– लक्ष्मीकृष्ण श्रेष्ठ

सगरमाथा शिखरबाट पानी
छाँगा, खोल्सा, नदी नागबेली बग्दै,
कहिले झर्कँदै, कहिले शान्त हुँदै,
सगरमाथामा समाहित हुन्छ
त्यही पानी बादल भएर
सगरमाथा चुम्छ ।
यात्रा !
हो, जीवन्त यात्रा !
म देख्दै छु,
वर्सेनि किशोर किशोरीहरुको लर्को
यात्रा आरम्भ गर्दैछ
उकाली ओराली छिचोल्दै,
एकदिन त सगरमाथा उक्लने आशमा,
हो, शिक्षाको सगरमाथा,
आस्था र विश्वासको सगरमाथा ।
फेदीमा टेक बहादुर दाइ स्वागतद्वार उघारिदिनुहुन्छ,
युवराज भाइ, भीम भाइ निश्छल मुस्कानको लावा अविर छर्दै,
रङ्गीचङ्गी ध्वजा पताका शिखरसम्म टाङ्दै छन्,
गुरु गुरुआमाहरु,
थुम्काहरुमा छरिएर
सत्यम, शिवम, सुन्दरमका मधुर धुन
आत्मियताका भावहरुमा उन्दै,
समर्पणका फूलहरु,
यात्रीहरुको गलामा पहिर्याउँदै हुनुहुम्छ,
म बर्बरिक आँखाबाट च्याउने प्रयत्न गर्दैछु,
पाइलाहरु नलर्खराउन भनेर
एउटा थुम्कामा उभिएर
यात्रीहरुलाई आत्मिवश्वास बाँड्दै हुनुहुन्छ राजेन्द्र सर,
अर्को थुम्कामा उभिएर
होस्टेमा हैँसे मिलाउँदै हुनुहुन्छ पाठक सर,
पाइलाहरु बरालिन्छन कि भनी
सँधै चिन्तित देख्छु चन्द्रमणि सर,
अनिष्ठको अन्धकारले नछोफोस् भनी
उज्यालो छर्दै हुनुहुन्छ प्रभात सर,
यात्रामा कुनै लोदर नलागोस् भनी
सुसँस्कृत मङ्गल गीत गाँउदै हुनुहुन्छ सञ्जय सर,
यात्रामा दुख घटाउँदै सुख जोड्न
विचित्रको जोड घटाउ सिकाउँदै हुनुहुन्छ चित्र सर,
आफ्नो चोट विर्सेर
घाइते यात्रीहरुको चोटमा
मलम पट्टी लाउँदै हुनुहुन्छ सुमित्रा म्याम,
अनि देख्छु,
शिखरमा विजयको माला पहिर्याउन
आतुर कुमार सर ।

म अचम्मै देख्दै छु
शिक्षाको सगरमाथा उक्लेपछि
दीक्षित यात्री स्वयम् सगरमाथा बन्दै छ,
कतै बौद्धिकता भित्र विनम्रताको सगरमाथा,
कतै निराशाको थुप्रो भित्र आशाको सगरमाथा,
यता आत्म विश्वासको सगरमाथा,
उता कर्तव्य भित्र सपर्पणको सगरमाथा,
सुगन्धी हावा बहँदै
जताततै सगरमाथै सगरमाथा ।

धरान । मर्निङ टाइम्स दैनिकः वर्ष ७, अङ्क २०९, मिति २०६६ फागुन १० गते, सोमबार मा प्रकाशित कविता

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *