-हेमन्त परदेशी
दन्त्यकथाका आधुनिक छुचुन्द्रोहरु बाटो खन्न तयार हुँदैनन्
र त, अरुले रगत र पसिना बगाएर खनेका बाटाहरु काट्न खोज्दा
गुमनाम सिल्टिन्छन् बिचराहरु प्रत्येक अँध्यारा रातहरुमा
कागको फूल चोरेरे आफ्नो बठ्याँईको परिचय दिन्छन् कोइलीहरु
तर जब कागको फूलबाट कागकै बचेरो जन्मिछ
तब आफ्नै र आफू जस्तै संतान नजन्मिनु-को पीडामा
भाव विह्वल बनेर गाउन थाल्छन् उनीहरु कुहू कुहू निर्जन सन्नाटाहरुमा ।
‘हिस्टेरिया’ले ग्रसित कामात्तुर मानसिकताहरु कामसूत्रको महत्व बुझ्दैनन्
र त, अन्धो बनेर हतार हतार सम्भोगमा लीन हुन्छन्
र, चरमोत्कर्षमा नपुग्दै स्खलित हुन्छन् बिचारका यौन समागमहरुमा
तर जब आफ्नै बिर्यदानबाट कुपोषित भ्रुणको गर्भधान हुन्छ
तब बिचरा नपुंसकहरु पुरुषत्व बिनाको आफ्नै यौनावेगलाई धिक्कार्दै
‘एबोर्सन’को लिलामीपत्र बोकेर लुखुर् लुखुर् धाइरहेका हुन्छन्
ग्रास्वाका र माशिकाहरुले चलाएका अबैध मानव बधशालाहरुमा ।
मक्किएका ढोडका थुप्राहरुभित्रका छिचिमिराहरु जीवनको अस्तित्व बुझ्दैनन्
र त, पखेटा पलाउँदा नपलाउँदै आफ्नै धरातल बिर्सन्छन्
र, तँछाड् र मछाड् गर्दै हावामा उड्न थाल्छन् आकाश छुने अन्धोन्मादमा
तर, जब भुईं छोडेको पलभरमै कफला पखेटाहरु भुर्भुरी खस्न थाल्छन्
तब बिचरा छिचिमिराहरु सार्थकता बिनाको आफ्नो जीवनको अर्थबोध नियाल्दै
आफ्नै जीवनको उपहार चढाउन लामबद्ध बनेर ताँती लागिरहेका हुन्छन्
कमिलाहरुको उल्लासमय बिजयोत्सव र प्रीति भोजहरुमा ।
हाल, दोहा, कतार ।