हरेक रात कालो आकाश , कालो मुशालधारे पानी अनि अचानक डरलाग्दो बाढी पहिरो आएर मेरो घर बगाएर लान्छ ! मेरो जुम्ल्याहा दुइ छोरीलाई दुइ हातले समाउदै म त्यो कालो तालमा “ बचाउ ! बचाउ !! भन्दै चिच्याई रहेको हुन्छु | “ तीन हप्ता देखि भयानक सपनाहरुले तर्साइरहेको छ ! एकोहोरो पिडोलिरहेको छ ! सन्तापहरु बढाइरहेको छ ! नचाहेरै म विश्वास गर्न बाध्य हुन्छु कि यी सपनाहरुले केहि बर्बादीको संकेत गरिरहेको छ भन्ने कुरामा | जीवनको छत्तिसौ बसन्त काटिसकेको छु मैले तर यस्तो सपना ? त्यो पनि नियमित ; पहिलो पटक देखिराको छु |
पाँच हप्ता पहिले मात्र आफन्त मार्फत पाँच लाख श्रीमतीको हातमा थमाई दिएको थिएँ उनको कपडा पसल खोल्ने निर्णय सँग राजी हुँदै | गएको विहिबार हामीबीच राम्रै कुरा भएको थियो ; त्यसपछी भने उनको मोबाइलमा फोन नै लाग्न सकिरहेको छैन आज सम्म तर यसमा सुर्ता गर्नु पर्ने कारण पनि भेट्दिन म | शायद , उनि पनि व्यस्त होलिन् पसलकै कारोबारमा | नयाँ कार्य ; कुनै अनुभव छैन ; एक्लै ! विचरीलाई खूब गार्हो भा’को होला !
मनलाई सम्झाई रहें तर सपनाको कारणले मनमा जन्मिएको यो छट्पटाइ र मनको यो तड्पाई समाप्त गर्न भने असफल नै भएँ म ! कतै ऋणमा लिएको त्यो पाँच लाख चोरी त भएन ? मलाई भन्दा हराउनुको दोषी आफैलाई ठहर्याई झपार्नेछु भन्ने सोंचेर पो भावनाले दश दिन फोनमा सम्पर्क नहुँदा पनि चुप लागेर बसेकी हुन् कि ? दिदी सँग पनि अस्ति कुरा हुँदा , सबै ठिक छ ; भन्नु भाथ्यो |
मोबाइलमा आएको कलले ध्यान त्यता तिर तान्यो र झट्टै हेर्दा नेपालको नम्बर देखें | नयाँ नम्बर | सोंचे अरु त कसले फोन गर्दो ? भावनाकै होला , एक्कासी खुशीको लहर उर्लियो मनै भरि , मुसुक्क हाँस्दै बोलें , “ हेलो ! “
“ हेलो , सुरज ! म योगेन्द्र , तिम्रो श्रीमतीको बारेमा थाह पाउँदा मन थाम्नै सकिन ……”
म झस्किएँ किनकि फोनमा बोल्ने मान्छे मेरो महासत्रु थियो | बीचैमा कुरा काटें र झर्किदै सोंधे , “ के थाह पाइस् मेरो श्रीमतीको बारेमा ? किन फोन गरिस् मलाई ? “
“ किन तँलाई थाह छैन ? कि मेरो सामु आफ्नो शिर झुक्ने भो भनेर बुझ्पचाको ? तँ विदेशमा , तेरी स्वास्नीले त भाको सबै बेचेर पोइला गइ भन्ने हल्ला चलेको छ यो टोलै भरी त्यो पनि खै को मदेशी सँग | मेरो स्वास्नी पोइला जाँदा तैले मलाई दोषी ठहर्याएको थिइस् नि सबको सामु …….”
अधैर्य भएर मैले फोन काटी दिएँ तर निकै बेरसम्म निरन्तर फोन गरिरह्यो उसले | मनमनै भनें , “ स्वास्नीले छोडी दिंदा अझै पागलपनमै रहेछ क्यारे त्यसैले यस्तो अपत्यारिलो कुरा गर्यो मेरो भावनाको बारेमा |
वेवास्ता गर्दागर्दै पनि योगेन्द्रको कुराले निकै झस्काई रह्यो मलाई | विश्वास र अविश्वासको द्वन्द सुरु भयो मनमा ! उसको कुरामा पत्यार गरुं कि नगरुं ? धेरै सम्झाएँ आफैलाई त्यो सब झुठो हो भनेर फेरि पनि मन शान्त हुनै सकेन र दिदीलाई फोन गरें र त्यो सब कुरा सुनाएँ र जवाफ मागें !
दिदीको जवाफ “ हो ! त्यो सब सत्य हो ! तिम्रो छोरीहरु मसंग छन् दश दिन देखि | तिमी विदेशमा , यो सब थाह पाएर के बित्ला तिमी माथी भनेर हामीले जति सक्दो यो सत्य तिमीसंग लुकाउन चाह्यौ तर सत्य कति दिन लुक्न सक्थ्यो र ? जे हुनु भयो सुरज आफुलाई सम्हाल किनकी तिमीले तिम्रो नाम गरेर लिएको पाँच लाख ऋण तिर्नु छ र छोरीहरु प्रतिको तिम्रो कर्तव्य निभाउनु छ | तिम्रो छोरीहरुको निम्ति मातापिता तिमी नै हौ अब देखि | “
यहाँ भन्दा बढी एक शब्द पनि सुन्ने हिम्मत र धैर्यता रहेन म मा | सम्पर्क विहिन भएँ दिदीसँग | लाग्यो सारा दुनियाँ झुठो बोली रहेछ मेरो भावनाको बारेमा ! म जिद गरिरहें आफ्नै बोधात्मा सँग यो सब भ्रम हो ! लोग्नेस्वास्नी त एकअर्काका परिपूरक हुन् ; एकअर्काका स्वाभिमान हुन् ; एकअर्काका अति समिपको एउटै भरपर्दो सहारा हुन् ! लोग्नेस्वास्नी एकअर्का देखि अलग नै कहाँ छन् र जो मेरी भावनाले म सँग यत्रो कुठाराघात गर्नुपर्ने ! मलाई धोका दिनु भनेको उनले आफैलाई धोका दिनु हो ! मैले उनको हर इच्छा , हर चाह र आवश्यकताको प्रवाह गर्दै सक्दो पूर्ण गर्ने कोशिश गरिरहेकै छु फेरि अरुकै साथ खोजेर जानु पर्ने त्यस्तो कुनै स्थिति नै देख्दिन ! अ हँ म यो सत्यतालाई कदापि स्वीकार्न सक्दिन !
खै किन सारा आभास बोधो लागिरहेको थियो मलाई | रुन पनि चाहिन र हाँस्न पनि सकिन ! निरन्तर भावनाको मोबाइलमा कल गरिरहें काम मा हुँदा पनि मालिकको आँखा छलेर ! बिहानदेखि साँझसम्म र साँझदेखि विहानसम्म ! हप्ता दिन बित्यो तर भावनालाई भेट्न सकिन उनको मोबाइल नम्बरमा ! म अनि मेरो आत्मविश्वास कम्जोर बन्दै गैरहेको थियो ! आशा र भरोशा गलिरहेको थियो ! आखिर कहिले सम्म आधारहिन , सारहीन , प्रमाण विहिन एकोहोरो जिद्दीपनले मेरो बोधात्मालाई पराजित गर्न सक्थ्यो र कि भावना आज पनि मेरै श्रीमती हुन् भनेर !
विस्तारै मन र आत्माले , चेतना र संवेदनाले सत्यतालाई जति स्विकार्दै गयो त्यति नै बढी पीडा महसुस गर्न थालें ! म आफैभित्र छट्पटी रहें पानी विनाको माछा जसरी ! रुन मन लाग्थ्यो ! कराउँदै , चिच्याउँदै भित्ताहरु चिथोर्न मन लाग्थ्यो ! क्रन्दन र क्रोधमा ज्वालमुखी को रुप लिई हिजो, आज र भोलिको अस्तित्व मेटाईदिन मन लाग्थ्यो ! कहिले रक्शिको नशामा डुबेर मातिदै हिड्न मन लाग्थ्यो त कहिले विष पिएर जीवनको समाप्ति गरिदिन मन लाग्थ्यो ! म के गरुं ? म के न गरुं ? म बाँचु कि म मरुं ?
सबै भन्छन् पुरुषको मन कठोर हुन्छ ; पुरुषमा हिम्मत र सहास बढी हुन्छ र हिजो सम्म मेरो सोंच र मष्तिष्कले पनि यहि कुरा मान्दथ्यो तर आज म यो कुरा मान्दिन ! पुरुषमा सांचिकै सबैले देखे जति हिम्मत र सहास हुन्थ्यो भने आज म यत्रो बज्रपात पर्दा कोही न कोही साथीसँग मनको वेदना पोख्दै रुन्थे होला तर मैले चाहेर पनि मन भित्रको पीडा रित्याउदै कसै सामु एक थोपा आँशु मात्रै पनि बगाउन सकिन ! मतलब मेरो पुरुष मनले त्यति हिम्मत पनि जुटाउन सकेन बरु एक्लै रुन राजी भएँ ! पिडाहरुमा एक्लै जल्न मन्जुर भएँ ! निसन्देह पनि पुरुषको यहि विशेषताले गर्दा बाहिरबाट हेर्नेहरु पुरुष मनलाई कठोरताको संज्ञा दिने गर्छन् ! पुरुष मन त ठिक त्यो ओखरको दाना जस्तो जो बाहिरबाट कठोर र भित्र सबै नरम !
भावना ! जबदेखि तिमी मेरो जिन्दगीमा आयौ , तिम्रो इच्छा नै मेरो इच्छा भयो ; तिम्रो उद्देश्य नै मेरो उद्देश्य भयो ! तिमीले जे जे देखायौ मैले त्यही त्यही देखें ! हरेक चिजको पहिचान गर्न सिकें ! हरेक चिजलाई अर्थ लगाउन सिकें ! मानौ म त फुस्रो माटो न थें तर तिमी कुमाले बनेर मलाई आकार प्रकार दिई अस्तित्वमा ल्यायौ ! तिम्रै प्रेम र साथको अभिमान लिएर सबैसामु ठुलो भै रहें तर आज मेरो सारा अभिमान तोडी दियौ तिमीले ! ओत लाग्नको निम्ति न छत छोडी दियौ न पाइला राख्नको निम्ति एक टुक्रा जमिन ! आत्मिक र भौतिक दुबै तर्फबाट रित्तो र कंगाल बनाइ छोडी दियौ ! चिच्याई चिच्याई सोध्न मन लागीरहेछ मलाई , किन तिमीले कुठाराघात गर्यौ ? कसरी तिमीले आफ्नै जीवनसाथी सँग कुठाराघात गर्न सक्यौ ? यही सोंची सोची म पागल हुन्छु धेरै पागल !
जुलाई अगस्टको महिना अरबको गर्मि ! जिन्दगीले ; हाम्रो सम्बन्धले जस्तोसुकै मोड लिए पनि मेरो सारा सत्यतालाई आफ्नो मनबाट बाहिर निस्कन दिईन मैले ! काम सुचारु रुपले गरिरहें ! कम्पनीले देको कोठाबाट काम र काम बाट कोठा ! आत्मा रोइ रहन्थ्यो भित्रभित्रै हरपल , हरघडी जब अशैया हुन्थ्यो चर्पी भित्र पस्थें र रुन्थें ! आँशुको बगाई सँगै वेदना पखाल्ने असफल प्रयास गर्थें ! म आफै र त्यो मेरो कम्पनि र कोठाको चर्पीका भित्ताहरु बाहेक अरु कसैलाई थाह थिएन म मा के वितिरहेको छ भन्ने कुराको खबर ! न कोही सम्झाउने थियो ? न कोही सम्हाल्ने ? जे थिएँ , जो थियो , आफ्नो निम्ति आफै नै थिएँ !
जिन्दगी जिन्दगी नै हो जो वास्तविकतालाई स्वीकारेर बाँच्न सिक्नु पर्छ ! आफैलाई आफैले सम्हालेर हाँस्न सिक्नु पर्छ ! कुठाराघात गरी जानेको यादमा सधै तड्पेर , कम्जोर बनेर आफैलाई बर्बादीतिर डोहर्याउनु त झन् आफैले आफैसंग गरिएको कुठाराघात हो र जानी जानी म आफ्नो जिन्दगीसँग र मेरी दुइ छोरीको भविष्य सँग कसरी कुठाराघात गर्न सक्छु ! मैले बाँच्नै पर्छ यो सारा परिस्थिति , चोट , पीडाहरुको सामना गर्दै ! मैले बाँच्न सक्नु पर्छ र सिक्नु पर्छ आफ्नो र छोरीहरुको सुन्दर भविष्य निर्माण गर्नको निम्ति ! मनमनै यहि प्रण गर्दै म हिम्मत जुटाउदै , सहास बटुल्दै , आशाहरुको झुलामा झुल्दै अब पनि म आफ्नो परिश्रम र प्रयासले सुन्दर भविष्य निर्माण गर्नेछु भन्ने आत्माविश्वासको साथमा जीवनरुपी रथ गुडाई रहेछु !
समाप्त !
सजना गुरुङ
कुश्मा , पर्वत
हाल , इजरायल