– उपेक्षित पूजा

विक्षिप्त भएकी छु म
तिमीबाट उपेक्षित भएर
अर्मूत जीवन जिउँदै
लम्पसार परेकी छु म ।

डढेलोले खाएको राग सही
निस्तेज भएर
उदाङ्गिएका छन् मेरा भावना
ढलपलाउँदै बाँचेकी छु म
जिउँदो लाससरि भएकी छु म ।


औंशीको कालरात्रीमा पनि
चाँदआकृति खोज्दै
शून्यतामा टोलाएकी छु म
प्रताडित अपूर्ण जीवनमा
पूर्णप्रॆमको परिभाषा खोज्दै
आकांक्षित भएकी छु म ।

परेलीमाझ टलपलाइरहेका
आँशुका ढिकाहरुलाई
तिम्रो प्रेमको उपहार ठानेर
स्वीकार्न विवश भएकी छु म ।

मनका कुन्ठित भावहरु खोज्दै
तिम्रो आकृति विम्वमा
थर्थराएका औंलाले स्पर्श गरेर
प्रतिप्रश्नमा निरुत्तरित भइदिँदा ।
वेदनाले क्षतविक्षत भएकी छु म
साँच्चै विक्षिप्त भएकी छु म ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *