–शोभा सुनुवार “जुलियट”
तल्ला घरे बकाइँला कहाँ
बोलावट आयो –
“कान्छी ! एक छिन गफ लाउन आउ है,
एक मुठ्ठी तरन अनि एक फाँको छोप खाउँला ।”
हाउ
के होला त नि तरन भनेर
मनमनै गुनेर
मनभरि अटेसमटेस कौतुहल बोकेर
बुरुक्क दुई कान्ला फड्केर
बकाइँलाकहाँ पुगी गएँ –
“आए है, बकाइँला आमाकाइँली ।”
“आइजा कान्छी आइजा
यहाँ बस”
अगुल्टो झोस्दै अगेना छेउ बकाइलाले पिरा ख्लेत्थाउनु भो
तीन तलेमा रिब्दो पार्दै गरेकी आमा काइँलि
भटाभट डिम्मा फोर्दै आग्राह गर्छिन–
“एकै छिन बस है कान्छी ।”
हेर्दै छु एकोहोरो
बकाइँला आमा काइँलीको धन्दापात
तरान पो के होला ?
ग्लोलोबाट विच्केको सोलोल निल्दै
नानीभित्रको रिब्दो
एक चुस्की केवामा लिएर
आगोलाई झिस्क्याउँछिन आमाकाइँलि
“हाउवा” आगो बहुलाउँछ निलो लप्का ओकालेर
र हौसिन्छिन्–
“लो ब्लोत एँ ब्लोत,
रिङने, ला ब्लोशो दुम्मात ।”
सोलोल नसुकी एक डबका रिब्दो
आमाकाइँलिले सार्छिन-
“ल कान्छी एक मुट्ठि तरन पिउनु
पदमचाल, ठूलओक्तो र मसला राखेको छु
खानु ल, एक फाँको छोप काइशिको
सर्दी जान्छ, दुःखेको जीउ बाँध्छ ।”
मेरै लागि यत्रो दुःख !
परेँ बिलिखबन्दमा–
पिउ त तरन
जाने भो प्राण
(रगतको चाप नुम्बुरको चुचुरो टेक्न उकालो चढीरहेछ ।)
नपिउ त तरन
आमाकाँइली बकाइँलाको हुने भो अपमान ।
जेजे पर्ला पर्ला
च्वास्स चुच्चो पार्दै थुतुनो
डबकामा डुबाइ पठाएँ–
ओहो ..!
घाँटी नै चरर कोर्दै
चर्चराउँदै तल तल गयो रिब्दोको राग
चढ्यो उँभो उखुम … उखुम …
चढ्यो उकालो खाँसी
बढ्यो उँभो सास
अनि त
कठै बरि पम्फाको फूल
उखुम उखुमको तालमा
तरनको चर्चराउँदो उधुमको रागमा
छोपको चस्स झस्काउने स्वादमा
स्वैर कल्पनाको सन्सार उधिनेर
नुम्बुरको असिम यादले
गम्लङ्ग अँगालो हाल्न आइपुग्यो
एक किसिमको उर्जा
एक किसिमको आँट
जोश जाँगर र नायकी नेतृत्वपन
र,
फ्याट्ट बोली दिएँ
वर्षौदेखि थाँतिरहेको
कहिल्यै व्यक्त गर्न नसकेको
मनभित्र गुम्सिएर बसेको एउटा जिज्ञासा
आमाकाइँलि बकाइँला !
तरन त तरन भयो
प्राण भनेको चिँ के ?
तरनले प्राण बसाउँछ
कि
प्राणले तरन बसाउँछ ?
के
तरन र प्राण एक अर्काका परिपूरक हुन् ?
जस्तो कि नाम्सि र नुम्बुर !