दीप्स शाह

माफ गर एन्ना!
धेरै आफ्नै गन्थन लेखेँ,
सपनाका बिपनाका कुरा लेखेँ
तर तिम्रो रहरको कुरै लेखिन
तिम्रो आग्रह पुरा गरिन
तिमीले चाहेजस्तो
हरियो प्रक्रिती
निलो आकाश

सङ्ग्लो पानी
सेतो हिमाल
निर्दोश फूलहरु
केही लेख्दै लेखिन’
प्रकृतिले त दियो
तर स्याहार बिना हराइसकेको
अ/सुन्दर छटाको के बर्णन लेखुँ?!
म त तिमीलाई पठाउने
एक झुप्पा लालिगुराँस खोजिरहेछु।

एन्ना!
यसपाली त झन मैले केही लेख्नै सकिन
मैले हरियो लेखिन
फूल लेखिन
पात लेखिन
उत्ताउलो झरनाको छङ् छङ् लेखिन
बागमतीकै कल्कल लेखिन
बिष्णुमतीलाई त सम्झिँदै सम्झिन
एसो भन मैले लेख्ने साहस नै गरिन,
अब भो नभन मलाई
प्रकृतिको वर्णन गर्न
नगर अब इकोराइटिङका कुरा
र नगर आग्रह इकोक्रीटिसिजम बारे,
मेरो शहरले हरदिन पर्यावरण निल्दैछ
तिम्रो रहरको हरियो भूखण्डको कथा
सायदै म बाट लेखिएला,
अनुहारमा सिमेन्ट पोतेर मेरो शहर
बन्जर हाँसिरहेछ
अब भन प्रदुषित शहरमा उभिएर
म कुन मनले पर्यावरणका कुरा लेखुँ!
म त तिमीलाई उपहार दिन
एउटा हरियो पिपलको पात खोज्दैछु।

मेरो शहरले दिन रात प्रक्रिती निलिरहेको छ
अचेल मेरो सडकको किनारामा
पहिले झैँ निला शिरिष बुरुरुरु झर्दैनन्,
बटुवाको निधार छुँदै
कुनै हरिया पात खस्दैनन्
तिमी पत्याउँछौ?
एउटा बुढो लहरे पिपल ढलेर
दुर्घटना भएको सप्पै दोष
शहरका हरेक रुखमाथि लादियो
उसै दिनदेखि किनाराका
हरिया भएभरका बिरुवा आरा घोटेर काटिँदा
मलाई मुटु उखलेर फालेझैँ भएको थियो
तर,, शहरलाई भएन ,,
उसले त एक एक हरियो निल्दै रह्यो ,,,

छातीमा कङ्क्रिटको जङ्गल बोकेर
खडेरी हाँसिरहेछ मेरो शहर
अब भन ढुङ्गाको छातीमा उभिएर
म कुन शब्दको इकोराइटिङ्ग गरुँ?
म त पत्थरी जङ्गलमा कतै हराइरहेको छु।

यहाँ धुवाँले चोखो हावा निलिरहेको छ
अचेल यता कपाल हल्लाउँदै
सिर्सिरे हावा बत्तिँदैन
पिपलका पात खसाल्दै
बतास डुल्दै डुल्दैन
पर मन्दिरका दियोबाट
पवित्र धूपदीपका सुगन्ध ल्याउँदैन
बतासलाई उछिन्दै धूलाका कणले
नरम गाला खस्र्याउँछ
तिमी पत्याउँछौ??
बर्षमा आधा समय
यही धुलोले मलाई बिमारी उपहार दिन्छ
सारा शहरबासी थलिँदा
मलाई क्वाँ क्वाँ रुनुझैँ हुन्छ
तर यो शहरलाई क्यै हुँदैन
यसलाई कहिल्यै रुन आउँदैन
यसले हरदिन
हिमालबाट आउने पवित्र हावा धुलोसंग साटिरह्यो
र कालो मुस्लो छारो निल्दै ओकल्दै
प्रदुषण मुस्कुराइ रहेछ मेरो शहर
अब भन दुर्गन्ध हावा निलेर
म कुन शब्दले स्वच्छ बतासको गीत लेखुँ?
म त फोहोरको थुप्रो भित्र कतै हराइरहेको छु
माफ गर एन्ना!!
मैले यो पाली पनि
तिम्रो रहरको केही हरियोको कथा लेखिन
तिम्रो अनुरोधको प्रकृतिको केही लेखिन
मलाई माफ गर एन्ना!
मलाई माफ गर!!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *