मनु लोहोरूङ

सत्ते सत्ते !अब त
तिम्रो बेमेल-भाव नै
मेरो अफिम हुदैछ l
कल्पना भरि
काठे डुंगामा
तिमी संगै
मेरो अरुण तरिरहन्छु l
तिम्रो ढाका टोपीको
मिहिन बुट्टा
आँखाभरी नाच्छ,
घाम पानीमा रमाएको मयुर झैं……

ओहो ! सपना पो कल्पेछु,
मज्जाले गढ़ेछ,
छाती भरि
तिम्रो उधारो माया……..
अफिमको मातले छोडेर
यतिखेर पो झस्किएँ
नमज्जाले !

समर्पणको खर्पनमा
भरि-भरि भावका
लहरे फूलहरु बोकेर
उकालै उकालो हिंड्दा
पसिना त आउँदो रहेछ
म पुछ्दैछु,
मनसँग रुमाल सापटी मागेर !

सोचको दोभानमा
भंगालो भरि
नचाहेरै मनहरु
मनसँग कुस्ती खेल्छन्  l
किन,,,किन…???
म देख्छु, हामी बीच
जिउनुको पाटो छुट्टै हुँदै होइन
उही दिनचर्याको समतलमा छौं l

मात्र हामी फरक छौं
म खोज्छु,
यथार्थ भित्र भाव र भावना
तिमी केवल तितो
यथार्थ मात्र  उराल्छौ
तिमी लम्किएर
टेक्न चाहेको शिखर
उही साईतमा
मैले बालेको शिखा
किन अशुभ हुन्छ ?
बारम्बार अचेल
मनले प्रश्न गर्छ l

निरुत्तर म उकालो चढ्दैछु l
मनको खांङ्ग्रेमा
बिस्मातका सातु-सामल कोचेर
अक्षरहरुमा खुई काढ्दै
शब्दहरुको तोक्मा टेक्दा
थकानहरु मेटिन्छन् ,
बिसौनीमा लम्पसार पर्दा
उभो उक्लेका पदचापहरु देख्छु
शिखर चुम्ने पाउका रहरहरु
एकिभूत भए झैं लाग्छ

भाग्य कुँद्ने ति प्रार्थानहरु
मेरा लागि अबोधगम्य,
कहिल्यै बेसम्भार हुदैनन्
साविक जीवनवृतिबाट
माथि उक्लेको देख्ने रहर
मसंग छदै छैन होला र ?

तर म यतिखेर
जीवनपद्दति नबुझ्ने
पट-मूर्ख भएको छु l
अझै म खेस्रा बाँच्छु,
जीवन बुझ्ने प्रयाशमा
अन्तरआत्म देखि तिम्रै लागि
हजारौं-हजार सुभेच्छा डाकेर !

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *