– मन्जु बिमली

(डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा)

चुरी फुरी सानो हुन्न बिदेश पसी सक्दा
दु:ख ज्यानले पाउछ अनी जान्ने धेरै हुँदा,
चन्चल हुन्छ मन सधैं क्यासिनोको चर्खा जस्तै
यो गरु कि त्यो पो गरु दुई डुंगाको माझी जस्तै ।

कुलत भन्ने कान्छी रहिछे लाड् प्यारको पोल्टो
जब पल्क्यो कान्छीसँग फेरीहाल्यो कोल्टो ,
बलिया बाँगा बसेकाछन् कान्छीलाई गार्ड

कान्छी पनि कैले काही त दिन्छे प्यार लाड ।

जेठी बस्ने झुप्रो घरमा कान्छी त महलमा
यो बोर्ड र उ बोर्ड गर्दै निक्कै चहल्पहलमा,
गूड् लक् भनी पठाई दिन्छन् देखाई उभोतिर
पलाई हाल्छ आशा ठूलो हट्छन् सबै पीर ।

चुरोटको कुइरीमण्डल मान्छे त्यस्तै धूइरो
गोटी जती सोर्सार् पारी भरी हाल्छे पोल्टो ,
कतिन्जेल टिप्नु खै यो डोकेसाको चारो
हासी हासी भाग्छे कान्छी हातमा पार्नै गाह्रो ।

जती हेर्यो उती राम्रो कान्छीको त्यो रूप
जेठी बरा ! रुदा रुदै उडिसक्यो धूप ,
घरकी मोरी गन्गन् गर्छे राती अबेर आउँदा
म त हजुर थाकी सके कान्छीलाई फकाउदा ।

खोक्रै बनाइ कान्छीले नाग्-ङेझार नै पारी
माया देखाइ जेठीसँग रुन्छ धर धर ,
अर्ति बुद्दि कसैले दिनु त्यहा हुन्न
त्यस्तो बेला कुनै पनि ओखतिले छुन्न ।

जस्ले गर्छ उस्ले भोग्छ उसकै मन पोल्छ
अरुलाई त गफ चुटी हास्ने बिषय बन्छ ,
इज्जत ,इमान ,धन् सबै त्यही कान्छीले लुटी
कान्छीसँग पल्कनाले जेठी पनि छुटी ।

जीबन त्यसै बर्बाद हुन्छ साथी-संगतले
आफन्त नि पराइ हुन्छन् आफ्नै अहङ्कारले ,
दु:ख सुख जेठीसँगै झुप्रे घरमै बसौ
महलको लालसाले कुलतमा नफसौ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *