‘ म अमेजन उकालो बग्छु’ एक सूर्यमुखी फूल र (बहुरंगवादीको प्रतिविधा भेट पनि)

साहित्यमा शक्ति हुन्छ । शक्तिमा विचार । विचारमा दर्शन । दर्शनका तिनै शक्तिशाली अक्षरहरूले  यो ब्रह्माण्डमा परिवर्तन ल्यायो र ल्याउँदै छ पनि। साहित्यले नै सद्गुणी र दुर्गुणी दुवैलाई चेतना दियो ।  अविवेकी भावनाको कुण्ठा च्यात्यो। अलिकति जीवनवादी, विद्रोहीपनको प्रयोगधर्मी, आलोचना खेप्न सक्ने साहस, जिद्दीवादी अर्थात\ इगोवादीको दुष्मनको टार्गेटमा तारो हान्ने साहित्यको खाँचो थियो र त्यसको केही प्रतिशतसम्म समदर्शी काइँलामा यता पाइएको दाबी देखियो, यो कलम  एकछिन यताउता गर्दै यतै घोरियो।

व्यक्तिको रूप र चिनापरिचयभन्दा नयाँ साहित्यिक कलमको उत्थानलाई सधै अमेजन नदी जस्तै विशाल ठान्ने नेपालका प्रखर समालोचक तथा उत्तरआधुनिकवादका व्याख्याता डा. गोविन्दराज भट्टराईको गहन  भूमिकाबाट सुरू गरिएको यो काव्य कृतिमा देखिएका प्रबल पक्षमा सबै कुरा बोधगम्य तवरले समाविष्ट गरिएको भेटिन्छ । त्यसै गरेर युवाराज अर्यालद्द्वारा  लेखिएको भूमिकाको पटाङ्गिनीमा पनि त्यत्तिकै सशक्त र वैचारिक पक्षभावका  स्वरुपीय अन्तरभाव भेट्न सकिन्छ । हुनत, २०६२ साल वशाखमा मोडर्न बुक्सले  “मान्छेको आत्महत्याको जग्गा” कविता संग्रह निकालेबाटै आफ्नो कविताको दह्रो जग हालेका देखिएका यी कवि समदर्शी नेपाली साहित्य परिवेशमा नयाँ अर्थात् काँचो कविको तहमा भने मानिदैनन् ।

पाँचथरको पौवासारताप ७, मा जन्मिका यी समदर्शी काइँलाको ‘म अमेजन उकालो बग्छु’ कविताको किताब ताल्चिखेलका खेलक कवि स्वप्निलले उनका नयाँ कृति ‘सुदूर र सम्झना’ सँगै मुसुमुसु हाँस्दै मेरो छालाको ब्याग (नेपालमा बनेको) भित्र सानो ल्यापटप थियो, त्यतै च्यापे । यो कृति आकारमा सानो ठानेँ । कुरा भएन यसको स्वप्निल सँग। उतै लगेर हेर्छु है लुङ्गा भने । फेरि स्वप्निल मुसुक्क हाँसे।

“हुन्छ दाइ, अरू पनि मेरो कविता लानु होला बेलायततिर भने।

तर मैले उनीको भनाइ पूरा गर्न सकिनँ । हल्का दु:ख लागिरहेछ, ‘सुदूर र सम्झना’ लिने नै छु पछि, यतातिर यी दुवै संग्रहको माग बढिरहेको छ । तर काइँला र संकेतको भने भर्चुअल संसारमा बाहेक भेट हुन सकेको छैन, विचारमा भने फाट्टफुट्ट भेट हुँदै छ । अरू बहुरंगवादी निकटका सबैसँग भेट भयो भन्दा केही फरक नहोला। अब सीधै काव्यतिर छिरौं याने कि ‘म अमेजन उकालो बग्छु’ त्यतैतिर । यो काव्यमा कवि यसरी यी विधागत सिद्धान्तमा बढी देखापरेका छन्:

१.       मानवजीवनको उत्पीडन पीडामा

२.       काव्यचेतना उद्घोष तथा काव्य बौद्धिकतामा

३.       वर्तमान गद्यकविताको विघटनमा

४.       जीवन ईश्वरको आडको पासोमा छैनमा

५.       नवग्लोबलाइजेसन इकोलोगको प्रखर प्रयोगकर्तामा

६.       बहुरंग सिद्धान्तमा लिपिएका प्रतिरंग कवितामा

 

७.       बहुआयामिक सौन्दर्यको खेलक पद्धतिमा

८.       क कसले के के बोले अमेजनभित्र ऊ बेलामा

यी माथिका आठबुँदे कित्ताकाँटमा मात्र नपर्न पनि सक्छन् कविका कविता । यस्तो गर्दा धेरथोर मासुको भागबण्डामा एक-दुई चोक्टा तलमाथि परेझैँ पर्न सक्छन् तर नैसर्गिक हाम्रा चेतना यहीँसम्म ठप्प नरोकिऊन्।

वास्तवमै भन्ने हो भने कविका काव्यको विचार र भावनालाई टिप्पणी, समीक्षा तथा समालोचनाको हिस्साभित्र अटाउन नसकिने भइसकेको कुरो सार्वजनिक गर्न परेन। यो भनेको त्यो संग्रहभित्र देखिएका, भेटिएका- (दर्शन, सिद्धान्त, विचार, चिन्तन) समेटिएका र बुझ्न नसकिएका कुराहररूको सरसर्ती खुलासा गर्नु मात्र हो । टिप्पणी, समीक्षा तथा समालोचनाको कालखण्डपश्चात् लेखक स्वयं उपस्थिति अनिवार्य छ अब। किनकि खेलकको खेलप्रतिको प्रतिसमालोचनाले भेट नखान सक्छ। हो, त्यो बेला खेलक फेरि मैदानमा उत्रिएर पाठकको मनमा खेल्न सक्नुपर्छ भन्ने विषय मैले अगाडि सार्दै आएको छु। अनि तल मैले सोधेको प्रतिप्रश्नहरुको जवाफ लेखकले दिन्छन् जस्तो लाग्दै छ । यसो गर्दा अरू धेरै कुरा बुझ्न सकिनेमा विवाद नहोला। सरलताको नदी बग्ला- अमेजन उकालो बग्छु झैँ।

हामीले विभिन्न हिसाबले कवितालाई पनि मापनताको हिस्साले छेउ कुरो भेट्नुपर्छ भनेका छौं । अब हामीले जे पायो, त्यहीमात्र लेखेर धोद्रो कवितामा समय नफाल्ने भकारी बेरौँ । लेखेपछि जीवन र जगतलाई केही दिन सकोस् भन्यौँ, इन्साफ कोरियोस् भन्यौँ, नातावाद, चाचामामावादको तरङ्गको केन्द्र तोडौं भन्यौँ । हो, यिनै कुरोको प्यास बोकेका कवि यता टड्कारो देखिए- म अमेजन उकालो बग्छुको आङभरि ।

भीरबाट भीरमा यिनीहरूले जीवन भेटे, जहाँ हामी भीर भनेर जहीको तही बस्यौँ, पीरै पीरको रङ्ग भन्यौँ । भीरमा पनि सुन्दरता भेटे अनि जीवनलाई पनि यता भीरै ठानेर व्याख्या गर्नतिर लागे क्रमशः (स्वःस्वप्निल स्मृति, धर्मेन्द्रविक्रम नेम्बाङ, चन्द्रवीर तुम्वापो, प्रकाश विमल, चन्द्र यौङ्या, वियोगी काइँला, विश्वप्रकाश शर्माहरूले)  झन् पछि यता भर्खरै समदर्शी काइँलाले क्वान्टम फिजिक्स र मेटाफिजिक्स- (जुन कविताको पहिलो हरफमा नै छ)लाई नबुझीकन बाँकी कविता बुझिन्न) को हरफबाट अमेजन सुरु गरे र गरे यिनले लामो कविता। हामीले भन्यौँ बहुरंगवादको सिद्धान्तमा गाँसिएर बहुलताको आँगनमा हुर्किएको एउटा भन्नलायकको, छुनलायकको, उत्तरआधुनिकको उपल्लो प्रविधिको हो। हामी भन्छौं, उत्तरआधुनिक त बूढो भइसक्यो । चरम-उत्तरआधुनिकतिर संसार पुगिसक्यो तर नेपाली भने आधुनिकताको नै छेउकुनोमा पुगेका छैनौं, त्यतैतिर छौं। उत्तरआधुनिकवादको मात्र चर्चा परिचर्चा गर्दै छौं निरन्तर । हामी नेपालीहरू भेडाजस्तै भएका छौं । अलि राम्रा कवि, लेखक बन्नेबित्तिकै प्राय: काठमाडौंको रैथाने बन्छौं अनि कवि, लेखक, विद्वान्, समालोचना, पत्रकार, राजनीतिज्ञ, सबै त्यही घेरोभित्रको कार्बनडाइअक्साइड निल्दै  पारिलो घाम ताप्छौं । त्योभन्दा दुर्भाग्य तमाम नेपाली जनतालाई अरू के होला र ? हो, त्यसैले उत्तर आधुनिकवाद र बहुरङ्गवादको सिद्धान्तलाई परिभाषित हैन, परिमार्जित वा तन्काउन साङ्केतिक विचार चाहियो । यसको सैद्धान्तिकको ओखती खोज्दै जाँदा यता ‘ग्रामीण चिन्तनको’ खाँचो देखियो । यो सिद्धान्त बुझेमात्र सबैले आधुनिकको भरेङ चढ्दै उत्तरआधुनिकको परिभाषा बुझ्लान् अनि पो भन्न मिल्ला हामी सबै उत्तरआधुनिकको थाप्लोमा हिँड्दै छौं। यहाँ १० जना हिँडेर मात्र भएन, अलिक धेरैले धेरैलाई नै हिँडाउनु बुझाउनुपर्यो भन्ने हाम्रो अटल जिज्ञासा हो । यसै बखत अर्को छेउको त्यो सुर्कोमा पलाइसकेको छ ‘म अमेजन उकालो बग्छु’ जसले जूनघामको दीप्यमान प्रकाश खोज्दै यता देखा पर्यो आज ।

कविताको लय यसरी सुरु हुन्छ:

क्वान्टम फिजिक्स र मेटाफिजिक्सबाट

जब म चोइटिन्छु

गेस्टाल्ट मनोविज्ञानबाट जब म छुट्टिन्छु

गङ्गा नीलो बग्छुले जब म निलिन्छु

म अब अमेजन नदी भइसकेँ

अमेजन नदी म भइसक्यो ……(पेज नं:१९)

क्वान्टम फिजिक्स र मेटाफिजिक्स अर्थात् जब कवि चोइटिन्छन्, कविका टाउका र शरीर एकातिर पारिन्छन्। त्यसै गरेर गेस्टाल्ट मनोविज्ञान थ्योरीबाट पनि छुट्टिन पुग्छन् । त्यसपछि यी कवि काइँलाले न गङ्गाको पानी नीलो (चोखो) पिउन सक्छन्, न कविकै घुरेनको तमोरमा हरियो (निमुखा) मात्र भएर सीमित हुन्छन्। त्यसैले अमेजन विश्वकै ठूलो नदीमा बग्न पुगे। अझ उकालो यी कवि, तर यो नदीझैँ बग्ने उकालो हैन। यो उकालो त आदिम कालदेखिको वर्तमानसम्मको उत्पीडन हो, मिथककारहरूको आलोचना हो, बदख्वाइँ कपुतहरुलाई सुरीतिको पाठ हैन पथ देखाउनु हो । यहाँ छोडिएका, बेवास्ता गरिएका, भीर र पहरामा मात्र सुकाइएका, निमुखा, निर्धा, जनजीवनको त्यो काव्यिक आवाज हो यो । यो आवाज यस्तो ठूलो छ, संसारकै ठूलो नदी अमेजन र लामो नदी नाइल जस्तैको संज्ञा दिएर अगाडि आएको छ। नदी बेगमा नापिएझैँ कविले यसरी नापिदिए जीवनलाई पनि । कवि फेरि भन्छन्:

थिएँ,  छु-ले पुगिनँ

हुनेछु – का लागि हो यो वैचारिक उद्वेगको वेग,

वेग नदीको

वेग मनको

वेग जीवनको

वेग संचेतनाको

छप्ल्याङ छुप्लुङ पौडी खेल्दै विजिगीषा बग्छु म

(अमेजन ……….पेज नं: २०)

मानिसको जीवनलाई पानीको आवश्यकता छ अनि फेरि ऊ त्यही पानीमा बिलाएझै बिलाउनु पनि पर्छ भन्ने सम्झेका छन् कविले । उन्मुक्तिको गहिरो खाडलबाट निस्कन सक्नुपर्छ भन्ने काव्यिक उद्वेक हो’ बाट थालिएको यो काव्य वर्तमानमा उल्लेख नगरेको पात्रविहीन खण्डकाव्य पनि त हो ।

यस्तो बडेमाको हाँकमा सिद्धान्तको कुम्लो बोकेर तमाम नेपाली पाठकको सामु आउनुलाई सबै पाठकीय मित्र मनहरूले स्वागत गरिरहेका छन् । अनेकतामा एकताले समेट्नु, टुक्रिएर जोड्न सिक्नुको अर्को बाटो खोजेको देखिन्छ कविले यहाँ । कवि मनोवैज्ञानिक सिद्धान्तभित्र पनि त्यत्तिकै तल्लीन रहेको पाइन्छ । उनको विचारमा कविताभित्र विज्ञान पनि त हुन्छ र  हुनुपर्यो भन्छन् यसरी ।

अनेकतामा एकता भेट्नु

टुक्रा टुक्रा टुक्रिएर विपरीत फर्किएको म

लागेको छु, लाग्नुको विचिन्तनबाट

मनिवैज्ञानिक मानो-विज्ञान हुँदै

मनोनविज्ञान, विज्ञान र ज्ञानको नदी

म अमेजन भएर

अमेजनमा भएर …. (पेज नं:२२)

कवि प्रकृतिको विम्ब तेर्स्याएर आफ्ना सिद्धान्त अगाडि सार्दछन् र सारे पनि । त्यसैले यी कविताको हरेक पङ्क्तिहरूमा, अनुच्छेदहरूमा, वाक्यपदक्रममा बहुरूपी छ, बहुअर्थरहित छ, संवाद प्रहार प्रखर भइकन पनि सुविचारको विस्तार मनग्गे छ, दुष्कर्मतिर लाग्नेलाई विद्रोहात्मक पराभव छ । तर  बेहद अप्ठ्यारा शब्द संजालले पाठक सजिलै अल्मलिन सक्नेछन्। कविले आउँदा दिनहरूमा यो पक्षतिर पनि ध्यान दिनु जरुरी देखिन्छ।

अनवरत प्रकृति हाँस्नुपर्छ, अनवरत प्रकृति बाँच्नुपर्छ (पेज नं:५९)

यो नै सर्वस्व छ, यत्तिमै बुझ्नुपर्छ ।

मुख्यत: नेपालमा केन्द्रका साहित्यकारले जसरी गुटबन्दीको तुक लगाउँदै साहित्यिक शीतयुद्ध खेलिरहेका छन्, तिनीहरूलाई पनि  कविले भंग पारिदिएका छन् र भत्काइदिएका छन् । त्यो डायस्पोरिक साहित्यको आँखामा बिझिसकेको र  उनीहरूले पनि बाक्लै महसुस गरेको नौलो कुरो पनि त नहुन सक्छ ।

पिट्दै गह्रुंगो गिदीलाई ऐन्द्रिक साञ्चेतनिक मुङ्ग्रोले

पछाडिबाट ताकेर केन्द्रमा विकेन्द्र पार्नु (पेज नं:४९)

यहाँ कविले भने जीवन र जगतको मूल्य मान्यता र आदिम कालदेखि वर्तमानसम्मको मनभित्र उम्रिएका काँडाहरूलाई सबैको मनभरी बिछ्याइदिए। अब भन्नुस्, त्यो काँडाले कसलाई नकोर्ला र ? कसलाई नघोच्ला ? हाम्रा बाटाहरू सबै काँडैकाँडाले ढाकेका छन्। यसरी कविले परम्परावादी, यथास्थितिवादी र निरंकुशताको चलखेललाई विघटनवादले मजाले पेलेका छन् । फेरि उता ‘ अमेजन उकालो बग्छु ’ एमफिलको तहमा बौद्धिकता र दर्शनको सन्दर्भ कोर्समा यसले बौद्धिक स्वीकृति पाउनुले पनि तमाम पाठकको यो संग्रहप्रति खोजतलास बढ्नुलाई हामीले आश्चर्य मानेनौं । मलाई घत परेको कवितांश हेरौं :

स्व-स्वायत्ततासाथ जीवन खेल्न पाउँछ

गोहीहरू, अक्टोपसहरू

र हिंसक सामुद्रिक जनावरहरू हो

अब मान्छेलाई निल्न पाउनेछैन

बलियाँ निरंकुश बादशाहहरूलाई बगाउँदै

एउटा परम्परा भत्काउन

यथास्थितिको वर्तमानलाई फोर्न

विघटनवाद मजाले खेल (पेज नं:२६)

यसरी कवि यथास्थिति विघटनवादलाई कुल्चिदै ढुंगाका मूर्तिलाई लत्याउँदै अगाडि बढ्छन् ।

ईश्वरको मृत्युको घोषणा गर्दछन्, मन्दिर, कुटी, मस्जिद, चर्च र देवीथानहरू भत्काइदिन्छन् र बन्धन मुक्त बनाइदिन्छन् र जीवन ईश्वरको पानफूल हैन पनि भनेका छन् यसरी ।

तिमीले भनेजस्तो;

–    जीवन ईश्वरको पानफूल होइन रहेछ

–    हुनसक्छ ईश्वरको अन्तिम मृत्युको घोषणा

मैले गर्दै छु

–    भत्काएर गुम्बा, मन्दिर, चर्च, कुटी

मस्जिद र देवीथानहरू

यौटा फराकिलो प्रयोगशाला मात्र बनाउनुपर्छ

–    म बन्दै छु कलियुगको जुवा

अ-व्यक्तिहरु जो जो देवीथान र गुफामा बन्धित छन्,लाई बन्धनमुक्त गराएर

डरलाग्दो आध्यात्मिक सिम्मोमबाट बचाएर

वाइल्डवादीको अर्को आविष्कारमा पुर्याउनु छ। (पेज नं: ३२,३७, ४१, ४३)

अब यो काव्यको मुहान अमेजनतिर उत्रौं, जहाँ बहुरङ्गको सुवासना छ । यो कविता कृतिको केन्द्र छिचोल्नु बहुरङ्गीय नेपाली साहित्य बुझ्नु पनि आवश्यक ठाने मैले, जहाँ कवि आदिम कालसँग जोडिएर दुख्छन्, विसङ्गतिको मोटाइसँग भक्कानिन्छन्, विभिन्न सौन्दर्यको खेलभित्र खेलेका छन्, जस्तै: बहुल जाति र जातीयताको सम्पूर्ण  खेल, दलित, सवाल्टर्न, समावेशी, बहुरंगको जगत र जीवनको संरचना, एकता मात्र हैन अनेकताका कुरो आदि बुझ्नु पनि अब टड्कारो रूपले देखा परेको छ ।  कविले धेरै ठाउँमा रंगका कुरा पोखेका छन् । कविताका वाक्यांशहरूमा रंगसम्बन्धी बोलेका छन्।

म म जस्तै भएर बाँच्न खोजेँ

खोज्दा –

रङ्गको निर्मित्त

अन्तरिम सान्निध्यतावाद चाहिएको छ

कारण समानताजस्तो असमानता

समानान्तरजस्तो, विपरीतजस्तो

विचारहरूको एकमुष्ट अधिरोहण उभौली बगाई ।(पेज नं: ५२)

मेरो दिग्भ्रमित मगजको कुनोमा फेरि प्रश्न तेर्सिन्छ, काइँलाले यो अमेजन नै किन राखे कविताको बोक्रोमाथि नाम ? ठूलो प्रश्न हो यो ? नदी अमेजन दक्षिण अमेरिकाको करङमाथि पग्लिदै ब्राजिल, कोलम्बिया र पेरु हुँदै उर्लिंदै खसिरहेछ एटलान्टिक महासागरको  तिरैतिर । अनि कविले इन्द्रावती, तमोर, त्रिशूली जे भए पनि एकदिन कविले  ती ठूलै नदीहरूसँग भेट्ने वाचा गरेका छन्, भिड्ने संकल्प गरेका छन्, लडेर नयाँ संसारको परिकल्पना गरेका छन्, काव्य हस्तकार बनेका छन्, त्यसो त पाठकले कवि काइँलाको ‘म अमेजन उकालो बग्छु’ लाई एक काव्यिक दस्तावेज नै ठानेका छन् । अब हेरौं केही हरफ जुन भावभूमि भयानक छ, बोधगम्य छ कविको ।

म किन त्रिशूली बगिन

म किन इन्द्रावती बगिन

म किन कर्णाली र मेची बगिन

म किन बगें अमेजन ??????

उत्तरमा ‘म’लाई भेट्दा

धर्तीमा कहीँ अमेजन र त्रिशूलीको भेट हुन्छ्ले (पेज नं:२७/ २८)

म पनि  तिनै माथिका हरफहरूले चित्त बुझाउँछु यतिखेर ।

हेरौं अब अमेजन भित्र क-कसले के बोलेछन् ?

 

१.       धर्मेन्द्रले बोले – अमेजन लामो, अमेजन पानीमा जीवन राखेर असमानताबीचको  समानताबाट हेर्ने दृष्टिकोणमा अदल-बदल गरिएको छ, समानताबीचको असमानताबाट देखिएको छ।

२.       प्रकाशकीयले बोले – सामान्य बहुरंगवादका प्रारम्भकर्तामध्ये एक काइँला कवि र चिन्तक पनि हुन्।

३.       डा. गोविन्दराजले बोले – फेरि पनि समदर्शीको काव्यमाथि लेख्नु गाह्रो छ।

यो कृतिअघि पढिएकाभन्दा भिन्न नेपाली कवितामा विचार पक्षको प्रबलता लिएर आएको   छ।

४.       युवराजले बोले – नदीसँगको बिलाएमा कवि आफूभित्र प्रतिरंग संस्कृति निर्माण गर्न ऊर्जा मिलेको आभास गर्छन्।

५.       डा. सञ्जीवले बोले – राष्ट्रहरुका सीमा छिचोल्दै, मानवता र सहअस्तित्वको कुरा गर्दै, ..परम्परालाई विस्थापन गर्दै, ……समदर्शी बगिरहन्छन् उभो उभो।

६.       कवि-खेलकले बोले- हो, युद्धलाई युद्धले नै मार्न सकिन्छ, म यस्तो अन्तिम बौद्धिक युद्ध लड्न चाहन्छु।

 

सुरुमै भनेको छु मैले यहाँ लेखिएका सबै कविताका हरफहरुको सारांश कोरियो भने धेरै पाना हुनेछ । यो काव्यको मूल विषय भाव बुझाइ त्रिकोणीय दृष्टि गोचरले हेरिने भएकाले त्यो मजा लिन तब सकिनेछ जब अमेजनको काव्यिक उकालो चढिनेछ ।

अन्त्यमा, यो कृतिभित्र धेरै अंग्रेजी शब्द समावेश गरिएकाले कविता बुझ्ने मै हुँ  भन्ने पण्डितहरूलाई पनि धौ धौ पर्नेछ । झस्काको  सुइरोले घोच्नेछ । एउटा शब्दको नै विशाल अर्थ लाग्ने र त्यो बुझ्नु पनि पर्ने भएकाले साधारण पाठकवर्गलाई पनि टक्क रोकाउनेछ, टोलाउन लगाउनेछ, औधी बोर लाग्नेछ तर पनि साढे बीस पानाको कविता पनि पढेर नसक्नु अर्कै कुरो हुन सक्ला। एउटा कुरा लेखकले अंग्रेजी शब्दहरूलाई किताबको पुछारमा लगेर छोटो व्याख्या गरिदिए हाम्रा रामेछाप र ताप्लेजुङका साथीहरु लगायत तमाम ग्रामीण साहित्य अनुरागीले पनि झ्वाट्टै बुझ्थे होलान् । जस्तै: क्वान्टम फिजिक्स, मेटाफिजिक्स, गेस्टाल, मणि विज्ञान, सबाल्टर्न, अगोस्फियर, एन्टोम,१९९F, एस्टोराइड, डिफराँश, ३ डी र अरू थुप्रै शब्दहरू जोकोही पाठकले सजिलै बुज्ने सीमा र क्षमताभन्दा माथिको कुरो पर्यो । शब्दहरू धेरै दोहोरिएका छन्, कवितामा  एउटै शब्दहरू बारम्बार दोहोरिँदा राम्रो देखिन्न। (यो सम्बन्धी कविको विचार के छ, पुछारमा भनिदिनुहोला) ।

भाषामा हामी धेरथोर आफ्नै पारामा घन्किन्छौँ,  तैपनि दोस्रो संशोधनसम्म आइपुग्दा निखारिनुपर्ला भने मैले भाषामा। ह्रस्व दीर्घको मान्यताको कुरोभन्दा पनि प्रस्ट शब्दको खाँचोको अपरिहार्य बिर्सनु हुन्न हामीले । जस्तै पेज नम्बर : ३४ मा एक टाउँमा नभएर एक ठाउँमा, टेबिलमा नभएर टेबल अर्थात् टेबुल भए राम्रो लाग्थ्यो । अरू धेरै छन् बाँकी लेखक स्वयंले नै पहिल्याउनु होला भन्ने सल्लाह दिएँ।

४५ x ६७ सेन्टिमिटरको चिटिक्क परेको आकारमा जन्मेको यो काव्यका जम्मा कभर सहित ८० पेजको हो भन्न मिल्छ । मूल्य: १००, प्रकाशक: ओरिएन्टल पब्लिकेसन, आवरण: लिङदम ला:भुन लिम्बु, मुद्रण: शुभदृष्टि छापाखानाले जिम्मा लिएको देखियो भने ISBN:789937825191 हो ।

आज भने म पनि कवि काइँलाकै कविताको भाका हाल्दै बिदा माग्छु

आऔं, हामी सबै बगौं !

अमेजन भएर उकालै उकालो

रंङ्गीता भेट्दै, मान्छे भेट्दै

भेट्दै सग्लो व्यक्तिसँगको व्यक्ति बाँचौं !

अमेजन बाँचौं ! बाँचौं

अवधारणा बाँचौं !

अनेकार्थाता बाँचौं  !

अनन्त बाँचौं ! (पेज नं:५७)

मैले पनि भने यहाँनेर….

(जदौ कवि काइँला यसरी नै बाँचौं) ! फेब्रुअरी ३ तारिख २०१२ साल-काबुल

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *