– हेमन्त परदेशी

देश नै जनता
र ,
जनता नै देश !
कहिँ सुने जस्तो
कतै पढे जस्तो
तर बिस्मृत छन्
मेरा मानसपटलहरु
सुषविताबाट
क्षयग्रस्त बने जस्तै ।

तपाईलाई थाहा छ?
तपाईलाई पो थाहा छ कि ?
सडक सडक

गल्ली गल्लीहरुमा
एक्लै भौतारिँदै
प्रश्नै प्रश्नहरुको
तुल टाँग्दैछु म ।
सहरका होर्डिङ्गबोर्डहरुमा
बियर र चाउ चाउको
बिज्ञापन टाँगे जस्तै ।

सामयिक खोज
समादृत प्रश्न
हार्दिक बधाई दाइ/भाइ !
बधाई र शुभकामनाका
अनगिन्ती शब्दका पोकाहरुले
टन्न भरिएको
गह्रुँङ्गो झोला
पिठ्यूँमा बोकेर
यौटा अपरिमित
सडकको दुरी
निरन्तर नापिरहेकोछु म
ओलाङ्चुङ्ग गोलाका
खम्बा भोटेहरुले नुन बोकाएर
उकाली ओराली गराइरहेका
लेकाली ‘याकहरु’ जस्तै ।

ए मूर्ख मान्छे !
सडक र गल्लीहरुमा
खोजेर पनि पाइने चिज हो र ?
देश र जनताको
अर्थ र परिभाषा ?
म भित्रको ‘म’ ले
मलाई नै प्रश्न गर्छ
अनायसै झस्किन्छु म
आफ्नै प्रतिविम्वसँग ।
आफ्नै छाँया देखेर तर्सिएको
खरायो र सिंहको कथाको
मूख्य पात्र बुद्धु सिंह जस्तै ।

पुग्छु म सिंहदरबार
नियाल्छु एक एक दृश्य
खोइ देश ?
कहाँ छन् जनता ?
सबै अरुकै ईशारामा नाँचिरहेका
नर्तकीहरु देखेर
आश्चर्यचकित हुन्छु म
अब कहाँ जाऊँ ?
के गरौँ म ?
बेस्सरी अलमलिन्छु ।
मेरा थकित पाइलाहरु
पुन: लम्किन्छन्
आफ्नै गाउँ-बस्तीतिर
आहा ! जनता नै जनताको लस्कर
भावमङ्गित हुन्छु म अनायसै
र ,
नियाल्न थाल्छु
प्रत्येक अनुहारहरुलाई ।
तर अफसोच !
कहिँ कतै देशको चित्र देख्दिन म
ती अनुहारहरुमा ।
मिथ्या लाग्छन् मलाई
देश नै जनता
र ,
जनता नै देश-को परिभाषा ।
मानौ जनता हरु
फगत न्यूरोडमा बेच्न राखिएका
बिभिन्न मानवाकृतिमा कुँदिएका
हस्तकलाका सामानहरु मात्रै हुन् ।

अब कहाँ जाऊँ म देश खोज्न ?
सडक?
गल्ली?
सिंहदरबार?
मेरो गाउँ-बस्ती?
अझै अनुत्तरित छन्
मेरा प्रश्नहरु आफैसित ।

हाल, दोहा, कतार ।
हेमन्त पर्देशीको फेसबुकबाट साभार ।
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *