– भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’

नरोक,
ती कदमहरु
गन्तव्य आउन बाँकी नै छ
नछोप,
ती आँखाहरु
सृष्टिको फूल
फुल्नै बाँकी छ ।

संसार
स्वप्नद्रष्टाहरुको मात्र हो
संसार
आशावादीहरुको मात्र हो
त्यसैले
स्वप्न देख्न छोड्नु हुन्न
आशा गर्न हार्नु हुन्न  ।

गन्तव्यको अस्तित्व खातिर भए  पनि
कदमहरु, निरन्तर अघि बढ्नुपर्छ
सृष्टिरुपी फूलको
सुन्दर पुष्पवहारको खातिर भए पनि
आँखाहरु, चनाखो रहनुपर्छ
लालायित भाई सौन्दर्यपानतिर  ।

किनभने
गन्तव्य  यात्रा
मात्र स्वप्नद्रष्टाहरुको  हो
साहसी मान्छेहरुको  हो,
सौन्दर्यपान
मात्र  धैर्यवान आशावादीहरुको
सुन्दर  उपलब्धि  हो ।

यो ध्रुवसत्य छ
दिनको  घामजत्तिकै
अवश्य झुक्छन्
कस्तै बिग्नबाधाहरु
दृढताको सामु,
फुल्छन् बेली र चमेली
यत्रतत्र  ढक्कमक्क
मगमगा वासना  छर्दै
कस्तै प्रतिकूलताको सामु,
खाँचो छ दृढ सङ्कल्पको
खाँचो छ दृढ आकाङ्क्षाको ।

बढाऊ
अघि अझ अघि
आफू  र आफ्ना कदमहरुलाई
किनभने
विजय तिम्रो सुनिश्चित  छ ।

प्राप्तिमा
एउटा सुन्दर संसार
तिम्रै पर्खाइमा
तिमीलाई पाउन
व्यग्रताले छट्पटाइरहेछ
जहाँ अन्याय र अत्याचार छैन
जहाँ उँचनीचको भेदभाव  छैन
जहाँ जात र पैसाको आधारमा
मान्छे विभाजित छैनन्
मात्र  मानव  भएको  नाताले
रातो रगतको समानताले
एउटै मानव एउटै जात
धर्मा ‘मानवीयता’
कर्म ‘लगनशीलता’को
एउटै धून, एउटै गीत
र एउटै नारा
गुञ्जन्छन्
मानव मुटुका
स्पन्दनहरुमा
मीठो स्वरलहरीझैँ ।

त्यसैले त
म भन्छु चिच्याएर
नरोक,
ती कदमहरु
नछोप,
ती आँखाहरु
क्षणिक दु:खमा
निराश अनि हताश भएर
किनभने
विजय तिम्रो सुनिश्चित छ ।

काठमाडौँ ।
२०६१ ।१० ।०९

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *