–सौरभ कार्की
एकछिन पछि जून – खोलाको उपल्लो किनारबाट
पौडदै पौडदै आईपुग्नेछ – मसम्म ।
र साउती मारेर जानेछ – मैले नबुझ्ने कत्ति धेरै कुराहरु – हिजोअस्तिजस्तै ।

म सधै देख्छु
यहाँ रङ्गीन चराहरु – आवाद आवाद उड्छन् – आकाशको देशमा ।
र प्रत्येक साँझ – फर्केपछि आफ्नै गुँडमा – होहल्ला गर्छन ।
उनीहरुको होहल्ला मलाई – सुरिलो धुन जस्तै लाग्छ ।

यही मेची खोला किनारबाट
मस्किदै आयो चिसो बतास
र मलाई रोमाञ्चित लपेटेर गयो ।
सम्झेर हो कि मैले आफ्नी प्रिया
खै गुन्गाए कि कसो एउटा प्रेम गीत ?
एकैछिन त म – मेचीजस्तै सुललिल भएछु ।

हर क्षण फूलहरु मदमस्त – मदहोस् आँखा झिम्क्याउछन् ।
र छर्छन आफ्नो सुगन्ध पर पर सम्म ।
उठी कि क्या हो रातकी रानी – छरेर आफ्नो बास्ना चमेली ?
पल्लो किनार भर्खरै एउटा गुलाफ लजायो ।

माछाहरु प्रेम गर्छन – एकले अर्कालाई
र निर्धक्क गर्छन वारपार – पानीमुनिको देशमा ।
त्यही पानीमाथिको देश
वारपार गर्दै डुङ्गा – मान्छे तारिरहन्छ – अर्को एउटा मान्छे ।

ती माझी दाई
सखारै घाम लिन – पल्लो किनार जान्छन्
र बोकेर ल्याउछन् घामलाई – आफ्नै शिरमाथि ।
घाम – उनको नाउको किनारै किनार – उनीसँगै हिड्छ ।
अबेला ÷ भरे भरे त्यो घाम
माझी दाई र उनको नाउ राताम्मे पारेर – कहाँ लुक्छ कहाँ ?
सधैजसो ÷ भर्खरै पनि एकहुल मान्छेलाई – तारेर पल्लो किनार
फर्किदैछन् माझी दाई ।

म प्राय यही किनारछेउ – चौतारीमा – एकोहोरो टोलाईरहन्छु ।
यदाकदा आफैलाई प्रश्न गर्छु –
कसले को¥यो होला यो मान्छेहरुबिचमा सिमाना – मेची नदीले ?
किन सारिन्छ होला रातारात जङ्गे पिल्लर – बहुलाउछ मेची भनेर ?
किन लगाउँछ मान्छे बन्देज – आफ्नै जस्तो अर्को मनलाई – के थाहा छ कसैलाई ?

सल्काउदै चुरोट – सोचिरहँदा आफ्नै प्रश्न
मैले देखे – देख्दादेख्दै माझी दाई – लगातार खोकिरहे ।
खोक्दाखोक्दै उनले सासै पो खोके कि कसो ?
त्यो नाउ वारी किनार आई नै पुगेन ।
धत्तेरी ! माझीदाईबाहेक अरु कसलाई थाहा होला – घामको ठेगाना ?
अब कसले ल्याउला घाम – भोली फेरी बोकेर ?

के तपाईलाई थाहा छ – मरेपछि मान्छे कहाँ जान्छ होला ?

झुले–४, दोलखा
हाल : बुध्द एयर , चन्द्रगढी , झापा

 
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *