भोकको संगीत भरेर
जीवनको गीत गाउँदै
कसले बनायो रङहरुको इन्द्रेणी ?
समयको किरिङ्मिरिङ् गोरेटोमा
भेटिन्छन् खडेरीको खेतजस्तो
धाँजा फाटेका किसान—पैताला ।
भोकको आगो निभाउँन
पसिना बगाउँछन् मेरा बा
र, उत्सव मनाउँछन् भोकविरुद्धको जितमा
जूनजस्तै रोटीको निस्तो गाँस सँग
अनुवाद गर्छन् पसिनाका रङहरू ।
थाहा छैन बा लाई
— पृथ्वी कसरी गोलो भयो !
— सगरमाथा अग्लो किन भयो !
— किन हुनुपर्यो नदीलाई गहिरो !
तर, बा लाई थाहा छ
भोकको आयतन र सारङ्गीजस्तो जीवनको लय ।
माटोको सुगन्धसँग प्रेम गरिरहन्छन
लाग्छ यो युगकै महानायक हुन मेरा बा
जुन दिन
सपनाको खेती गर्न
गाउँ छोडेर शहर पसे छोराहरू
जब मन पराउन छाडे
– बाको पसिनाको रङ
– बा को दुखको संसार
तब दुख्न थाल्यो — पहाडजस्तो बाको छात्ती ।
गाउँमा बा
झरनाको सङ्गीत सुन्दै उमार्छन् अस्तित्त्वको बीउ
र बाँच्छन जीन्दगी जस्तै जीन्दगी
रेमिटन्सको अक्करमा झुण्डीएको सपना पालेर
बिउझाउँछन एउटा स्वर्णिम यूगलाई ।
लाग्छ
भोको समयको संवेदना
पसिनाको क्यानभासमा डुब्न अभ्यस्त
बाका कुर्कुच्चा चित्र
प्रदर्शन गरूँ भोटो जात्रामा
र जीवन बुझुन भोकको लय बिर्सदै गएकाहरुले ।
देवकी अभिलाषी ,काठमाडौ