धेरै समयको ताकेता पश्चात् पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यलाई भेट्न हामी मध्यान्ह १२ः४५ बजे हात्तीसार, काठमाड
तपाईंहरुले मसँग भेट गर्नुको अपेक्षा र आफ्नो उद्देश्य सुनाउनुस्, उहाँले अनुरोध गर्नुभयो ।
पर्यटन र पत्रकारिताको माध्यमद्वारा नेपाललाई विश्वमा चिनाउन अब विदेशयात्रामा निस्कन लागेकाले यहाँको सल्लाह, सुझाव लिन आएको, हामीले भन्यौं ।
म समाजसेवी होइन, स्वयंसेवी । म असल मान्छे होइन असल मान्छे बन्न प्रयासरत मान्छे । नेपाल चिनाउने भन्ने कुरा मलाई अमूर्त, अहंकारजन्य र आडम्बरयुक्त कुरा हो जस्तो लाग्छ । देशलाई चिनाउन यसरी भ्रमण गर्नुपर्छ भन्ने मलाई लाग्दैन । हेर्नुहोस्, तपाईंहरुले निकाल्नुभएको यो पुस्तक (नेपाल भ्रमणका ७३० दिन) को प्रत्येक पाना–पानामा नेपालका सम्भावना उजागर भएका छन् । यही किताब र डी.भी.डी. भित्र हजारौं काम र सम्भावना छन् । म क्यान्सर पीडितबाहेक अरु कसैलाई सहयोग गर्दिन । भन्नेले जे भनुन् । केही साइकलयात्री मैले सहयोग नगरेपछि रिसाएर गएकै हुन् । मलाई थाहा भइसक्यो, तपाईंहरु पनि मसँग आर्थिक सहयोग माग्न आउनुभएको हो । उहाँले भन्नुभयो ।
होइन आर्थिक सहयोग, हामी यो यात्रालाई कसरी व्यवस्थित बनाउन सकिएला, यो वृत्तचित्र विश्वभर कसरी देखाउन सकिएला, समग्रमा नेपालको संस्कृति, प्रकृति र पर्यटनको प्रचारप्रसार कसरी हुन सक्ला भन्ने विषयमा यहाँसँग सल्लाह लिन आएका हौं । हामीले भन्यौं ।
त्यसपछि उहाँका धारणा, अनुभव र सुझाव यसरी धाराप्रवाह भएः
म तपाईंहरुलाई २० मिनेट समय उपलब्ध गराउँछु । म जे भन्छु, त्यो गर्छु , जे गर्छु, त्यो भन्छु । तपाईंहरु धनी परिवारको मान्छे त होइन होला ! तपाईंहरुले गरिसकेको कामलाई सानो ठान्नुभएको छ कि क्या हो ? हुन त तपाईं आफ्नो लक्ष्य, उद्देश्यमा स्वतन्त्र हुनुहुन्छ के गर्ने÷नगर्ने भनेर । तपाईंहरु विदेश गएर उतै बस्ने हो भने मेरो भन्नु केही छैन । नत्र तपाईंहरुलाई हेर्दै मैले थाहा पाइसकें, तपाईंहरुसँग शक्ति प्रचुर मात्रामा छ । युवा हुनुहुन्छ । अहिलेका युवा दुव्र्यसनमा फसेर कस्तो हालत छ ! तसर्थः तपाईंभित्र निहीत यो शक्तिको ०.०१ प्रतिशत हिस्सा मात्र पनि अरु युवालाई प्रदान गर्ने हो भने कति प्रगति हुन्छ, हुन्छ । तर विदेशतिर लाग्नुभयो भने तपाईंको यो शक्ति हराउला कि भनेर मलाई चिन्ता लागेको छ ।
हेर्नुस् त, डा. सन्दुक रुइतले मोतियाविन्दुका रोगीलाई उपचार गरेर आफ्नै देशमा ज्योति प्रदान गरिरहेका छन् । जसका कारण नेपाल विश्वमा परिचित भइरहेछ । एन.आर.एन्. संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोे जहाँ भएपनि देशका लागि केही गरिरहेकै छन् । महावीर पुनले अमेरिकाबाट म नेपाल फर्कनुमा कर्ण शाक्यको सोच पुस्तक पढेर हो भनेछन्, मिडियामा भर्खरै । धर्तीपुत्रलाई मेरो किताबले यसरी फर्काउन सक्नु मेरा लागि धेरै खुशीको कुरा हो ।
यो देशमा मेरो आफ्नै संस्कार, संस्कृति र पहिचान छ । म यो देशको मौरी हुँ । मलाई विदेशमा गएर झिंगा भएर बस्नु छैन ।
हामी नेपाली गरिब होइनौं, मुर्ख हौं । आँखा भएर पनि अन्धा छौं । कान भएर पनि बहिरा छौं । मुख भएर पनि लाटा छौं ।
नेपालमै खाँचो छ तपाईंजस्ता युवाको । नत्र नेपाल कसले बचाउने ? नेपालमा के मात्र छैन । विश्वमानचित्रमा नेपालले ०.०१ प्रतिशत भूभाग ओगटे पनि संसारकै ८ प्रतिशत जैविक विविधता नेपालमै छ । विश्वमा पाइने फरक फरक हावापानी नेपालमै छ । जसका कारण विश्वमै फल्ने विभिन्न फलफूल नेपालमा फलाउन फुलाउन सकिन्छ । उदाहरणका लागि अमेरिकामा स्ट्रबेरीको मूल्य १० डलर पर्छ, त्यो फल धनीले मात्र खान्छ । नेपालमा २५ रुपियाँमा पाउँछ, ईच्छा हुने जो कोहीले खान सक्छ । त्यस्तै संसारका जनावर नेपालमा हुर्काउन सकिन्छ । खाँचो छ त हाम्रो आफ्नै ईच्छाशक्ति र कर्मको ।
मेरी श्रीमती र छोरी क्यान्सरले बितेपछि म रोएर मात्र बसिन । अरुको यो अवस्था नहोस् भनेर क्यान्सर अस्पताल स्थापना गरें । कुनै विदेशीले गुडबाई सांग्रिला लेखेपछि नेपाल भ्रमण वर्ष अवधारणा ल्याएर लागि परें । जसले सफलता पनि हात पार्यो ।
सोच, खोज, म सक्छु र मोजजस्ता पुस्तक तपाईंहरुले पढ्नुभएको छ ? अहिलेसम्म सोचको ३० औं संस्करण आईसक्यो । म असनको गल्लीमा जन्मेको नेवार केटा, थर्ड डिभिजन एस.एल.सी. पास । राम्ररी नेपाली लेख्न नजान्ने मान्छे । तैपनि यिनै पुस्तकलाई पाठकले मन पराए, पराइरहेका छन् । साझा प्रकाशनले चर्चित भनिएका लेखकहरुको किताब छाप्छ । बिक्री नभएर त्यत्तिकै सडेर जान्छन् । तर म सामान्य नेपालीले लेखेका पुस्तकको यत्रो माग छ । ममा यति धेरै शक्ति छ भनेर मैले १० वर्षअघि मात्र थाहा पाएँ, जब कि यसअघि म आफूलाई व्यापारी र सामान्य नागरिक सम्झन्थें ।
के तपाईंले यो किताब त्यत्तिकै हावादारी गफले लेख्नुभएको हो ? (फेरी नेपाल भ्रमणका ७३० दिन पुस्तक उचाल्दै) होइन यो त प्रत्यक्ष डूलेर, घुमेर लेख्नुभएको छ । यसको महत्व कति हुन्छ, हुन्छ । म पनि जिरीदेखि डोल्पासम्म पैदलयात्रा गरेको छु । त्यहाँको सुख, दुःख, समस्या र सम्भावनासँग परिचित छु । र त पाठकलाई मनपर्ने पुस्तक लेख्न सकें । मलाई चिन्ता छ तपाईंहरु धेरै खोजेर हराउनु होला भनेर । एउटै खोजी गर्नुस् । विनोवाभावे, रविन्द्रनाथ टैगोर, महात्मा गान्धीजस्ता सात गान्धी चिन्नुस्, जान्नुस् ।
विदेशीहरु सगरमाथामा पुगेर फोहोर संकलन गर्छन् । जसलाई हाम्रा मिडियाले लाज पचाएर ब्यानर न्यूज बनाउँछन् । विदेशी विद्यार्थी हाम्रो देशको कुनै दुर्गम ठाउँमा गएर त्यहाँ स्कूल, स्वास्थ्य संस्था स्थापना गरिदिन्छन् । अनि न उसले आफ्नो देश र आफ्नो पहिचान दिलाउँछ । हामी नेपाली चाहिं अरु देशका मान्छेसँग पैसा मागेर आफ्नो देशलाई विश्वमानचित्रमा चिनाउने सोच राख्छौं । मगन्ते भएर दिएको सन्देश कति प्रभावकारी सन्देश बन्ला ? म छक्क पर्छु । तपाईंहरु विचार पुर्याउनुस् ।
मेरो जीवनको महत्वपूर्ण अनुभवले भन्छ, जे गर्नुपर्छ आफ्नै देशभित्र गर्नुपर्छ । गर्न सजिलो हुन्छ । जराविहीन भइयो भने उद्देश्य र नामबिहीन भइन्छ । उद्देश्यविहीन भइयो भने आफैं हराइन्छ । अनि कसरी चिन्ने आफूलाई ? दुनियाँलाई चिन्न सजिलो छ, आफूलाई चिन्न वास्तवमै गार्हो छ । र त हामी वौद्धिक खलनायकलाई नायक बनाइरहेका छौं । साँच्चैको नायकत्व तपाईंभित्र छ । तपाईंको किताब र कर्मभित्र छ । त्यहाँ अनन्त शक्ति छ । काम केही नगर्ने गफ मात्रै गर्ने व्यक्तिमा नायकत्व कसरी हुन सक्छ ? त्योभन्दा सच्चा नायकत्व त बन्द भएको डोल्पाको सरकारी स्कूल सञ्चालनमा ल्याएर बालबालिकालाई पढाउँदै र उज्यालो जीवन दिदै गरेका कुनै शिक्षकको हुन्छ । खोई हाम्रो समाजमा त्यस्ता व्यक्तिको चर्चा ? चर्चा हुँदैन त्यस्ता सच्चा नायकको । किनकी यहाँ बोल्ने (गाली गर्ने) र लेख्ने (गाली लेख्ने) बढी छन्, कर्म गर्ने नायक कम । त्यसैले खलनायक नायक बने, बनाईए, बनाईयो ।
सम्भावना खोज्न चुनौती मोल्नैपर्छ । किताब पढेर, टी.भी. हेरेर, रेडियो सुनेर अनि पत्रिकामा लेखेर मात्र जीवन जीवन्त बन्दैन । जब जीवन स्थलगत भोगिन्छ, तब मात्रै जीवन जीवन्त बन्छ ।
यात्राको लक्ष्य लिइसक्नुभएको छ भने कर्ण शाक्य, खगेन्द्र संग्रौला वा कसैको पनि सल्लाह नलिनुस् । यत्रो घुमेको, किताब लेखेको तपाईंजस्ता मान्छेले आफ्नो निर्णय आफैं गर्न सक्नुहुन्छ । नत्र अप्ठ्यारो तपाईलाई नै पर्छ ।
म त विश्लेषक मान्छे, प्याट्ट भनिहाल्छु । कहिलेकाहीं कुनै कुनै कुरा नभनेको भए नि हुँदो हो जस्तो लाग्छ । तर लागेको कुरा भनिहाल्छु । नेता भेट्दिनँ, कार्यक्रमहरुमा बोलाउँदा जान्न । हत्तपत्त कसैको फोन उठाउँदिन । फेरी कहिलेकाहीं सोच्छु, म पागल पो भएँ कि ! तर संसारको राम्रो युनिभर्सिटीमा पढेकाले मलाई मेरो बुद्धिप्रति गर्व छ ।
जीवनका यस्ता धेरै भोगाई, सोचाई र गराई सुनाएर उहाँले हाम्रो डायरीमा लेख्नुभयोः
‘सोच्नोस्, खोज्नोस् अनि गर्नोस् । जीवन यही हो ।’
कर्ण शाक्य
यी अनुभव सुनाइरहँदा उहाँ आफैंले हामीलाई दिनुभएको समय २० मिनेटभन्दा धेरै माथि चढिसकेको थियो । जसबाट उहाँलाई नाफा वा नोक्सान के भयो ? हामीलाई चाहिं फाइदा ।
यसैगरी उहाँले ‘नेपाल दर्शन’ डी.भी.डी. विमोचन हुने दिन (२०६९ भदौ २२ को बिहान) म तपाईंहरुको कार्यक्रममा आउन भ्याउँदिन, एउटा डी.भी.डी. लिउँला, मोज भन्ने मेरो पुस्तक पनि दिउँला भनेर फोनमा भन्नुभएको थियो । आज उहाँबाट लिने, दिने केही भएन ।
हुन त किन्नु, नकिन्नु, दिनु, नदिनु उहाँकै मर्जी हो । तर म ‘जे भन्छु, त्यही गर्छु, जे गर्छु, त्यही भन्छु’ भन्ने र यस देशको यति धेरै चिन्तन गर्ने उहाँजस्तो एक आदरणीय व्यक्तित्वले यो आश्वासनलाई भुलिदिनुभयो, भुल्नुभयो वा चाहनु भएन । त्यसैले यस मामिलामा उहाँको सिद्धान्त फेल खाएको देख्दा प्रश्नचिन्ह उहाँप्रति तेर्स्यायौं हामीले, बोलीअनुसार व्यवहार कायम होस् भनेर ।
हामी कामना गर्छौं– जनतामा सकारात्मक सोच र देशमा विकास ल्याउनका लागि सिर्जनात्मक कार्यक्रम नवीन शैलीमा प्रस्तुत गर्ने उहाँजस्तो व्यक्तिको भनाई र गराईमा हामीले एकरुपता देख्न नपाएपनि अरुले देख्न पाउन् ।
विचार र समयका लागि उहाँलाई धेरै–धेरै धन्यवाद ।
२०६९ मंसीर ५