उ एक लघुकथा थियो। उसलाई मजस्तै कुनै लघुकथाकारले लेखेको थियो। उसका मातापिता पनि लघुकथा थिए। उ आफ्ना मातापिताको साथमा एउटा लघुकथा संग्रहभित्र बस्दथ्यो।
लघुकथा संग्रह सबैमाझ प्यारो थियोे। अझ संग्रहभित्रको यो लघुकथालाई सबैले निकै चाख दिएर पढ्थे। प्रायः दिनहुँ राति सुत्ने बेलामा हरेक बाबुआमाले आफ्ना बालबालिकालाई यो लघुकथा सुनाउनै पर्दथ्यो। नत्र केटाकेटी सुत्नै मान्दैनथे। यो प्रिय लघुकथा सुनेर मात्र बच्चाहरु आनन्दले निदाउँथे।
लघुकथा बालबालिकाबीच निकै प्रसिद्ध थियो। लघुकथाका मातापिता आफ्नो प्यारो छोरालाई सबैले माया गरेको देखेर प्रसन्न थिए।
जीवन यसैगरी रमाइलोसँग बितिरहेको थियो तापनि लघुकथालाई आफू लघु भएकोमा लघुताभाष थियोे। ठूलाठूला आकारका उपन्यासका ठेली देखेर खिन्न हुन्थ्यो उ। उ पनि ठूलो आकारको ग्रन्थ बन्न चाहन्थ्यो। उसका मातापिताले उसलाई आफ्नो तुलना अरुसँग नगर, सन्तोष गर्न सिक भनेर बारम्बार सम्झाई रहन्थे।
लघुकथा निकै महत्वाकांक्षी थियो। एक रात उ आफ्नो संग्रहबाट खुसुक्क निस्कियो। आफूलाई बृहत बनाउन सक्ने एउटा ठूलो लेखकको खोजीमा थियो उ। एकजना ठूलो लेखकलाई भेटेर उसले आफूलाई ठूलो औपन्यासिक कृतिमा परिणत गरिदिन अनुरोध गर्यो। लेखकले यो चुनौती स्वीकार गरी उभित्रका सबै सरल शब्दहरू हटायो र त्यसभित्र नयाँनयाँ कठिन शब्दहरु समावेश गरिदियो। अब उ झुसिलकीराबाट पुतलीमा परिणत भए झैं एक मोटो उपन्यासमा रुपान्तरित भइसकेको थियो।
आफ्नो नयाँ स्वरूप देखेर उ निकै प्रसन्न भयो। अब उसलाई विद्वान पाठकहरुले किन्न थाले। तर जोजोले किने उनीहरूले एकपटक मात्र पढेर उसलाई दराजको कुनामा थन्क्याइदिए। उसले कोही आएर आफूलाई झिकोस्, पढोस् भनेर प्रार्थना गर्यो तर मोटो गाताको विशाल पुस्तकको रूपमा दराजमा थन्किरह्यो उ।
अब उसलाई आफ्नो बिगत याद आउन थाल्यो। हरेक दिन बालबालिकाहरुबाट घेरिएर रुचिपूर्वक पढिने गरेको उ आज बडेमानको दराजमा थन्किनु परेको छ। उ निकै पछुताउन थाल्यो। अब बल्ल आफ्नो गलती महसुस भयो उसलाई। उसले बुझ्यो, आकार सानो वा ठूलो हुँदैमा केही फरक पर्दो रहेनछ। कृति समाजको लागि कति उपयोगी हुन सक्यो र त्यसले कति आत्मसन्तुष्टि दियो भन्ने कुरा पो ठूलो हुँदो रहेछ।
s:fb