कान्छीको पेट दिनानुदिन चुलिदै थियो । गाउँमा उसकै चर्चाका आँधीबेहोरीहरु
चलिरहेका थिए । गाउँलेहरु प्रत्येक गुट र उपगुटमा विभाजित भएर उसकै
आलोचना गर्नमा अभ्यस्त देखिन्थे । चियापसल, धारामा कान्छीकै विषयमा
छानवीन गरिन्थ्यो जस्तो कि त्यहाँ कुनै अदालती इजलास चलिरहेको होस् ।
जहाँ एउटा अन्त्यहीन बहस चलिरहेको प्रतित हुन्थ्यो । आफ्नो आँखा अगाडि
यस्ता घटित दृश्य देखेर म निक्कै मर्माहित बनेकी थिएँ । साँच्चै, कान्छी
गर्भवति बनेकी थिई । ऊ अविवाहित थिई । कसरी पेट बोक्न सक्छे ? चर्चा
चल्नु स्वभाविक नै  थियो तर कान्छीको आर्तनाद कसले बुझिदिने ?

“बिचरी ! यो लाटीलाई कुन पापीले यस्तो गरिदियो ?”

“आम्मै ! कुन चै पापी होला त्यो ?”



“लाटी त हरामी नै निस्की नी ! रातभरि लोग्नेमान्छेसँग सुत्दीरैछे । के
माया गारि’रा यस्तालाई”

“त्यै त ! झिँगे । रातभरि चर्दै हिँड्दी रैछे ।”

“बिचरीलाई के भनेको त्यस्तो ? अब कसरी बाँच्ली ?”

“कस्तो लाजमर्दो घटना देख्नुपर्छ यी आँखाले ।”

“ह्या ! यस्ती भालुको हाम्लाई के चासो ?”

प्रश्नहरुका रास प्रतिदिन बढ्दो थियो । उनीहरुलाई केही हेक्का थिएन कि
कान्छी कस्तो अवस्थामा गुज्रदै थिई भनेर । कान्छी गाउँलेहरुको कुटिल
व्यवहार देखेर आश्चर्यमा पर्दै थिई । बिचरी उसलाई पनि थाहा थिएन आफूमा
कस्तो प्रकारको शारीरिक परिवर्तन भइरहेको छ ।

–०–०–०–

बाटुलो अनुहार, हिस्सी परेका चेहरा र लोभलाग्दो शरीरको बनावटले निक्कै
राम्री देखिन्थी कान्छी । तर ऊ पूर्णरुपमा ठगिएकी थिई । ऊ बोल्न र सुन्न
सक्तिन थिई । हाम्रो समाजमा यस्तो मान्छेलाई लाटालाटी भन्ने गर्छन् । ऊ
हातको इशाराले आफूलाई संचार गराउथी । आफ्ना भावना र समवेदनाहरु हात र
मुहारको माध्यमबाट सांकेतिक भाषामा व्यक्त गर्ने गर्दथी । यसकारण जोकोही
उसको भाषा बुझ्न असमर्थ हुन्थ्यो । म उनको भाषा सहजै बुझ्न सक्थेँ किनकी
यस्ता महिलाहरुसँग बसेर काम गरेको लामो अनुभव थियो ।

–०–०–०–



म श्रीमान्सँगै एक सरकारी कार्यालयमा लेखापाल भएर काम गर्दै आइरहेकी थिएँ
।  हामी सहरजस्तो गाउँमा बसोबास गर्दथ्यौँ । हाम्री एउटी छोरी
थिइन्–आस्था । उनी भर्खर ४ वर्ष लागेकी थिइन् । सरकारी कार्यालयको काम
यस्तै हो हाम्रो इच्छाअनुसार केही हुदैन थियो । सबै माथिकै आदेशअनुसार
चल्नु पर्दथ्यो । यस्तै परिस्थितिले गर्दा हामी जहाँ सरुवा हुन्छ त्यही
कोठा खोजेर बस्नु पर्ने बाध्यता थियो ।

यस्तो कुरा त सामान्य नै मान्नुपर्छ । यद्यपी यहाँ म अर्को सभ्यता उल्लेख
गर्न गईरहेकी छु । मलाई त्यो गाउँ एकदमै उदेकको लाग्ने गर्दथ्यो । एउटा
सानो कुरा चुहावट भयो भने सारा गाउँ नै फैलिसक्थ्यो । जसरी एउटा सेतो
कपडामा मसी पोखिएर स्वरुप बिग्रन्छ । त्यो एकदमै गन्धा भएर बाहिर आउने
गर्दथ्यो । अधिकांश लोग्नेमान्छेहरु कमाउन खाडीमुलक गएका थिए । गाउँका
आइमाईहरु घरायसी काम गरेपश्चात फुर्सदिला हुन्थे र सबैजना एकै ठाउँ
भेलाभएर गफगाफमा रमाउने गर्दथे । अर्काको कुरा काट्नैमा हर्षित हुन्थे ।
कुराको सत्यता नापतौल नगरिकन हचुवाको भरमा आफ्नो समर्थन र विरोध
जनाइहाल्थे ।

बेलाबेलामा बेतुकको राजनीतिक गफ पनि सुनिन पाइथ्यो । तर्क शक्तिमा बल
नभएका उनीहरु अवास्तविक तथ्यमा कराई रहन्थे । यस्तो फजुल संवाद सुनेर
मेरो  कन्पारो तात्ने गर्दथ्यो । किनकी भान्साबाट ती कुराहरु सहजै कानमा
पर्ने गर्दथे । मलाई थामीनसक्नुको हुन्थ्यो । कैयनचोटि श्रीमानलाई “कस्तो
ठाउँमा सरुवा भयो ।  यहाँको समाजमा हाम्रा बालबच्चाहरु पनि बिग्रने  भए”
भनेर नमीठो पोख्थेँ । वहाँ पनि हैरान भैसक्नुभएको थियो । वहाँका साथीहरु
घरमा भेट्न आएका बेलामा गाउँलेका तीनपाथी कोकशास्त्रका आमाचकारी शब्दहरु
सुनेर फर्कन्थेँ । वहाँ निराश हुँदै भन्नुहुन्थ्यो, “सानु, यो विकट
गाउँमा बस्नु मेरो पनि रहर होइन ? कर्मचारीहरुलाई शान्तिसुरक्षाको
प्रत्याभूति पनि छैन । यहाँबाट बर्हिगमन हुन हाकिमहरुलाई सेवाढोग गरिसकेँ
तर पनि क्यै नहोला जस्तो छ । यहाँ शहर बस्दैछ । विस्तारै सबै ठिक होला नि
! धैर्य गर ।”

–०–०–०–



कान्छी हामी बसेको कोठा सम्मुख खण्डहर जस्तो घरमा बस्ने गर्दथी । त्यो घर
खाली थियो । घरका मालिकहरु थिएनन् । ऊ त्यही आएर बस्न थालेकी थिई ।
जनयुद्धताका माओवादीको विध्वंसबाट आजित भएर उनीहरु बसार्इँ सरेका थिए ।
शान्तिसम्झौता भएपश्चात कब्जा गरिएको घरजग्गा फिर्ता हुने आशले घरमालिक
एकचोटी देखा परेको थियो । तर त्यससमय कान्छीलाई आफ्नो घरमा देखेर
पार्टीले राखेको हो कि भन्ने भ्रमले कुलेलम ठोकेको थियो ।

कान्छीलाई जीवन निर्वाहका लागि कुनै चिन्ता थिएन । ऊ नबोलेरै पीठो बिकाउन
सक्षम थिई । हातको इशाराले, “म तपाईको भाँडा माझिदिन्छु, लुगा धुइदिन्छु
। मलाई एकछाक खाना दिनुहोस्” भनेपछि नाइँ नभन्ने कोही पनि थिएनन् । ऊ
गाउँभरिका चौरासी व्यञ्जनको स्वाद चाख्न पाईहाल्थी ।

–०–०–०–



एकविहान मलाई अफिस जान असाध्यै विलम्ब भैसकेको थियो । बाथरुममा एकआरी
लुगाहरु भिजिरहेका थिए । जुठा भाडावर्तनहरु बाहिर घाममा कट्कटिएको थियो ।
लेखा प्रतिवेदन बनाउँदै थिएँ । छिट्टै तयार गरेर हाकिमलाई पेश गर्नुपर्ने
थियो । उता श्रीमान् सखारै उठेर अफिसतर्फ लाग्नुभएको थियो । फुर्सद भएको
बेला मलाई भान्सामा सघाउनुहुन्थ्यो तर श्रीमान्ले काम गरेको देख्न मनैले
मान्दैनथियो । केही अराउदिन थिएँ वहाँले बुझेरै सहयोग गर्नुहुन्थ्यो ।
विगत महिनादेखि हाम्रो दैनिक क्रियाकलाप अस्तव्यस्त भएका थिए । मलाई अफिस
भ्याउन असाध्यै ढिलो हुन्थ्यो । अझ छोरीलाई स्कूलको लागि तयार पार्दा ११
नै बज्ने गर्दथ्यो । म एक्लैले के–के पो भ्याउनु र ?

म बाहिर निस्किएको बेला उसले “म काम सघाइदिन्छु तपाई मलाई खाना दिनुहोस्”
भनेर इशारा गरेकी थिई । मैले त्यो अनुरोधलाई सहर्ष स्वीकार गरेकी थिएँ ।
मलाई एकप्रकारको देउता मिलेको महसुस भएको थियो ।



ऊ सखारै उठेर मेरो घर आउँथी । म चिया बनाएर श्रीमान् र उसलाई पिलाउथेँ ।
ऊ जुठा भाँडा, मैला परेका तन्ना, सिरक र सिरानीको खोल, हाम्रो मैँला
लुगाफाटाहरु धुने काम सजिलै सम्पन्न गर्दथी । मैले खाना बनाई सक्दा ऊ
सम्पूर्ण काम सकेर छोरीलाई स्कूल जानका लागि ‘रेडी’ बनाइसकेकी हुन्थी ।
मेरो चारवटा हात थपिएकोझैँ भएको थियो । उसको उपस्थितिले विहानीको अखबार
पढ्न समेत भ्याउन थालेकी थिएँ ।

कान्छीले हाम्रो मन जितेकी थिई । कान्छीको अनुपस्थितिमा हाम्रो घर शून्य
हुन्थ्यो । हाम्रो घरको रुपाङ्कन स्वरुपहीन हुन्थ्यो । श्रीमान्को पहलमा
मैले उसलाई महिनाको ४ हजार तलब दिन थालेकी थिएँ । बेलामौकामा मेरा पुराना
धोतीचोली, म्याक्सी र कुर्ता सुरुवालहरु पनि लगाउन दिने गर्दथेँ । हाम्रो
सुक्ष्म सहयोगबाट ऊ हर्षित देखिन्थी ।

उसको दिमागको सरहना गर्नैपर्छ । हामीले मासिक दिएको रकमले उसले आफ्नो
घरमा सामानहरु भर्न थाली । भाडावर्तन र कचौराका सेटहरु किनी ल्याउन थाली
। क्रमागत रुपमा ऊ हाम्रो घरमा खाना खान पनि आउन छाडी । ऊ आफ्नै घरमा
पकाएर मीठोमसिनो खाने गर्दथी । हाम्रा घरमा विशेष परिकार पाक्दाको समय
उसलाई आमन्त्रण गर्ने गर्दथ्यौँ । घरमा आफ्नो लागि खाना नबनाउन र आज
हामीसँगै खान आग्रह गर्दथ्यौँ ।

यसरी कान्छी जीवन सुखदुःख व्यतित गर्दै आइरहेकी थिई । म एकदमै खुशी बनेकी
थिएँ  किनकी उसको मिजासिलो व्यवहार र सहयोगबाट  हाम्रा टाउको दुखाइहरु
सधैँका लागि मत्थर भएका थिए ।

–०–०–०–



म अचम्ममा पर्न थालेकी थिएँ । कान्छीको क्रियाकलापहरुप्रति शंका उब्जिन
थालेको थियो । ऊ दिनानुदिन परिवर्तित हुदैँ गइरहेकी थिई । जसरी मौसम
परिवर्तन हुन्छ । ऊ दुई औँलाको बीचमा अर्को औँलो छिराएर देखाउथी र
“ही..ही..ही” शब्द उच्चारण गरेर अट्टहास रुपले हाँस्ने गर्दथी । यसको
मतलब “तिम्रो श्रीमान्सँगको सहवास कस्तो हुन्छ ?” भन्ने थियो । मैले
पछिमात्र बुझेकी थिएँ । मलाई एकदमै हाँस उठेको थियो । धेरैपटक इशारामा
सम्झाएकी थिएँ, “यस्तो गर्नु फोहारी काम हो । जसलाई पायो त्यसलाई यस्तो
देखाउनु हुन्न । मान्छेले फटाही भन्छन् ।” तर ऊ खै कति बुझ्थी ? अझै पनि
उसको क्रियाकलापमा परिवर्तन आएन । ममाथि  एउटा डर सवार हुन्थ्यो, “कतै
उहाँलाई त यस्तो संकेत गरिन ?” म घण्टौंघण्टा सोच्न बाध्य भएकी थिएँ ।
अखिर यसको मतलव के हो ? आखिर के भन्न चाहिरहेकी छे ऊ ? आफैँलाई लाज लागेर
आउँथ्यो, “छ्या कान्छी ! के गरेकी त्यो ?”

–०–०–०–



कान्छीले पेट बोकेको खबरले गाउँमा झ्याली पिटेको थियो । अथवा, पिटाइएको
थियो । सर्वत्र कान्छीकै चर्चा सुनिन्थ्यो । गाउँलेहरु मलाई भेट्नै
बित्तिकै सोध्ने गर्दथे, “तिम्री कान्छीले त भूँडी बोकिछे नि ? उसको बिहे
कहिले भयो ?”

बिस्तारै गाउँलेहरुले मलाई र कान्छीलाई जोडेर अनेकौं लाच्छनाहरु लगाउन
थाले । मलाई बाटो हिँड्नै मुस्किल पर्न थाल्यो । कान्छी मेरो घरमा काम
गर्ने केटी हो तर यसको मतलब म उसको ठेकेदार त होइन नी ? मान्छेहरुलाई
केही चाहिदैन अरुको पतन गराउन । एउटा याम नै पर्खेर बसेका हुने रहेछन् ।
अनायासै मेरो दिमागले बौद्धिक तर्क गर्न थालेको थियो ।

मैले एनजिओ÷आईएनजिओमा कार्यरत साथीहरुलाई खबर गरेँ । उनीहरु महिला तथा
बालबालिकाका सवालमा रहेर काम गर्ने गर्दथे । तर पनि केही लागेन ।
हरेकपटकको सोधपूछमा ऊ चुप रहन्थी । उसलाई त्यस्तो प्रकारको सवालमा इशाारा
गर्न नै असम्भव थियो ।

–०–०–०–



कान्छीको बारेमा सोचिरहनाले मलाई निद्रा पर्न छोड्यो । श्रीमान्ले
सम्झाउँदै भन्नुहुन्थ्यो, “सानु, कति मन खेलाको ? अब त सुत । क्यै हुन्न
के !” कान्छीलाई आफ्नो ठाउँमा राखेर विश्लेषण गर्छु । हरपल पीडाबोध
भइरहन्छ ।

“मैले प्रथम पटक बलिष्ठ पुरुषको बाहुपासमा समर्पित हुदाँ भएको सुखद पललाई
इन्कार गर्न सकिनँ । मेरा अतृप्त यौनतृष्णा उत्तेजित भएर मूतिवत् भैदिएँ
। मेरा असीम रहरहरुलाई उसले चलायमान गरिदियो । किनकी म पनि चलायमान हुन
चाहन्थेँ  । के मजस्ती लाटी वा शारीरिक अपाङ्गगता भएकाहरुले आफ्ना रहरहरु
दबाएरै राख्नुपर्छ भन्ने नै छ र ? म र अरु स्वास्नीमान्छेमा के चाहिँ फरक
छ र ? के म यौनको सुखभोग गर्न नपाउने ? तसर्थ मैले पोखिदिए जीवनका रङ्गीन
रङ्गहरु । म स्वेच्छाले भँमराको कैदमा परेँ । ऊसँग समर्पित भएँ । चरम
आनन्दको यानमा दौडिएँ । कसले के गर्छ ?” ममाथि कान्छी प्रकट हुन्थी ।
मेरा मनमस्तिष्कले यन्त्रवत् यी वाक्यांशरु अलाप्न थाल्थे । श्रीमान्ले म
त्यसरी बेहोशीमा बर्बराएको सुनेर उठाउनु हुन्थ्यो । म पसिनैपसिनाले
भिजेकी हुन्थेँ । त्यसपछि म निदाउँनै सक्दिन थिएँ ।

आखिर जे भएपनि यसरी उसको अशक्तताको फाइदा उठाउने अधिकार कुनै पनि
पुरुषलाई छैन । को हो त्यो पुरुष ? जसले यस्तो चक्रब्यूहको रचना ग¥यो !
को हो त्यो पुरुषले जसले कान्छीलाई कैदमा पा¥यो ? मेरो हृदय रणभूमिमा
परिणत भयो । पटक–पटक निदाउन प्रयास गरेँ । तर अहँ, आँखाहरु जार्गाम
बसिरहे ।  हरपल यौटा अदृश्य नियतिले डसीरह्यो ।

–०–०–०–



बिस्तारै परिस्थिति सामान्य हुदैँ गयो जसरी तुफानपछि शान्त हुन्छ ।
मान्छेले नियतिलाई कहिले पो रोक्न सक्छ र ? जुन भएर छोड्छ । मैले पनि
हल्का राहतको मुहसुस गरिरहेकी थिएँ । गाउँलेका मुखहरु चुप थिए । कतिञ्जेल
धाँमी भएर बक्न सक्छन् र ! कान्छी दिन गनेर बसिरहेकी थिई । हामीले फेरी
उसलाई सक्दो सहयोग ग¥यौँ । वहाँले पनि मलाई हौस्याइरहनुभयो ।

मैले उसलाई काम लगाउन छोडेँ । उसलाई “यस्तो बेलामा काम गर्नुहुन्न । आराम
गर्नुपर्छ” भनेर सम्झाएकी थिएँ । उसलाई निरन्तर सहयोग गरिरहेँ । घरमा
पाकेका पोषिला भोजनहरु उसको घरमा पु¥याउने गर्दथेँ । गाउँका केही भद्र
महिलाहरुले पनि उनलाई सहयोग  गर्न थाले ।

–०–०–०–



एकरात बाहिर एकदमै चिसो थियो । चिसो हावा चलिरहेको कारण झ्याल ढोका लगाएर
सुतिरहेकी थिएँ । बाहिर भयावह अन्धकार थियो । बाक्लो गरेर ढुस्से
लागिरहेको थियो । मैले एउटा अनौठो चित्कार सुनिरहेकी थिएँ । रात ओसिलो
भएकाले आवाज प्रष्टै चिनिन्थ्यो । कान्छी वेदनामिश्रित आवाजले कराइरहेकी
थिई ।

उसलाई वेथा लागिरहेकोजस्तो देखिन्थ्यो । म तुरुन्तै उसको कटेरातर्फ
हानिएकी थिएँ । उसले लगाएको म्याक्सी रगतपच्छे भएको थियो । मैले तुरुन्त
अनुप्मा दिदीलाई फोन गरेँ । उहाँ आएर सबै समस्याको समाधान भयो । लामो समय
नर्सिङ्ग सेवा गरेको अनुभव थियो वहाँमा । गाउँका अरु महिलाहरु पनि
ग्वारग्वार्ति उसको कटराभित्र पस्न थाले । करिब साढे २ घण्टापछि उसले
एउटा छोरालाई जन्म दिई । छोरा एकदमै गहुँगोरो र मङ्गोलियन वर्णको थियो ।
गाउँमा “लाटीले छोरा पाई” भन्ने खबर कतिखेर फिजिएछ । उसको बच्चा हेर्नेको
भीड थामिनसक्नुको भयो । कान्छी भित्तामा अडेस लागेर सेता दाँत देखाउँदै
हाँसिरहेकी  थिई । उसको अनुहारभरि वात्सल्य प्रेम र ओठभरी सन्तुष्टी
पोतिएको थियो ।

–०–०–०–



ऊ कान्छी नै थिई ! म उसलाई कहाँ बिर्सिन सक्छु र ! अहँ सक्दिन ! हिजो
बाटोमा उसको स्थिति एकदमै भयावह देखेँ । कपाल जथाभावी फिजारेर चिन्नै
नसक्ने मुद्रामा देखिन्थी । उसको कुर्ता ठाउँठाउँमा च्यातिएका थिए ।

कान्छीको छोराभएको हप्तादिनपछि हामी त्यो ठाउँमा नबस्ने निधो ग¥यौँ ।
राजनीतिक दललाई भनसुन गरेर  सरुवा भइ पूर्वाञ्चलको सहर इटहरी आइपुग्यौँ ।
त्यसपछिका दिनमा कान्छी कसरी बसी हामीलाई थाहा भएन । नौलो ठाउँ र कामको
व्यस्तताले त्यतातिर ध्यानै दिइएन । तर म बारम्बार कान्छीलाई सम्झीरहेकी
हुन्थेँ । आजकल घरायसी काम गर्न एउटी दुःख पाकी केटीलाई राखेकी छु । ऊ
विहानभरी मलाई काममा सघाउँछे र दिउँसो स्कूल जान्छे ।

अस्ती काम विशेषले कान्छीको गाउँ गएकी थिए । तर त्यहाँको सम्पूर्ण
वातावरण परिवर्तित भइसकेछ । ऊ बस्ने घरमा ठूल्ठूला विल्डिङ्गहरु
बनिसकेछन् । हामी बसेको त्यो सानो गाउँ यतिखेर सहर बनिसकेछन् । मान्छेहरु
पनि सहरिया बनिसकेछन् । मलाई कसैले पनि चिन्न सकेनन् । त्यहाँका रैनाथे
बासिन्दाहरु सबै बसाईँ सरिसकेछन् । कान्छीको बारेमा सोधपूछ गरे, उसको वतन
पत्ता लगाउन सकिन । कसै–कसैले हामी हिँडेपछि बच्चासहित हिँडेको भन्ने
कुरा मात्र थाहा पाएँ ।

ऊ उसलाई हेरिरहन्छु । ऊ चुपचाप बर्बराइरहन्छे । उसको काखमा छोरा थिएन ।
उसको छोरा खोई ? कसले खोसेर लग्यो ? अब यी प्रश्नका उत्तर कहिल्यै नआउने
भए । उसको स्मृतिपटमा भएको  ‘म’ पनि मेटिइसकेछु । मैले उसलाई एक पुरिया
बिस्कुट र दूध किनेर दिएँ । उसले मेरो बिस्कुट हातबाट बाघले शिकार झम्टीए
जसरी खोसेर खानथाली ।

दूध बिस्कुट एकै सासमा सकेपछि ऊ अर्को चटक देखाउ थाली । आफ्नो च्यातिएको
कुर्ताबाट गुप्ताङ्ग देखाउँदै हातलाई कावा खुवाउन थाली । उसको
गुप्ताङ्गगले च्यातिएको लुगाबाट संसार हेर्दै थियो । केही पुरुषहरु उसको
नजिक भएर बाटो काट्दै थिए । छड्के आँखाले केही देख्न सकिन्छ कि भनेर
गर्वसाथ अन्जापनको ढोङ रच्दै हिँडेको अनुमान लगाउन सकिन्थ्यो । केही
आईमाईहरु चाहिँ आफ्ना पुरुषहरुलाई ऊ भएतर्फ जान नदिई बाटो मोडाएर
हिँडाउथे । मलाई यस्तो लाजमर्दो घटनाको साक्षी हुनुपर्दा लज्जाबोध भयो ।
मैले उसलाई आफूसँग भएको बर्को ओढाइदिएँ तर उसले त्यो बर्कोलाई तुरुन्तै
हटाई । ऊ त्यो बर्कोले आफ्नो लाज ढाँक्न चाहन्न थिई । ऊ समाजलाई मौन
व्यङग्य गर्दै थिई । उसले जीवन र लाजको परिभाषा दिदैँ गरेको प्रतित
हुन्थ्यो । देख्ने सुन्नेले धेरै तरिकाले बुझलान्, तर्क गर्लान् तर मैले
यही आँखाले देखेकी छु कान्छीको जीवन र लाज । समाज विकासको सुरुवात देखि
यसरी नै निर्धाहरु पिल्सिरहेका छन् ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *