संस्कारहरूको अरूणोदयसंगै,
अङ्कुरित भइरहन्छन्—
अलग-अलग पोथ्राहरू:
चिन्ता-चासो-चिन्तनका।
अनिदो दलन र
कट्मिरो चलनका,
एकहोरो बिगुल प्रति/ध्वनित
भइरहेको वीरूपाक्ष समय—
धरहरा झङ्कृत रहिरहोस्,
युगबोधको।
तनाका च्याब्रुङहरू
मानुषिक सम्वेत् भावका
भाकाहरू हाल्दाछन्—
प्राचीनताका उत्सादहरू
परा/नुतन झ्यामटाहरू
भंगिमाको खैंजडीमा
अनाबृत अङ्कुरित
भइरहेछन्—
निरन्तर निरन्तर।
‘जेठी कमेना’—
म ‘मान्छे’ जन्मेपछि,
मात्र ‘मान्छे’ हुने
मेरो चिन्तनको रालोलाई,
म ‘मान्छे’ मात्र हुनबाट
निषेध गरिएं—
नामको डाममा,
संस्कारको पर्दामा
अनि
खण्डिकृत भूगोल मण्डलमा—
कोमल-कमलको,
अबोधगम्य खोजमा,
घुङ्ररिङ सेउलीहरू
हात हातमा लिएर
‘मण्डलाकृत’—
अस्तित्वको।
दुर्भाव अ/भावहरू
“बिबश मान्छेहरू”का
मनका
संझ्यालहरूबाट
ह्वालह्वालती
विश्वग्रामको
सगोल कटेरामा
रक्ताम्मे
स्वप्नदोषहरू
वर्षिन थालेपछि
मानवता र विश्वभात्रृत्वको
‘इन्क्लाब’ जिन्दाबाद
भज्ने ‘म’—
सभ्यता निर्माण
एक ‘हेज्मनि’को
लाटकोसेरो प्रहारले,
बिश्वमानचित्र
भाग्दैछ—
अ/मान्छेहरूबाट
टाढा टाढा।
‘म’ विपठित भएं,
विटुलिएं निस्फिक्री,
भूगोलका रेखारेखामा
बांडिएको ‘म’ अपुरो मान्छे,
पूर्ण ब्रह्माण्डीय पिण्डको—
एक ब्रह्मज्ञानी
‘म’ भइदिए !?
मृत्युका गीतहरू गाउने
अमृतमय प्याला हुने स्थानमा,
सामाजिक चंगुल र
अपब्याखाहरूको प्यादा हुन पुगें।
पीडा-पीडक-पीडित
शब्दान्तरमा
शेषन्तरको ताबिज
गुरू-गाम्भीर्यताको,
भूतारोहण
नभए पनि
लु भो !
पुगो मलाई !!
पित्त-परम्पराका बुटीहरू
अहंकार-तिरस्कारका हुंकारहरू।
‘जेठी कमेना’—
म ‘मान्छे’ जन्मेपछि,
‘मान्छे’ मात्र
हुन चाहन्छु।
जुलाई ३०, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट