– लारा
आगाका राता फूलहरु
बारुदी अम्बुस
त्रासदीका भयंकर प्रहरहरुमाझ
कप्टेरो निद्रा च्यापेर
आँखाभरि गुज्रन्छन्
जति नै पोते पनि
क्यामोफ्लाज अनुहारभरि
आफैंभित्र छुपाउन नसकेका
त्रासदीहरु
हिजो राति सपनीमा
तक्माहरु झुण्डिएका
फलामे छातिभित्र
भुईंचालो बनेर कम्पन्न हुन्छ ।
त्यो फलामे छातीभरि
देश बोकेर
उ,
सिमान्त
युद्धभूमि बिचोबिच
तैनाथ सिपाही
बारुदी यो आकाशमुनि
चिसो पसिनाले निथ्रुक भिजेको शरिर
साईंलीको भर्रभराउँदो बैंश
आमाको बुढ्यौली चाउरिएको अनुहार
नानीहरुका अबोध मुस्कानहरु
पोख्न नसकेका पींडाहरु
बेस्कन ऐंठन हुन्छ ।
सायः सायः
टाढा टाढासम्म…………
रत्तिभर ताराहरु छैनन्
यो बारुदी आकाशमा
कुन नियतिले डोर्यायो होला ?
ती ताराहरुलाई पनि
जूनसँगै ‘शराणार्थी’ बनेर
ओह्रालै पश्चिम लागेछन्
छिमेकी आकाशतर्फ
बेघर
हजारौं बैंसालु आँसुहरु
हजारौं बुढेशकाल सपनाहरु
पर…………
क्षितिजसम्म
तीनीहरुले कुल्चेर गएका
पाईतालाका डोबहरु………..
उ,
निक्कैबेर घोरिन्छ
सायद
एउटा झिसमिसे बिहानी
साईलीको न्यानो अंगालोसँग
बिछोडिएका प्रेमिल क्षणहरु संझंदै ।
उसका आँखाभरि नाच्छन्
हिजोमात्रै सफाया गरिएका
दुश्मनका क्षतविक्षत शवहरु
प्लाटुनका शहिद कमरेडहरु
को आफन्त, को पराया
भोको पेटका सपनाहरु
एक धसो् आंग ढाक्न
हुकुम शिरमा बोकेर
युद्धमा होमिएका
उ जस्तै सिपाहीहरु
के सरोकार !
राज्य-ब्यवस्था/राज्य विस्तार
या, युद्ध/राजनीतिका रणनितिहरु
बरु,
कर्तब्यका परिधीहरुमाझ
अनकण्टार युद्धभूमिमा बगेका
कमरेडका राता रगतहरु
‘पप्पी’ फूलल्हरु बनेर फूल्छन् कि, फूल्दैन होला ?
छातिभरी देश बोकेर
बीर गोर्खाली हुनुको गर्व
पराया भूमीकालागि
फगत,
तक्माहरु र पेन्सन
बास्तवमा,
के हुन केवल जीवन धान्ने सपना या नियति ?
मान्छेले, मान्छे मार्नु
उ
सिमान्त
युद्धभूमि बिचोबिच
तैनाथ सिपाही
के सोचेर
ती ताराहरुजस्तै
जूनको साथ लागेर
झिसमिसे एउटा बिहानी
घर-देश बोकेर
पर-देश लाग्यो होला ?
(५ जनवरी २०११, लन्डन)
Please follow and like us: