नाइल नदिको फेदमा

सेतो हुचिलहरुले कफिहरुलाई

धारिलो नंग्राले छिथोरे

तिखो ठुँटहरुले ठुंगे

कफिहरुलाई विभाजित गरिदिए

कफिका रसहरु सक्दो चुसे

कफिहरु सुकेर च्याप्टो भए

अन्ततः विभाजित कफिहरुले

आफ्नै भूमिमा आफुलाई नै शासन गर्ने

सेता हुचिलहरुलाई लघारे

कफिहरु

कोहि शहर र गाउँमा फर्के

कोहि जंगलमा पसे

कोहि अरुको भुमिमा उम्रिन थाले

अब कफिहरुले कफिहरुमाथि

दमन शुरु गरे

चरम उत्कर्षमा पुग्दासम्म पनि रोकिएन

बरु अझ तिब्र रुपमा अघिवढिरहयो

पराहिको दमन भन्दा आफ्नैको थिचोमिचो

अझ पिडादायी हुँदै गयो ।

 

अत्यचारको विरुद्धमा

जंगलमा वाँचेका कफिहरु

अरुको भुमिमा उम्रिएका कफिहरु

न्युँङग्वेको जंगलमा कडा अभ्यासमा जुटिरहे

अन्तिम निर्णयको लडाईमा जुटे

त्यसरी कफिहरु केन्द्रतिर होम्मीएकै बेला

किगालीको आकाशले

एउटा दमनकारी कफिका वोटलाई निलिदिए

तदपस्चात

भिरुँगा हिमालहरु लाभा रुनु थियो, रोयो

कारिसिम्बी पहाडहरु पग्लिएर रुनु थियो, उ पनि बेस्कन रोयो

कसैले देखेनन् उनीहरु रोएको

कसैले सुनेनन् उनीहरुको चित्कार

कफिहरु समेतले सुनेनन् ।

 

कफिहरु

गिसेन्यीमा भक्काभक काटिन थाले

रुहेग्गरीमा बलात्कृत हुन थाले

ब्युम्बाका चर्चभित्र ग्रनेडसंगै पड्किन थाले

किबुयेमा जिउँदै जलाइन थाले

गितारामा पानीमा डुवाएर मारिन थाले

किगालीमा कफिहरुले निरिह कफिहरुको छाला काड्न थाले

किबुँग्गोका कफिहरु लुक्दालुक्दै पनि झिरमा उनिन थाले

च्याङगुगुका मस्जिद भित्रै आगोमा जलिन थाले

किकोङगोरोका पहाडहरुमा अन्धाधुन्दा गोलीका सिकार हुन थाले

बुतारेमा भाग्दाभाग्दै पासोमा पारिन थाले

कोमल अनि श्रमजिवि कफिहरु

वाँच्ने अधिकारवाट पुर्णरुपमा बन्चित भए ।

 

कफिहरुका रगत र आँसुले

न्याबारोङगो निलोवाट रातोमा परिणत भएर

रत्ताम्मे अनि अमिलो भयो

(आ)कागरा नदिसतहमाथि

कफिहरुहरु छपक्क तइरिएर चिर निन्द्रा सुते

रुबुबुमा असंख्य कफिहरु बगे

रुजिजिले पनि त्यत्तिकै कफिका वोटहरु वगाए

अप्रिल फुलको अर्को सातादेखि

सयदिन नवित्दै

आठलाख कफिका वुट्टाहरु

रुकुमो झरनावाट खस्दै

किबु र भिक्टोरिया तालहरुमा

अटिनअटि खातकाखात लागेर छपक्क सुते

थुप्रै कफिहरु जिउनुको वोझ वोकेर

लामालस्कर लागेर सिमाना पारी पुगे ।

 

ल्याल्ड अफ थाउजण्ड हिल्स्ले

विश्व सम्यतालाई

बदनाम गरायो, गिज्यायो

निरर्थक, अर्थहिन लडाईले

सैयौं कफिका मुनाहरु खुल्ला अकाशमा

कुहिएर गन्हाउनु पर्‍यो

सेतो हुचिलहरु नाख वन्द गरेर

आँखा खोलेर रमिता हेरेर बसे ।

 

हो, आज मेरो देश

किगालीका कफिहरुको दर्दनाक गन्ध गनाउन चाहिरहेछ

कफिहरुको रगत र आँसुले निथ्रुक्क भिजेका

किगाली भएर भिज्न खोजिरहेको छ

हो, सांच्चै नै नमिठोसंग म मेरो भूमिमा

कफिका दुर्गन्ध सुंघिरहेको छु ।

 

चरम पिडावोधको स्मरणसंगै छटपटिरहेको

ओ, किगाली !

तिमीसित मेरो एउटा अनुरोध छ –

मरो अलाइची र यार्सागुम्वाहरुलाई

मेरो पहाड, हिमाल र तराईहरुलाई

मेरो चियाका बगानहरुलाई

विउँझाइदेउ र भनिदेउ

कफिका गन्ध नगनाइदेउ भनेर ।

saabahaar from FB

(२४ डिसेम्बर २०१२, फार्नवोरो)

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *