बन्द कोठामा
तिमीहरुका पटक पटकका
धेरै रात्रीका
वैधानिक
अनि सामूहिक
बलात्कारमा पनि
कसैको गर्भधारण गर्न
असमर्थ भएकोमा
म आफैँ धिक्कार्छु
आफैँलाई !मेरो अभिलाशा
तिमीहरुबाट मुहारमा
चमक ल्याउने
अनि मेरो कायापलट गर्नेभन्दा पनि
तिमीहरुको सामूहिक बलात्कारबाटै भए पनि
एउटा सूरवीर सपूत जन्माउने
अन्तिम आशा !हुन त मैले नै हो तिमीहरुलाई पनि
नौ महिना पेटमा बोकी
पटक–पटक प्राणको बाजी लगाई
प्रसवपीडामा रगतको आहालमा पौडी खेलेकी
तर तिमीहरु जन्मँदाका ती प्रत्येक मुहारमा
देखिने कान्तिले मलाई
सारा वेदना बिर्साउथ्यो
अनि लाग्ने गर्थ्यो –
हो साँच्चै नै यसले चाहीँ
मेरो अनि
तिमीहरु जस्तै मेरा अढाइ करोड
सन्ततिको मुहार फेर्नेछ ….
यसरी नै त्यसै त्यसै पुलकित
हुँदा मेरा सगरमाथाबाट बगेका
पयोधारा कोशी, गण्डकी, कर्णाली
अनि मेची र महाकाली
तिमीहरुका ओठमा चुसाउन पुगेकी थिएँ ।
अहिले बनेका छौ उन्मत्त
मेरा तिनै ममता र पोषवर्द्धक तत्वहरुले
जो खनिएको छ मभित्र
ममाथिको पटक–पटकको
वैधानिक बलात्कारमा
तर पनि
हुन सकिनँ म
गर्भवती मैले चाहे जस्तो
केवल एउटा सन्तति जन्माउन ।
हो मलाई अब केवल एउटा सन्तान चाहिएको छ
जसले मेरो चौसठ्ठी मुजा परेको
अनुहारमा कोमल स्पर्स गर्न सकोस्
मेरो धुजाधुजा भएको मनलाई
एउटा सग्लो आकृतिमा बदल्न सकोस्
त्योभन्दा पनि
मेरा अढाइ करोड
सन्ततीको ओठमा
कहिल्यै नओइलाउने मुस्कान
दिन सकोस् ।
त्यसैले म आज
दस औँला जोडी
विन्ती गर्दैछु –
बन्द कोठामा अँधेरी रातमा होइन
मेरो तराइका खुला फाँटमा
सगरमाथाको चुचुरोमा
राराको नीलो पानीमा
पटक–पटक दुखेको कालापानी
अनि सुस्तामा
इलामको सूर्योदयसँगै
कञ्चनपुरको सूर्यास्तबीचको समयमा
पटक–पटकको बलात्कार होइन
आऊ मलाई एक पटक सम्भोग गर !
हो म अर्को नौ महिनाको बाँकी अविधभित्रै
जन्माउन चहान्छु त्यो सन्तान
त्यसैले मेरो मेनोपज हुनु पहिले नै
केवल एक पटक
तिमीहरुकी आमाको आर्तनाद सुन
आऊ मलाई सम्भोग गर !
२०६७ साउन १७ गते राति
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र