DR DBडा. सुनुवार डीबी
राजा–महाराजा तथा धनी–मानीहरुले खाने रातो च्याउ गानोदर्मा लुसिडम, हामी सर्वसाधारणले पनि खान पाएका छौं । सन् २००० सालदेखि म आफैं पनि उपभोग गर्दै आफन्त, इस्ट–मित्र, छर–छिमेक र साथीभाईहरुलाई सेवा दिने अवसर पाएको छु । उहाँहरुले रातो च्याउ अर्थात् गानोदर्मा उपभोग गरेपछि राम्रो फाइदा गरेको अनुभव सुन्न पाउँदा आफैं फुर्किन्छु, अहा राम्रै गरिए छ । उहाँहरुले आ–आफ्नो गच्छे अनुसार च्याउका सामानहरु उपभोग गरी रहेका छन् । अनि त के चाहियो । सबै आफान्त, साथीभाईहरुले राम्रो काम गरेको भनेर फुर्काएपछि गानोदर्मा लुसिडम, रातो च्याउको खेतीपाती हेर्न जङ चल्यो । कसरी गरिँदो रहेछ रातो च्याउको व्यवसायिक खेती ? भन्ने खुल्दुलीले सगरमाथा उक्लिन थाली त गो । फेरि म अरुभन्दा अलि फरक छुक्छुके जिज्ञासु न परेँ । हुइँकिएँ, मलेशियाको केदाहतिर गानोदर्माको खेती हेर्न । आमम, कति ठूलो बारी । मैले बारी नै भने, आजकाल फार्म भन्छन् क्यार जे भने पनि खेतीपाती गर्ने थलो खेतबारी नै हो भन्छु । घुमीघुमी मात्र होइन झुमी झुमी, एक एक टिपोट लेखेर रातो च्याउ रोप्ने, उमार्ने, हुर्काने र टिप्ने बारी हेरेँ धित्मरुञ्जेली ।
केदाहको जित्रा, थाइल्याण्डको हाज्याइ सिमाना नजिकै पर्ने बुकितवाङ भन्ने पहाडको एकान्त वनमा करिव ६० एकड क्षेत्रफलमा रातो च्याउको खेती गरिएको रहेछ । बैककबाट पेनाङ हुँदै केदाह पुग्नु पर्ने तर काठमाडौ–बैकक–क्वालालाम्पुर हँुदै हवाइजहाज टिकट भएको हुँदा क्वालालाम्पुरबाट बुकतवाङको बाटो समातेको थेँ । केएलदेखि केदाहसम्मको करिव ७ सय किलो मिटरको यात्रा अति नै आनन्ददायी र रोमान्चक भयो । मलेशियाको वन, पाखा र सडकलाई बनावट र व्यवस्थापन देखेर मन त्यसै त्यसै उरुरु भएको थियो । मन मनै छट्पटी भयो । हाम्रो देशले चिँ किन यस्तो गर्न नसकेको होला । बाटोभरी, हामीले सिक्नु पर्ने धेरै कुरा देखें । र, मन मनै चुक्चुकाएँ पनि ।
केदाह शहरमा एक रात बसियो । अनि बिहानी खाजा बे्रकफास्ट सकिने बित्तिकै हाङ चिङ तेओले करिव ५० मिनेटको बाटो जित्राको बुकितवाङ डोराए । रातो च्याउ, गानोदर्मा लुसिडम खेतीगर्ने ठाउँ पुगियो । फारमको दायाँपट्टिको क्षेत्रबाट कारखानाको मेनेजरले रातो च्याउको व्यावसायिक उत्पादनका तरिकाहरु बताउँदै गए । हामी डा. कर्ण र म सुन्दै अगाडि बढ्यौं । काठ (पाम रुख) को धुलो र धानको भुसलाई मिसाएर स्ट्रेलाइज गर्ने मेसिनमा राखेर अगार्निक फर्टिलाइजर गरिँदोरहेछ ।
फर्टिलाइजर गरेको धुलोलाई बीचमा प्वाल भएको माथिबाट बिर्को लगाउन मिल्ने पोली व्यागमा राखेर हिटिङ च्याम्बरमा करिव ८ घण्टा तताइँदोरहेछ । तताइएको प्याकिङ धुलोलाई जर्म–फ्री स्थानमा रुम टेम्प्रेचर मिलाई थन्काइँदोरहेछ । अनि आवश्यकतानुसार हरित घरभित्र जमीनभन्दा २ फिटमाथि र भित्ताभन्दा २ फिट परको नापमा पोली व्यागहरुलाई झुण्डाई रातो च्याउ गानोदर्मा लुसिडमको वीउ रोपिँनेरहेछ । यसरी हरितगृहमा रोपिएको रातोच्याउलाई ९० दिनमा टिपिँदोरहेछ । तर रातो च्याउ गानोदर्मा माइसेलियमको उत्पादन भने पानीमा वीउ छरेर खेती गरिँदोरहेछ । यो च्याउ भने १८ दिनमै टिप्न तयार हुँदोरहेछ ।
औषधिय गुणयुक्त रातो च्याउलाई डि हाइड्रेड गरेर माइक्रो पाउडर बनाएपछि क्याप्सुलमा मेसिनद्वारा भरिँदोरहेछ । धेरै लामो समयसम्म ताजा राख्न क्याप्सुललाई पुनः अल्ट्राभाइलेट लाइट स्ट्रेरलाइज गरिनेरहेछ । अनि मात्र भरिएको क्याप्सुललाई काउन्टिङ च्याम्बरमा राखि कम्प्युटरबाट वोतलमा भरी सिलबन्दी गरेर व्याच नम्बर, स्पाइर डेट हानिदोरहेछ ।
हरितगृहभित्र पस्दा तोकिएको पोसाक एप्रोन, क्याप, मास्क, ग्लोब, सक्स कम सु लगाएर अवलोकन गर्न पाइनेरहेछ । हरितगृहभन्दा बाहिर आगन्तुकहरुका लागि एउटा छुट्टै नमुना हरितगृह पनि बनाइएको रहेछ, जहाँ उत्पादन गरिएको रातो च्याउलाई छुन, समातेर सेल्फी खिच्न, ओल्टाइपल्टाई राम्ररी हेर्न बुझ्न सकिनेरहेछ । तर त्यस्तो च्याउ खानको लागि प्रयोग गरिँदोरहेनछ । लगाउने साबुन र स्याम्पु बनाउन भने सकिँदोरहेछ ।
करिव १ सय ५० वटा भन्दा बढी रातो च्याउको अलग अलग सामानहरु तयार गरिने मेसिनहरुमा कामदारहरु निरन्तर काम गरीरहेको थिए । अत्याधुनिक प्रविधिबाट तयार पारिएको अर्गानिक गानोदर्मा, सिल्पी कल्चर प्रविधिमा आधारित प्राकृतिक वातावरणमा उत्पादन गरिँदोरहेछ । हामी घुम्न गएको रातो च्याउ खेती गर्ने फर्मले प्राकृतिक वातावरणमा उत्पादन हुने भएको हुँदा नै विभिन्न अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको रहेछ । निर्यात गुणस्तरको लागि प्राप्त प्रमाण पत्र, २४ सै घण्टा निरिक्षण गर्न खुलाका लागि प्रमाण पत्र, विकासशील देशका विशेष औषधि निरिक्षणको लागि टिजीए प्रमाण पत्र, इस्लामिक कम्युनिटीका लागि हलाल प्रमाण पत्र आदि आदि ।
संसारको हरेक देशले एकै प्रकारको गुणस्तरको उत्पादनहरुको प्रयोग गर्न पाउँनु यस्ता प्रमाणपत्रले काम गर्नेरहेछ । परम्परागत व्यवसायमा भारत र चीनबाट नेपाल लगायत विकासोन्मुख मुलुकका लागि भनेर तयार हुने सामानहरुको गुणस्तर फरक, युरोप र अमेरिकाका लागि तयार हुने सामान अर्कै गुणस्तरको उत्पादन गरे जस्तो विशिष्टीकरण गरिँदोरहेन छ । यसैले यहाँको रातो च्याउको माग संसारभरी समानरुपमा बढीरहेको रहेछ ।
रातो च्याउको खेती तथा त्यसबाट बन्ने खाद्य, सौन्दर्य तथा औषधिय उत्पादन हेरेपछि मलाई नेपालमा पनि त्यस्तै खेती गर्न सके देशको मुहार नै परिवर्तन हुन्थ्यो कि भन्ने लाग्यो । किनभने नेपाल त झनै भौगोलिक बनावटको कारण विविध हावापानी भएको मुलुक हो । यहाँ विभिन्न किसिमको जडीबुटी पाइन्छ । हामीसँग जनशक्ति छ, प्रकृतिले वरदान दिएको वातावरण छ, जोश छ जाँगर छ । मात्र आदिवासी जनजाति लगायत स्थानीय जनताको हितानुकूल हुनेगरी राज्यको कृषि तथा प्राकृतिक स्रोत दोहनको ठोस नीति छैन । आर्थिक उन्नतिको लागि स्वदेशी लगाउनीलाई प्रोत्साहन गर्ने सरकारी चरित्र छैन । मलेसियामा जडीबुटीको राजा रातो च्याउ, गानोदर्मा लुसिडमको खेती हेरेपछि आफ्नो देशलाई सम्झेँ ः स्वदेशी लगानीलाई प्रवद्र्धन गर्ने सरकारी नीति बन्यो भने, हामी पनि रातो च्याउको उत्पादन सन्सारलाई पस्किना सक्थ्यौं कि !

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *