्न मन लागेकोथ्यो उपन्यासमै तर कतै पाइएन.

नयनराज पाण्डेको ‘लू’ र ध्रुवचन्द्र गौतमको ‘अलिखित’ उपन्यास केही हदसम्म समान भएकाले यी तुलनीय छन् किनभने यी दुबैले तराईको जीवन, संस्कृति र परिवेशलाई अति नजिकबाट चित्रण गरेका छन् । यी दुईमा धेरै भिन्नता पनि पाइन्छ, जस्तै: ‘लू’ नेपालीबाट भन्दा बढी भारतीय पुलिस र गुन्डाबाट सताइएको गाउँको कथा हो तर ‘अलिखित’ नेपाली सत्ताबाट उपेक्षित, जमिन्दार र पुलिसबाट सताइको गाउँको कथा हो ।’लू’ गाउँले पात्रहरुको मानवीय प्रेम, संवेदना र सहकार्यलाई सरल ढंगले प्रस्तुत गर्ने कृति हो भने ‘अलिखित’ चाहिँ व्यङ्ग्यको प्रधानता भएको र अलि जटिल कृति हो किनभने यसमा प्रयुक्त स्वैरकल्पनाको प्रतीकात्मक अर्थ सामान्य पाठकले बुझ्न निक्कै गाह्रो पर्छ ।’लू’मा रहेको समाजप्रतिको लेखकीय अवधाराणामा आलोचना मात्र नभै समस्यासित प्रत्यक्ष्य सरोकार पनि छ तर ‘अलिखित’मा पाइने सामाजिक पक्षको लेखकीय आलोचना प्रवृत्तिगत विकृतिको उपहासमा केन्द्रित भएकाले त्यो अप्रत्यक्ष्य र कति ठाउँमा त नकारात्मक समेत बनेको छ । ‘लू’मा रहेका विविध जात, धर्म, पेशाका पात्रहरु एकीकृत सहकार्यमा जुट्ने, सक्रियता देखाउने, विरोधका आवाज निकल्ने खालका छन् तर ‘अलिखित’का धेरै पात्रहरु जमिन्दारका पिछलग्गु, बढी निष्क्रिय रहेकाले त्यहाँको गाउँ नै अन्त्यमा बिलाएको छ ।’लू’मा भने भारतीयहरुको छिमेकीलाई हेप्ने, नेपालको आन्तरिक ममिलामा हस्तक्षेप गर्ने र सीमास्तम्भ रातारात सार्ने बदनियतपूर्ण व्यवहार तथा हाम्रा नेता भनाउँदाहरुको व्यक्तिगत स्वार्थ र लाचारीका कारण सुरुमा केही खेतबारी हुँदै पछि गाउँको सबै भाग नै जवर्जस्ती भारततिर पुगेको हो। गाउँ बिरहिनपुर बरेवा हराएको प्रसङ्गको सङ्केत बुझ्न ‘अलिखित’मा निकै गहिरिएर  हेर्नुपर्छ, त्यो पनि निकै अस्पष्टताका साथ अनुमान मात्र लगाउन सकिन्छ, तर ‘लू’को गाउँ पत्थरपुरवा सरेको कथा भने चिठीको ठेगानाबाट मात्र थाहा पाइने हुनाले त्यो निकै आकस्मिक, झड्का दिने र गम्भीर प्रभाव उत्पन्न गर्ने खालको छ।  निष्कर्षमा,’लू’ का जोडी साइकलमा भागेर नेपालगन्ज जानु जीवनप्रति आशा, विश्वास र सिर्जनाको सङ्केत हो तर ‘अलिखित’मा काठमान्डुबाट गएकाहरु गरिब गाउँमा अर्थहीन अनुसन्धान गरी भागेर आउनु यथास्थितिको पोषण, पलायन र निराशाको प्रस्तुति हो। त्यसैले ‘अलिखित’की वाचाल पात्र कथनी बुढिया अन्त्यमा बहिरी, अन्धी र लाटी बनेकी छ तर ‘लू’ को एउता परिवर्तित पात्र टुटे पन्डितले भने लेखकलाई चिठी नै लेखेको हुनाले यसका पात्रहरु जीवन्त छन् । ‘लू’मा भन्दा ‘अलिखित’मा भाषाको स्थानीय प्रयोग प्रत्यक्ष्य र सही ढङ्गले भएको छ। विविध कलात्मक प्रयुक्तिका दृष्टिले ‘अलिखित’ सफल रहे पनि यो उपन्यास पाठकले टाढाबाट हेरेको सम्भ्रान्त पात्रहरुको कथा हो तर ‘लू’ भने त्यहीँको भूमिसित जोडिएका पात्रको अन्तरङ्ग चेतनाबाट उत्पन्न भएकाले पाठकलाई निकटबाट छुने कथा हो। ‘अलिखित’का बिम्ब, अलङ्कार, विट, उखान आदि भोजपुरी भाषामै प्रस्तुत भए पनि ती व्यङ्ग्य कठमान्डौली मन्छेका मनोभावना हुन् तर ‘लू’का बिम्ब, अलङ्कार, मिथक, जीवनपद्धति सबै वर्नणलाई पुनर्कथन गरिएकाले ती नेपाली भाषामा लेखिएका भए पनि स्थानीय रङ्गका, संस्कृति, चेतना, धर्म, भाषासित जरा जोडिएका रूपमा देखिन्छन् ।’अलिखित’ले तत्कालीन स्थिति (२०४० आसपास)मा एनजीओले उत्पादन गर्ने विकासे बुद्धिजीवीबाट देशमा निम्तिन सक्ने खतरा देखाएको थियो भने ‘लू’ले अहिलेको व्यावसायिक राजनीति, उग्र धार्मिकता, भ्रष्ट जातीयता र सीमा समस्यालाई नजिकबाट अनुभूत गरी संवेदनशील तरिकाले उठाएको छ। यी समस्यालाई निहुँ बनाएर उच्च सामाजिक सद्भवनालाई भड्काउने बाह्य तत्त्वसित आन्तरिक भूमिगत तत्त्वको गहिरो साँठगाँठ पनि ‘लू’मा देखिन्छ। त्यसैले पाठकलाई नेपाली सीमावर्ती तराइली जनताको जनजीविका र राष्ट्रियताको सवालमा रोमञ्चकता सहित दरो सञ्चेतना दिन ‘लू’ निकै सफल छ। अत: यो नेपाली उपन्यासको इतिहासमा एउटा उत्कृष्ट कृति हो।

यस उपन्यासमा विचार, यथार्थ र शिल्प तिनै कुरामा शिखरको निकै नजिक पुगेका उपन्यासकार नयनराज पण्डेजीलाई शतशत बधाई !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *