कुनै गाउँमा एकजना केटा र केटी थिए । उनिहरू एक अर्कालाई असाध्यै माया गर्थे । प्रेममा यति धेरै चुर्लुम्म डुबिसकेका थिए कि कुनै शारिरिक बन्धन थिएन । उनि हरूको अन्तर्जातीय प्रेम थियो ।
जब केटाको घरमा यसबारे थाहा भयो तब घरका मान्छेले अनौठो सर्त राखे । या त प्रेमिका छोड्नु पर्ने या गाउँ नै छोड्नुपर्ने । यि सबै कुरा आफ्नो प्रेमिकालाई बतायो । घृणित भएर परिवारसँग छुट्टिएर बाँच्नुभन्दा बरू सँगै मर्ने बिचार गरे । गाउँकै सबैभन्दा ठुलो भिरबाट हाम फालेर मर्ने योजना बनाए । अब भोलि बिहानै एकै साथ हाम फाल्नुपर्छ भनि छुट्टिए । रातभरि दुवैजना निदाउन सकेनन् । मनमा अनेक कुराहरू खेलिरहे । बिहान भाले बास्न नपाउँदै आँफुलाई सबैभन्दा मनपर्ने लुगा लगाएर केटो सुटुक्क निस्कियो । केटी पनि सिँगारपटार गरेर बेहुली’झैँ सिँगारिएर निस्किई । दुबैजना चौतारामा भेट भएर गाउँको बाटो हुँदै गईरहँदा बाटोमा भेटिएका भुस्याहा कुकुरले पनि गुडबाई गरे’झैँ देखिन्थ्यो ।
दृढ अठोट मनमा लिएर एक अर्काको नाम जप्दै भीरमा पुगे । लगभग भीर २०० मिटर भन्दा बढि नै अग्लो थियो । दुबैले एक अर्कालाई अँगालो हाले धित मरूञ्जेल रोए अनि हाम फाल्न तयार भए । मिरमिरे उज्यालो भई सकेको थियो । को पहिला हाम फाल्ने हानाथाप भयो अन्त्यमा केटोले म पहिले जान्छु, पछि पछि तिमी आउनु भनि मन्द मुस्कायो, केटीको निधारमा चुम्यो अनि हात हल्लाएर बाई भन्दै हाम फाल्यो । यो दृश्य हेर्न नसकी केटीले आँखा चिम्लिई कसैले भनेको सम्झीई (प्रेम अन्धो हुन्छ) अनि फरक्क पछाडी फर्किएर भीरतिर हेर्दै नहेरी हिँडी । उता केटो आधा भीर कटेपछि आफ्नो प्यारासुट खोल्यो अनि जमिनमा बिस्तारै ओर्लिएर ‘प्रेम अमर हुन्छ’ भन्यो अनि घरतिर फर्कियो ।
अनन्त पोखरेल ‘आँसु’
हाल : दोहा, कतार