– गोपालप्रसाद रिमाल

नेपाली तिमी यहाँ किन आयौ ?
गो-रखाली हौ,
गो-रक्षाको भार लिई
बढ्दैबढ्दै आयौ ? नेपाली …
तिम्रै गुफा कन्दराहरुमा
देखेथ्यो जगले पहिलो सपना,
तिम्रै बनमा पलेटी कसेर 
सफल भएथ्यो ॠषिहरुको जपना,
पाएथे अन्धजगतमा
बल्दो उज्ज्वल दीप –
के त्यही दीप लिई तिमी
बढ्दै आयौ दुनियाँमा ? नेपाली …
आदर्श झै उच्च,
बिस्तृत बिशाल ह्र्दय झै,
सत्य छुन बढेका,
या सत्यका रुप भै उठेका
मनका लहर झै सुन्दर
हिमालको रुपमा
अमरापुरीको पथ तिम्रै – 
के सबैले स्वर्ग पुगेर
स्वर्गको सुन्दर कहानी भनेर,
फूलको माला लिन
घुम्दै आयौ यहाँ ? नेपाली …
या बिजुलीका कण झै प्राण वरिपरि
पञ्चभूतको आवरण बेह्री 
तिमी बर्सने बादल झै
ओहर्लंदा कर्म-जगतमा,
कुनै बिपरीत हुरीले
फेरो मार्‍यो र पथमा ?
नेपाली …

(शिलाङ, १९९२)

(२०१९ सालमा ‘मदन पुरस्कार’ प्राप्त गोपालप्रसाद रिमालको कबिता संग्रह ‘आमाको सपना’ मा संग्रहित गरिएका उत्कृष्ठहरु मध्येको कबिता ‘प्रश्न’ साथै ५५ बर्षको अल्पायुमै दिवम्गत होइसक्नु भएका आदरणिय स्व. कवि रिमालको दिवम्गत आत्माको चीर शान्तिका निमित्त श्रद्दान्जली स्वरुप)
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *