– लारा

अनिंदो कैयन् रातहरुसँगै
छिचोलेर लासहरुको पहाड
टेकेर सिन्दूर पोखिएको जमीन
कमरेडको आरोहण !
शहरकी चर्चित नायिकासँगै
समयान्तरका होर्डिङ्-बोर्डहरुमा
ठिङ्ग,
एक्लै,
विस्थापित एउटा मन,
इ….! हेरिरहेछु-
रक्तिम क्रान्तिको विजय
मरणासन्न राजधानीको
ब्यस्त चौकमा
हावामा लहराउँदै माथि
उचालिएका कमरेडका
दाहिने हातको मुट्ठी
रङ खुइलिंदै गरेको तुलहरुमा
उप्कँदै गरेका जर्जर भित्ताहरुमा
अग्ला होर्डिङ्-बोर्डहरुमा
यथावत अझै नाराहरु –
“गणतान्त्रिक नयाँ नेपालका
भावी नायक, कमरेड……………..”
क्रमशः
रुपान्तरित
सत्ता र सरकारमा ।

तैपनि,
किन अझै खुम्चिरहेका छन्,
आम जनताका दैनिकीहरु ?
गणतान्त्रिक नयाँ नेपालको
आयतनभित्र
निर्धक्क किन हाँस्न सकिरहेका छैनन् ?
निर्दोष जिन्दगीहरु
गणतान्त्रिक नयाँ नेपालको
अनुहारभित्र
किन अझै बेखबर छन्,
हराइरहेका हरि बहादुरहरु ?
गणतान्त्रिक नयाँ नेपालको
मानचित्रभित्र
भोग्दैछन् किन अझै पनि
विस्थापित मनहरु ?
असह्य पीडा र वेदना
बेस्कन दुखेको विगतसँगै
गणतान्त्रिक नयाँ नेपालको
आँगनभित्र
कमरेड !
क्रान्तिको उद्घोषसँगै
कुल्चिएका तरुनी सपना र,
गुराँसका रक्तिम थुङ्गाहरु
किन अझै बल्झिरहेका छन्,
संवेदनाविहीन मान्छेहरुको हूलभित्र ?

भो !
अपार असहमति छ मेरो
संवेदनाविहीन मान्छेहरुका हूलसँग
यदि,
बेहिसाब मृत्युको मूल्य
आहुति र सपनाहरु सहिदका
फगत, सत्ता आरोहण मात्रै होभने,
केवल, फगतले
कज्याएको सरकार
फगतले ठडाएका तुलहरु
आस्थाको फूलसँगै
च्यातिएर झर्नेछन् जमीनमा
मानौं,
विज्ञापन हो समय पनि
खस्कँदो लोकप्रियतासँगै
उँधोमुण्टो हुने
शहरकी नायिकाको
होर्डिङ्-बोर्डहरु जस्तै
मरणासन्न राजधानीको
ब्यस्त चौकमा
के थाहा !
पुनः फेरिनेछन्
फगतले ठडाएका
होर्डिङ्-बोर्डहरु अनि,
तोडिनेछन् आरोहणहरु
ऐतिहासिक शालिकहरुजस्तै
समयको प्रहारमा ।

किनभने,
तातिने क्रममा छन्
जितेको ठानेर सर्वस्व
हिजो गुमेकाहरु पनि
खोज्दै अधिकार सडकमा
त्यसैले,
अवका समयहरुसँग
अनुदित होइन हामीले
परिष्कृत बन्दै जानुपर्छ
अतः
लाल-त्रासदीबाट मुक्त
अहिले र यहीँबाट,
बस्ती, शहर र समग्र मुलुकमा
कमरेड !
आस्थाका फूलहरु फुलाउनुपर्छ
शान्ति एवं सदभावनाको तुलहरु टाँग्नुपर्छ
एकता एवं प्रेमका होर्डिङ्-बोर्डहरु ठडाउनुपर्छ ।

नत्र,
देशको अर्को दुर्भाग्य !
फेरि दुख्नेछन् मुटुहरु,
कुल्चिनेछन् तरुनी सपना र,
गुराँसका रक्तिम थुङ्गाहरु,
बल्झिनेछन् चोट र घाउहरु,
अनि,
पलायन हुनेछन् भविष्यहरु,
ठिङ्ग,
एक्लै,
चिन्तित,
विस्थापित एउटा मन,
इ…! हेरिरहेछु-
उभिएर अघिल्तिर
मरणासन्न राजधानीको
ब्यस्त चौकमा
हावामा लहराउँदै माथि
उचालिएका कमरेडका
दाहिने हातको मुट्ठी
रङ खुइलिँदै गरेको तुलहरुमा
उप्कँदै गरेका जर्जर भित्ताहरुमा
अग्ला होर्डिङ्-बोर्डहरुमा
कमरेड !
त्यो मुट्ठीलाई
मेरो पनि सलाम !
तर,
लालहीन स्वेत सलाम !
रक्तपातविहीन
आस्थाको/शान्तिको
सदभावनाको/एकताको
प्रेमको
कमरेडलाई
निख्खर स्वेत सलाम !!

[पहिलो पोखरेली झ्याल कविता वाचन प्रतियोगितामा उत्कृष्ट दोश्रोमा छानिएको हो ]

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *