जीवनका रङहरु यहाँ
थरि-थरि………
दिमागी फयुज गएर
स्मरण शक्तिहरु स्खलन हुँदा
मेरो गैरी खेतमा
मार्सी धान सप्रिए झैं
चरित्र नंग्याउने खेती हौसिँदो छ l
म मुक दर्शक बनेर हेरिरहन सक्दिन l
त्यसैले,
आफ्नै लाज छोप्न
ऐनासंग गुहार मागिरहेछु l
बरा ! कलमवीरहरु
इर्श्याका रापहरुमा जलेर
मान्छेकै विद्धत्ताबाट
अभिभूत हुँदोछ मान्छे !
आफ्नै शिरास्थीले अँध्यारो मगज
कु/ठाउँ बौद्धिकताको संघारबाट
वाङ्मी-पुत्रको नामले
चेतसंग विद्रोह बोल्दा
स्वबुद्धु विवेकहीन सिक्सिको जीवन जिउँदो छ l
संगोल खुसीहरु रोप्न
नसक्नु(हैन)नचाहनुले
रुखो मगजमा नपुंषक सोंच
सोघा भएर तर्साइ रहेछ l
खबरदार !!! याद राख !
अपिच्य नीति भन्दा
माथि हुन्छ वाङ्मी-पुत्र !
अस्तित्व र पहिचान खोज्ने
बुलन्द नाराको आवाजनेर
साधु र सन्त, महन्त बीच
चोर चक्करको आरोप प्रतिआरोपहरु
लाग्नु/लगाउनु
आफ्नै घरको चार खुट्टेले
मालिकको सामुन्ने
अशोभनीय पुच्छर हलाउनु जस्तै हो l
रिट्ठो-गेडो बिशेषताको खोपडीले
यो माटोमा समाजको नयाँ आकृति
कोर्दैन-कोर्दै कोर्दैन l
डाहा र क्षोभमा
आत्म हवन हुनुले,
व्यक्तित्व जन्माउने प्रसव,
मान्छे-मान्छेमा
चेतका इन्द्रियहरु नाङ्गिदै जानुले
समय-सभ्यता र एकताको
सगरमाथा एकाएक नढलोस् !
कठै नि !
सभ्यताको वस्ती खोज्ने गोताखोरहरु
वाङ्मयको साधनाले चुर
मगज सुन्य भुइँचालो आउदा
सारस्वत प्रतिभा क्वाँ क्वाँ रुन्छ l
सौम्यतामा रणनीति अपनाउन
नसक्ने लाक्षीहरुले
कसरी विचारका लडाईं लडेर
जीवन र जगतको स्वस्ति गाउछौ र ?
पुरातन शैलीमा नयाँ छ त,
केवल शीत युद्ध
वांङ्मयको यो माङ्माया फाँटमा l
“सौताको रिसले पोईको काखमा हग्नु”-ले
सभ्यता हत्या हुन्छ,
इमान नाङ्गिन्छ l
एक्यवद्धको मूलबाटोमै………
संकीर्ण मनको चितामा
आफैलाई जलाएर
वैचारिक प्रदुषण नबनाऊ !
एक्लो हुने डरले
समर्थनको भिख दिन्न/माग्दिन l
दिन दहाडै मृतआत्महरुसंग………
किनकि
म जिउँदो मान्छे हुँ !
म सत्यको कदर गर्छु l
म सत्य बोल्छु l
यो वाङ्मयको चिहानघारी
सार्वभौम हो l बपौती होइन l