-तीर्थ संगम राई
आकाश गंगा भरि सेताम्यै फुलेको
बिछट्टै मनमोहक सुनगाभा
दूर क्षितिजमा टल्किएको मिराज
एक जोडि सेतो परेवाको उडान
वायुपंखी घोडा, पुतली
तितिली र मेरी सुनकेसरी

समुन्द्रको लहरझैं तैरिदै गरेको
आकांक्षी लक्ष्य विहिन डोवहरु
खोपिको मधुरो दियालोमा
धपक्कै बलेको स्नग्ध सपना
टल्किएको उनको केसरासी
मुस्कानको निख्खर सुन्दरता
कहिले बगाउँछिन्
सप्तकोशीको भंगालोमा
कहिले डुवाउँछिन्
साल्पा पोखरीको कन्चन पानीमा
पोखिएर साप्सु र दिखुवा हुदै
पछारिन्छिन् राईभाने झरनाबाट

ब्रम्हपुत्र, बंगालको खाडि हुदै
बग्दै बग्दै अनन्त आएर मिसिन्छिन्
ठूलो गोहि झै अरब सागरमा
मेटाउँछिन् आफ्नो अस्तीत्व

टुक्रा टुक्रा पारेर मनहरु
चोक्टा चोक्टा बनाई शरिर
कसैको तृषित आखाँहरुलाई
कसैको यौनिक चाहानाहरुलाई
कति दिन सम्म छरि दिन्छौ ?
पुरुष नाट्यशालाको मन्चमा
धिरोदत्तकी दासी बनेर
मुजरा र खैंजडीको तालमा
ताथैंया ताथैंया गर्दै
कुन युग सम्म ठुम्का लगाउँछौ ?
ओ ! मेरी सुनकेसरी
हाय ! मेरी गुनकेसरी
अकवरी सुन जस्तो तिम्रो जीवन
पुर्णिमाको जून जस्तो तिम्रो यौवन
अलौकिक तिम्रो डिम्ब र बिम्वहरु
यतै कतै छरपस्टिए जस्तो लाग्छ
सम्हाल यौवन, जोगाऊ अस्तीत्व
मेरी कोकुको सुन्दर कथाकी नारी
मेरो बाल्यकालको आदर्श पात्री
अनि यौवनको हृदयकी परि हौ
गहिरो समुन्द्र निलो आकाश मािथ
एक जोडि परेवा, वायुपंखि घोडा
सुन्दर पुतली र तितलीहरु
तिमीलाई उडान भर्न आतुरछन्

पुरुष प्रेमको हृदयमा कुन्जिंएर
क्यानभासमा थलिएकी मोनालिसा झैं
भो प्रदर्शन नगर
जादुमय मुस्कानको प्रतिक
रहस्यमय आँखाको नजर
आँखा चिम्लेर ढुंगा पुजिने
तिम्रो आत्मसम्मान मेटिने
स्त्रीलाई सन्तान उत्पादन
या उपभोग्य बस्तु मानिने
यो सतिको देशमा
तिम्रो के अस्तीत्व छ र ?
कोईली देवी, तारा देवी
स्वर किन्नरी या पासाङ
नाईमा अथवा सुम्निमा
बन्नु पर्छ भन्दिन म
तर बन्नु पर्छ केहि न केहि
जस्ले तिम्रो बेग्लै परिचय बनोस्
पुरुषको नाम पछाडि झुण्डिएको
तिम्रो परिचय भन्दा पृथक
जस्ले तिमीलाई “तिमी”हुनुको
अलग्गै पहिचान दिलाओस्
अनि मात्र
हर्षको सिन्दुरे रथयात्रा
जोडि परेवा, बायुपंखी घोडा
अनि
सुन्दर पुतली या तितिलीको
प्वाँखमा बहकिदै गगन भरी
स्वछन्द हावाको झोका सगैं
बादलको धमिलो आकार भित्र
स्वर्ण केशरासी फर्रफराउँ
प्रेमालाप गर ताराहरु सँग
बरु चुनौति देऊ चन्द्रमालाई
बिजयको झण्डा देखाऊ सूर्यलाई
तब झुल्नेछन् खेतका गह्रा भरी
सुनौला धानका बालाहरु
फुल्नेछन् मरुभूमिमा गुराँस
उड्नेछन् सौर्य मण्डल भरी
एक जोडि परेवा, वायुपंखी घोडा
पुतली, तितिली र मेरी सुनकेसरी

हाल, कतार

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *