– मनु लोहोरुङ

कुहिरिलो घुम-पहाड उक्लिंदा
जिन्दगीका गोटा-गन्ती
सप्पै वाग्जालमा परेर
रंग-रंगको भीर देखि लडी मर्दा
दिमागी तरंगहरु कतै छल्किए…..
कतै वाग्विलाशमै सल्किए l
म तिनीहरुलाई कल्प-कल्प,
ब्रम्हचेतको स्नायू-कोषिकाबाट
युगको मीमांसले बटुल्दैछु/निभाउदैछु l 



जीवनका तितरवितर रेखाहरु
अग्रगामी  शृंखलावद्ध भएर
योगाभ्यासमा तेर्सिन्छन् l
यसरी……
कि प्रकृतिको कला=मान्छे
फेरि उही प्रकृतिलाई रंग्याउन
मन,मुटु र मस्तिष्कमा
तूलिका सिउरेर आउँदो छ l
निस्सीम समताका रङले धर्ती पोतिंदा
अमूर्त नयाँ चिउलाहरु बुरुरुरुरुरुरुरुरुरु
उम्रिँदोछन्/उम्रिदैछन्/ उम्रिरहनु पर्छ, अब !


बर्तौलो यो माटोमा
आज सम्मको जीवन=हिउँदको खिर्रोको रुख
जो अस्तित्व जरामा लुकेको थियो/छ l
प्राकृतिक उपज हो,
बसन्तको बहार आउँछ/आउँदैछ l
पलाउँछ/लाग्छ-मुना, पात, फल
उही प्रकृतिका बहुरंगी रुपहरु……
आत्मचेतको गर्भ-गृहबाट दृष्टिपात गर्दा
आहा ! अब जीवन वेगमभेलिया फूल
हाम्रो संयुक्त कुन्ज भरि छप्पकै फुल्दो छ l


मार्फा-रायो जस्तो जोबान……..
समयको ढुङ्ग्रोमा जीवन गुन्द्रुक हुँदा
मनका लाठे साहस, तन्नेरी रहरहरु
जोबान/जीवन/माटोको अस्तित्व  
अझै कहिले सम्म…..???
अमिलिनु/धमिलिनु त !
सम्झौताको सारङबाट चेत झिकेर
मानव अस्तित्वको ऐलानी फाँटमा
श्रीअन्तुको घाम हेर्न/भेट्न
आफैलाई निस्कासित गरौँ है !




शितलपाटी – ६, संखुवासभा

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *