–डा. सुनुवार डी.बी.
असारेझरी छिनछिनमा रोएर थाकेको जस्तो छ यतिखेर । रगत पिएर टिल्ल परेको जुकाजस्तै पानीको तरल भार बोकेर गाढा बनेको बादललाई कतैकतैका पातलो आवरणलाई प्वाल पारेर पारिलो सुनको रङ्ग विस्कुनझै छरिन्छ कान्ला अनि गराहरूमा बेला–बेला । कलाकार भए प्रकृतिको कुचीले हरियो रङ्ग क्यानभासमा पोतेर यी वन, पाखा, खोला, नाला–खहरेको आकृति पोत्ने थिएँ । तर चुपचाप मौन मुद्रामा बसेको छु म नागार्जुनको थुम्कोमा । वादलहरू तल परेका छन् यतिबेला, तेज गतिमा मज्जाले सुसाइरहेको खहरे खोलाको सङ्गीत सुनेर म आफै झङ्कृत भइरहेको हुन्छु । स्वाँ–स्वाँ, क्यार्र क्यार्र, कुर्र कुर्र भ््mयाउँकीरी कराएको, याँउ–याँउ वनका कीराहरु टिर्र–टिर्र, यी आवाज कुनै आधुनिक सिम्फोनीजस्तो भान हुन्छ । बटुवाको आवतजावत छैन । चकमन्न खालको स्थिति छ यतिखेर । जताततै रनबन फुलेको गुराँस, कतै पलाँसको फूल फुलेको कति मनोरम दृष्य π सबै कुरा छन् यहाँ, सम्पूर्णता प्रदान गरेकी छ प्रकृतिले ।
मेरो कल्पनामा कही डाँफे नाचेको, मुनाल उडेकोछ । कस्तुरी र मृग बुर्कुसी मारेकाछन् । झरनाको सुसेली छ । मन्द–मन्द हावा बहिरहेको छ । म प्राकृतिक सौन्दर्यमा चुर्लुम्म डुविरहेको छु । प्रकृति र ममा प्रेमको रङ्ग गाढा भएछ अञ्जानमै, माया बसेछ । हामीहरू एकआपसमा एकाकार भयौं । हामीलाई अव भूत र भविष्यजस्ता कुनै कु्राको चिन्ता छैन, बस् बर्तमानमा आनन्दित भइरहन्छांै । यो नागार्जुनको फेदीमा चिटिक्क परेको यो गाउँमा यथेष्ट प्राकृतिक स्रोत छ । निर्मल जल, मलिलो माटो, वन बनेलो लहलह, जताततै हरियाली स्वच्छ हावापानी, स्वच्छ, वातावरण, स्वर्ग हो यस समयमा यो स्थान ।
बाल्यकालमा वनपात गएको गढीध्याङ्गँमा छ्याङ्गले आँत रसाएको, रोधीघरमा गाएको कोइलीको स्वरसँग मिल्ने गरी बाँसुरीले हरेक पशुपंक्षीको मन हरेको याद आइरहेको छ । जहाँ रुपीहरू रोइरहेका, काग बिलौना गरिरहेका, फिस्टाहरू नाचिरहेका, कोइलीको कुहु–कुहु स्वरले मालुवाको मन रुवाउँछन् । दिन आज अलि धुम्म छ । यो अँध्यारो अँध्यारोजस्तो, उज्यालो उज्यालोजस्तो, अलि–अलि होसजस्तो अलि–अलि बेहोसजस्तो । केही सोँचिरहेजस्तो, केही खोजिरहेजस्तो कता–कता टोलाइरहेको यो संसारमा खोइ कहाँ हरायो प्रकृतिको अस्तित्व ? खोइ कहाँ हराएँ म ?
हरियो, मलिलो, कलकल, लहलह प्रकृतिलाई नियालिरहेको छु । यहाँका ल्हाक्पा भाइले मेरो बडो ख्याल गर्छ । मलाई प्राकृतिक ठाउँमा रहेर प्राकृतिक कुरामा नै रमाउनु पर्दछ भन्ने उसलाई पनि थाहा छ । मलाई प्रकृति प्रेममा मुग्ध भएको देखेर छक्क पर्छ ऊ । आदरभावले सेवा दिन्छ । कसैलाई थाहा नदिई सुटुक्क आफन्तले बनाएको स्ट्राबेरीको रस चखाउँछ । मलाई हल्का गुलावी रङ्ग खुबै मनपर्छ ।
स्ट्राबेरीको गुलावी रङ्ग नजिकैको गुलावको रातो रङ्गसँग मेल खान्छ । ल्हाक्पा भाइले अनुरोध गर्छ । ‘सर रातोमा कालो मिसाउँ ?’ साथीकी छोरीको बिहेको पार्टीमा एकजनाले त्यस्तै गुलाबी रातो रङ्गको पहिरन लगाएकी थिइन् । तिनको नाउँ पनि प्रकृति नै हो । एउटा प्रकृतिमा हरियो रङ्गको बाहुल्यता छ भने, अर्को प्रकृतिमा गुलाबी रङ्ग, दुबै रङ्गले मलाई औधि आनन्द दिइरहेको छ यतिखेर । कति सुहाएकी, लाग्यो उनको मिलेको शरीरमा त्यो रङ्गको बेग्लै रौनक छ । भुतुक्कै भएर हाम्रो नजर एक अर्कामा नृत्यमग्न छ । हामी अनकण्डिशनल प्रेमिल रङ्गमा डुबेका छौं केही क्षणको लागि ।
हाम्रो अव्यक्त प्रेम झाँगिदै–झाँगिदै, त्यसै–त्यसै एउटा वयस्क सिमलजस्तो हुँदैगएको छ । उनले लगाएको हल्का गुलाबी हल्का रातो रङ्गको पहिरन, थाइकटमा मिलाइएको कपाल, साना–साना आँखा अनि सामान्य वातचितमै लजाउने अनुहारमा भुतुक्कै भएको छु । त्यस क्षणलाई अझैँ सम्झन्छु र सपनाको सागरमा चुर्लुम्मै डुब्छु । म फरक खोज्छु उनको पहिरनको रङ्ग र स्टा«वरीको लोकल रक्सीको रङ्गमा । प्रकृति पे्रमी भएकोले हरियो रङ्ग मेरो अर्को मन पर्ने रङ्गमा पर्छ भने स्टा«बेरी र लाइट गुलाबी हल्का रातो मेरो प्रेमको रङ्ग हो ।
उनका पे्रमिल कथाहरू अनि गीतहरू मलाई खुव मनपर्छ । उनी आफ्नो मनको बह कथा कविताको माध्यमले व्यक्त गर्छिन् । ल्हाक्पा भाइको सत्कारले मलाई क्रमशः रन्काइरहेको थियो । म झन्–झन् प्रेममा डुब्दै गएको थिएँ । हामी प्राकृतिक स्रोतमा धनी भएर पनि अशिक्षाको कारणले आफ्नो शक्ति चिन्न सकिरहेका छैनांै । मलाई यो लागिरहेको छ, हामी नेपाली जन्म जात स्वाभिमानी बीर अनि सम्पन्न छौं । कसले हामीलाई गरीब बनायो ? कस्ले हामीलाई दास बनायो ? यी प्रश्नहरू सोध्दै मलाई फिस्टा र कोइलीहरूले चिलाउने र उत्तिसको बोटमा बसेर घरि–घरि गिज्याइरहेका छन् ।
नेपालका दुई करोड पचहत्तर लाख जनतामध्ये जम्मा पाँच प्रतिशत मात्र सबल छन् र बाँकी सबै अनपढ अबुझ छन् । आफ्नो अधिकार काम कर्तब्य पनि थाहा छैन । हरेक देशभक्तिको भावनाले देशको नाम चम्काउने गरे, म पनि नेपाली र नेपालको नाम चम्काउने काममा सहायक बन्ने छु । शिक्षाको माध्यमबाट स्वास्थ्यको माध्यमबाट हरसम्भव सहयोग गर्ने कोसिस गर्र्नेछु । म मेरो संकल्प हर हालतमा त्याग्ने छुइँन जस्तोसुकै पीर मर्का सहेर पनि म मेरो कर्तव्य सँधै पूरा गरिरहनेछु ।
आफू उठ्नु छ र देशलाई उठाउनु छ । म पीडालाई वैजनी रङ्गमा हेर्न खोज्छु । मर्कालाई गुलाबी रङ्गमा देख्छु । म प्रेमले नेपाल र नेपालीहरूलाई विकास, सुख–समृद्धिको आँखाले हेर्न चाहन्छु । मलाई चराचुरुङ्गीले गिज्याए गिज्याओस् । मलाई हराभराले खिज्याए खिज्याओस् । मलाई यथास्थितिले रोक्नसके रोकोस् । मलाई अभाव, अशिक्षाले छेक्न खोजे खोजोस् । तर म चुनौति दिन्छु, अभाव र अशिक्षाका कालो बादललाई चिर्नको लागि मैले एउटा अभियान छेडेको छु । विजयको उद्घोष भैसकेको छ ।
अब हामीलाई कसैले सानो देश भन्ने छैन । अब कसैले गरिव देश भन्ने छैन । मैले उनीलाई सम्झेँ । उनी त्यस्तै पहिरनमा मुस्कुराइरहेकी थिइन् । मलाई विजयको गीत गाउन मनलाग्यो । मलाई गाउन मनलाग्यो, सुनाउन मनलाग्यो । जीवनको कथा भन्न मनलाग्यो । वादलका थुम्काहरुभन्दा माथि–माथि उडान भरेर । मलाई कुनै सीमा र बन्धनले बाँध्न सक्ने छैन । म चील हुँ । स्वच्छन्द विचरण गर्ने चरा हुँ । म प्रकृतिप्रेमी हँु ।
–खयरमारा, महोत्तरी । हालः काठमाडौं ।
उज्यालो ओड्दै यात्रास्पर्श पुस्तक बाट ।