१ सेप्टेम्बेर २०१३ देखिका मुक्तकहरु

 

कोहि देश त कोहि सबै सत्ता टुक्र्याउन पर्छ भन्छन्,

कोहि संघ त कोहि सबै संस्था टुक्र्याउन पर्छ भन्छन्,

कुर्ची को मोह, खै किन यति लाग्छ मान्छे लाइ अचेल,

आफूले नपाए पुरै ब्यबस्था टुक्र्याउन पर्छ भन्छन्!

जति सुकै दवाव आओस्, छैन जवाफ मेरो,

कहीं कतै देखाउँ भने, छैन रवाफ मेरो,

गुज्रेकै छ जिन्दगि को, रथ जेन तेन,

छाक आखिर, टरेकै छ, छैन कवाफ मेरो!

खौलो तार्ने खूबी छैन, पुल बनाएर,

औलो टार्ने रुची छैन, झुल बनाएर,

थोत्रा गाला टुंडिखेलमा, बजाएर हुन्न,

बेरोजगारलाई भ्रस्ट पारी, हुल बनाएर!

कतै लगाम लगाएका, एकोहोरा घोडा जस्ता भेटिन्छन्,

कतै एक रति पनि दिमाग नभएका, सस्ता भेटिन्छन्,

प्रकृतिले ठगेकाको के कुरा, कति पोसिएकै छन् अचम्म,

कुवा नै ब्रम्हाण्ड ठान्ने, ओहो कस्ता कस्ता भेटिन्छन्!

सबैलाई बाह्र बज्दा, उसलाई पनि बाह्रै बज्थ्यो,

मान्छे नै हो आखिर उ, उसलाई पनि साह्रै पर्थ्यो,

तालि लाए सबै मान्छे, चुचुरोमा उसलाई देख्दा,

तिनले जस्तै गर्या भए, उसलाई पनि गाह्रै पर्थ्यो!

अवसर कहिल्यै नपाएर, रुने हरु उत्तिकै छन्,

पाएको अवसर बाट, हात धुने हरु उत्तिकै छन्,

आफ्नै जीवन, आफ्नै खुशी, भन्छन् सबै मान्छे अचेल,

कुवेर बाट जोगी, जोगी बाट कुबेर, हुने हरु उत्तिकै छन्!

जीवन यस्तै हो, भन्थ्यौ कसैले हँसाउँछ, कसैले फंसाउँछ,

कसैले कहिले काँध थाप्छ, कसैले तारे भिर बाट खसाउँछ,

स्वार्थ्य लुकेकै हुन पर्छ, जसले जतिबेला, जे गरे पनि, तर,

बुढेश कालमा यो गति देख्दा, मेरो आँखा भने एकदमै रसाउँछ!

कल्पना मा हुन्न सधैं, धरातलमा झर्न पर्छ,

हामी सबले सबै कुरा, सकारात्मक गर्न पर्छ,

जूनमा पुग्ने मान्छे त्यसै, गफले मात्र पुग्या होइनन्,

हामीले पनि हाम्रो मानो, हामी आफै भर्न पर्छ!

कसलाई भोट दिने खै, सबै चोर डाँका छन्,

कोहि एकै जात भन्छन्, कोहि त आफ्नै काका छन्,

मैले भोट नदिए ‘नि, एउटा सांसद पक्कै हुन्छ,

भए पछि देशको भण्डार, रित्तै पारी खाका छन्!

कसैलाई मिठो खान अनि, राम्रो लाउन पाए भयो,

कसैलाई मोज, मस्ती र नाच्न, गाउन पाए भयो,

सधैं काम गर्न सट्टा, सबैले सबै चाड मान्दा हुन्छ,

नसुन्नु मूर्ख लाइ, उसलाई मान्छे लडाउन पाए भयो!

कति साना खाता भित्र, कैयौं रकम लुकेको छ,

उत्तरदायित्व बाट, साहू सधैं चुकेको छ,

खुद्रा पैसा जम्मा गर्दै, गरिबले सपना देख्छ,

सपना साकार बनाएर, साहूको जिउ फुकेको छ!

कति सोचेर हो कुन्नि, एक पल्ट उ शहर पस्ने निधो गर्यो,

डेरा त्यस्तै हो बिना कौडी, कसैको घर बस्ने निधो गर्यो,

कान्छो भएको छ घरको अचेल, गाउँ को त ठुले नै थियो,

शहर ले झैं उसले पनि, जुठेल्नो मा कम्मर कस्ने निधो गर्यो!

कतै मान्छे सभ्य छन्, सानै कुरोमा हर्ष बढाई छ,

कतै मान्छे जंगली नै छन्, सबै कुरोमा कडाइ छ,

अनाहकमा काल खोज्ने, यस्तै जंगली नै त हुन्,

जसका नशा नशामा, खालि झगडा र लडाई छ!

कहिले धमिरा ले खाएको काठ जस्तो,

कहिले मूर्खले सिकाएको पाठ जस्तो,

कहिल्यै गन्तव्यमा पुगेन, दिमाग यो,

साँझ जंड्याहा ले हिर्काएको लात जस्तो!

घरि अफघानिस्तान र इराक, घरि सिरिया भन्छन,

पत्रिकाले महिनै पिच्छे, सिपाहीको किरिया भन्छन,

आफू अंगरक्षक संग घुम्दै, अरुलाई युद्धमा पठाउने,

आमाको मन यी नेताले, पारे छिया छिया भन्छन!

कति जोड घटाउ छाँटछन्, जीवन हिसाब ठान्छन,

कति भाव, दर्शन छाँटछन्, जीवन किताव ठान्छन,

शिर ले सोच्न पर्ने काम, पुछारले सोच्ने मान्छे हरु,

सबै कुरो, अर्थ हिन मान्छन, दिशा पिसाव ठान्छन!

न उस्का छोरा छन्, न उस्का छोरी छन्,

न गोड्ने बारी छन्, न फाँड्ने खोरी छन्,

के देख्छन् खै कुन्नि, यी अन्धी हरुले,

मरिहत्ते गर्ने, काली छन्, गोरी छन्!

कहाँ छ र शहरमा, अटाउने मेरो साथी,

जिन्दगीका उँभो उँधो, कटाउने मेरो साथी,

रंग मंच बाट टाढा, टाढा उनि रमाउँछिन्,

हर रात सपनीमा सताउने मेरो साथी!

थाहा छ र तिमीलाई अरु कस्ता छन्, उ कस्तो छ,

वजनदार छ वा, पिपल गेडी मा बिक्ने, सस्तो छ,

जोखेर हेर, सोचेर हेर, मन अलि कति खोलेर हेर,

हिलोको कमल, काँडाको गुलाफ वा मृगतृष्णा जस्तो छ!

तेरो हैन मेरो मात्र भन्दै, लडेर हुन्न साथी,

पुरानै संस्कारमा पुर्खा झैं, सडेर हुन्न साथी,

सिक्न पर्छ सिंगापूर को, कानपुर को होइन,

जात धर्मको हिलोमा, अझै गडेर हुन्न साथी!

शरीर त उस्तै छ, कती लाई बुढो लाग्ला,

केहि बोल्दा कसै लाई, अलि फुँड़ो लाग्ला,

सानै थुम्को पनि, उक्लन कठिन हुँदा,

हट्टाकट्टा भए ‘नि, आफूलाई डुंड़ो लाग्ला!

गोरा देशमा, गोरी हरु, झुलाउन मन लागेछ,

सुन्दर कालो कपाल पनि, फुलाउन कर लागेछ,

जोशिएर उसले एक दिन, कपाल खैरो बनाइदियो,

अहिले फेरी आफ्नै रंगका, डुलाउन मन लागेछ!

बाहिर हांस्लान भित्र के था’, सिता हरिने राम हरु,

तिनका मनमा कती होलान, चोटै चोट का डाम हरु,

भन्नेलाई सजिलो छ, खुट्टा भए जुत्ता कति,

पिडित देख्छन, चारै तिर रावण कै लाम हरु!

माना पाथीका कुरा,

छाडा साथीका कुरा,

के पत्याउनु र खै,

जाबा जातिका कुरा!

कति मान्छे, सम्मान का भोका छन्,

कति भने, खानै नपाएर रो’का छन्,

यो विषमता कसले ल्यायो, हरे देशमा,

काम नभएर कति, लंगौटि धो’का छन्!

शरद संगै, अब धेरै, चाड आउँछन्,

कति लाइ भने, कठिन पहाड आउँछन्,

हे भगवान, छौ, सक्छौ भने, उपचार गर,

त्यसपछि धेरै सेकिएका ढाड आउँछन्!

कसको चिन्ता गर्नु खै, आफ्नै चिन्ताको भारि छ,

अरुको घर परिवार छ, सम्पत्ति, जागिर, गाडी छ,

तिनै पो अझै पुगेन भन्छन्, लुट्छन्, छल्छन्, फंसाउछन्,

आफ्नो त छाक मात्रै टार्न, आजीवन कोशिश जारि छ!

कसले उजुर, हाल्यो कठै, कसलाई हो, बदनाम गर्न,

नाङ्ग्ले पसल, ठेला गाडी, सबका चक्का जाम गर्न,

कति लाई त, दैव ले नै, भकारी टन्नै दिएको होला,

कुन मन्दिरमा कसरि जाओस, नहुने बिचरो माम भर्न!

केहि बर्ष बिराएर चुनाउ आउँछ,

अनि बल्ल जनताको भाउ आउँछ,

फंसेकै छन् हजूर, निरिह ती गाउँले,

उल्टै भ्रष्ट नेताहरु को दाउ आउँछ!

मनै छुने कुरा हरु तिमीले गर्दा हुन्न र?

ओठै छुन मन नलागे, पर सर्दा हुन्न र?

सबै गल्ति अरुलाई, दोषारोपण गर्न भन्दा,

मैले दुइ, तिमीले दुइ, पाइला झर्दा हुन्न र?

भावी ले झैं सबै कुरो, लेख्न कहाँ सकिन्छ र,

हुने कुरो भै नै छाड्छ, छेक्न कहाँ सकिन्छ र,

सम्हालेर हिंड्न पर्छ, अवरोध आउँछन, जान्छन,

जस्तै विवेक पुर्याए’नि, दशा देख्न सकिन्छ र!

दया, धर्म, मदत छैन, शहर यस्तै छ,

ठाउँ कम, आँगन छैन, घर यस्तै छ,

प्रतिस्पर्धा तराजुमा, तौली तौली बित्छ,

तर पनि सबै रोज्छौं, रहर यस्तै छ!

एउटै रुखमा हजारौं, साना ठुला पात छन्,

एउटै देशमा कैयौं नै, भिन्दा भिन्दै जात छन्,

पात झैं जात पनि, दाजु भाइ नै ठान्दा हुन्थ्यो,

बिडम्बना, तर दुश्मन झैं, यी त काटाकाट छन्!

घमण्डी लाइ, के पच्छ र सर सल्लाह,

नास्तिक लाइ बुद्ध, जिजस र अल्लाह,

सबै जान्ने बुझ्ने छौं, फेसबुक चलाए’सी,

बोलौं, लेखौं मनपरी, पुर्याउँ मनको चाह!

… १ अगस्ट २०१३ देखिका मुक्तक हरु …

July 31, 2013 at 8:08pm

सबै भन्छन् चिरा पारी, जातै पिच्छे राज्य हजूर,

नछुट्टयाइ कसैलाई, दिँदा होला साध्य हजूर,

नदिउँ भने जलाएर, देशै मास्न आँटी सके,

सिङ्ग्लो देश म त भन्छु, होस् अविभाज्य हजूर,

यति बूंदे, उति बूंदे, खालि राख्छन् मागै मात्र,

पूरा गर्नै पर्छ भन्छन्, नत्र धर्छन् दागै मात्र,

कसलाई पुर्याउने, हलो बोकी अन्तरिक्ष,

नपुर्याए हिमाल पनि, बन्छु भन्छ आगै मात्र!

हिजो, अरुको जागिर नहुँदा, आफ्नो थियो र पनि बोरै भो,

आज, अरुको जागिर छँदैछ, आफ्नो छैन र पनि बोरै भो,

धन्न हजूर, जे जति सिके पनि, महँगा शोख सिकीएनछ,

नत्र भन्थें होला, पैसोको जातै यस्तो, जति भए पनि थोरै भो!

अनुकरण गर्न सट्टा, रिस पाल्न थाले पछि,

भने जस्तो नभएमा, इश फाल्न थाले पछि,

कति युग सम्म थाम्ला, मानिस को जुनी हजूर,

आफ्नै दुधमा आमाले ‘नि, बिष हाल्न थाले पछि!

सपनीमा, न त बिपनिमै, घोडा चढीएन कहिले,

मामाको तबेला देखेर ‘नि, हि हि गरिएन कहिले,

ठिकै गरे जस्तो लाग्छ, साथी भाइका चोट देख्दा,

भांच्चीएनन् हात गोडा, खुशी छु, लडीएन कहिले!

मजेत्रोले ढाकेर ‘नि कति दिन ढाकिन्छ खै,

चुपचाप राखेर ‘नि कति दिन राखिन्छ खै,

काँश, घाँस होइन वैंश, फुले पछि अर्थ हुन्न,

यस्तो कुरो साँचेर ‘नि कति दिन सांचिन्छ खै?

सबैको प्यारो कहिले, घाँटीमा लगाउने हार भयो,

सक्नेले सके काढ्न मिल्ने, कहिले मौरीको हार भयो,

उतार चढाव त जीवन हो, दूरीको मात्र कुरो हजूर,

विजय को श्रेय अरुलाई आफूलाई त सधैं हार भयो!

मौरी टन्न हुने बेला, जीवन करिव मह जस्तै,

छैन खाँचो कुनै चिज को, चारै तिर सह जस्तै,

धेरै बेर लाग्या छैन, ओरालो को मृग बन्न,

लखेटीदा, त्यहि जीवन, भुमरी र दह जस्तै!

जेठाजु त होइन नि उ, किन घुम्टो ढाकेर आयौ,

चंचल सधैं को रंग ढंग, अन्तै कतै राखेर आयौ,

कृष्ण भए पो बुझ्दथ्यो, उस्लाई नै खोज्छिन् राधिका,

ठान्यो, मायाको स्वाद तिमीले, अन्तै चाखेर आयौ!

दिशा पुछ्न जान्दैन, शुद्ध लेख्दैन नाम,

कुरा बडेमान का, मान्छे देख्दै हराम,

बनाउँछु भन्थ्यो देश, कुर्ची पाए पछि,

पाए पछि अरुलाई उ, खेद्दै छ धाम!

अदुवा र अलैँचि ले राज्य हरु धान्ने भए,

चिया, कफी, हिमाल ले, वार्षिक बजेट तान्ने भए,

क्षेत्र, जिल्ला, अञ्चल पिच्छे; गाउँ, बस्ती, शहर पिच्छे,

बनाउँ न त राज्य त्यस्तै, सबै जनता मान्ने भए!

हाम्रो देश को स्थिती यस्तै छ, न बत्ती छ, न पानी छ,

चुल्हो बाल्न धौ धौ छ, न ग्यास छ, न तेलको खानी छ,

कोही भन्छन नेताले बिगारे देश, कोही सतिको श्राप हो,

मलाई त लाग्छ, कुर्चिमा बस्नेको स्वार्थ्य छ, मनोमानी छ!

सधैं को जाडो छ यहाँ, घामले कहिले सन्तुष्ट छैन मन,

काम को घाँडो छ सधैं, दामले कहिले सन्तुष्ट छैन मन,

टन्न खाए मोटाइन्छ भन्छन्, नखाए दुब्लाईन्छ फेरी,

के यस्तो बिडम्बना, माम ले पनि त सन्तुष्ट छैन मन!

तिमी आफ्नै बोलि बोल्दै हिंड, म आफ्नै कान थापेर हिंड्छु,

तिमीले जोरेका दाउरा, मुढा, मेरै सुरले बाल्दै, तापेर हिंड्छु,

सहमति को नाटक गरेर केवल, जुनी बिताउन छोडौं कि अब,

भजन गाउँदै हिंड तिमी मन्दिरमा, म देउतालाइ शरापेर हिंड्छु!

दुख के हो दुख झेल्दै, बाँच्ने संग सोध्न पर्छ,

गास काटी सन्तान् लाइ, साँच्ने संग सोध्न पर्छ,

ह्याकुलाको मासु सधैं, पाइनँ भन्दै रुने साथी,

दशैं आउँदा मात्रै मासु, चाख्ने संग सोध्न पर्छ!

आफ्नै मानो खान पनि, छेक्लान् जस्तो गर्न थाले,

नलिएको ऋण पनि, लेख्लान् जस्तो गर्न थाले,

कति भए पुग्छ होला, लोभ मुक्त हुन मान्छे,

मरे पछि चिहान पनि, टेक्लान् जस्तो गर्न थाले!

कसैले ठान्छन्, उ त खालि आफ्नै सितको कुरो लेख्छ,

कोहि भन्छन्, कवि हो उ, रवि नगिच को कुरो लेख्छ,

भोटै नगएका देवकोटा, मुना मदन देख्छन्, लेख्छन,

बुझ्ने हरु भन्छन्, उ जन्म र मृत्यु बीच को कुरो लेख्छ!

उ पनि त मान्छे हो, केहि रिन छ, केहि धन छ,

नाङ्गा, भोका देख्यो भने, रुने खालको मन छ,

समाज यस्तै छ, लुटेरै भए ‘नि करोडै दिन पर्छ,

थोरै दिने वा नदिने लाइ, यो त कन्जूस पो भन्छ!

रोएर मानिस ले कति सम्म पाप लुकाउँदो रहेछ,

लुटको थैलो आफ्नै आर्जन भनेर फुकाउँदो रहेछ,

जब गीता छोएर कसम खान पर्छ, काँपेर मान्छे,

न्याय को अगाडी बल्ल बल्ल शिर झुकाउँदो रहेछ!

जन्माउना साथ, झाडीमा फाल्ने पनि हुन्छन्,

घाँटी निमोठेर, रुँदै, छाँद हाल्ने पनि हुन्छन्,

सबै आमा ममतामयी नहुँदा रहेछन्, कति त,

आफ्नै सन्तान ठगेर, नाठा पाल्ने पनि हुन्छन्!

जिम्मेवारी बोक्ने ले नै, जिम्मेवारी तोड्छन भने,

पाल्छु भन्ने मान्छे ले नै, जब पाल्न छोड्छन भने,

सुरक्षित कहाँ हुन्छ, कठैबरा निरिह त्यो,

साल का ती झ्याल ढोका, फलामले फ़ोड्छन भने!

हरेक मानिसको मन मा दर्द हुन सक्छ,

कतिको भने तिखो, धारिलो कर्द हुन सक्छ,

नठान्नु, बदलाको भावना नलिंदै मा, मान्छे,

हुतिहारा, काँतर, लाछी र नामर्द हुन सक्छ!

कोहि स्वास्नी को पछाडी, फेरी फेरी वेश्या झुलाएर हिंड्छन,

कोहि लोग्ने कै अगाडी, फेरी फेरी नाठा डुलाएर हिंड्छन,

जे गरे नि आखिर, बाल बच्चा अलपत्र नपारे हुन्थ्यो,

तर ती बच्चा हेर्दै नहेरी, आफ्नै मन भुलाएर हिंड्छन!

न त कुनै गतिलो किताव पढ्ने जाँगर चलेको छ,

न त कुनै गहिरो हिसाव गर्ने जाँगर चलेको छ,

आफ्नो हिसाव किताव सधैं घाटै घाटामा चल्दा, बरु,

नपढ्ने, हिसाब नगर्नेको जीवन पो नाफामा चलेको छ!

भन्छन, उसका समस्या सुनेर जो कोहि पागल बन्छ,

बर्षा पछी खुलेको स्वच्छ आकाश पनि बादल बन्छ,

समाधान गर्न सकिने कुरो पो साम्य गर्न सकिन्छ,

चिन्ता ले त जीवन बागमती को जल वा ढल बन्छ!

नभएकै कुरा बनाइ, इष्ट मित्र फटाउँछन्,

आफू भने त्यसै गरि, जताततै अटाउछन्,

छोटो बुद्धि कति थाम्ला, कति सम्म अडिएला,

शायद बुद्धु यस्तै गरी, पुरै जुनी कटाउछन्!

छोरा भन्यो, छोरी भन्यो, कहिले मोरा मोरी भन्यो,

पुल्पुल्यायो, राम्रा भन्दै, कालै स्वास्नी, गोरी भन्यो,

कसले गर्यो, कति गर्यो, लेखाजोखा गर्ने होइनन्,

सबै भुली टाउको टेक्छन्, अनि देखें तोरी भन्यो!

खहरे र खोला हरु, कहिले बग्छन्, कहिले सुक्छन्,

कहिले सबै बगाउँछन्, कहिले तिनै पनि चुक्छन्,

जिन्दगी का नदी नाला, बग्नै पर्छ बाँचे सम्म,

किन ठान्छन् होला मान्छे, खोला संग नदि झुक्छन्!

खोज्दैमा सधैं पाइने भए,

रोज्दैमा सधैं चाहिने भए,

किन मन दुखाउन पर्थ्यो,

चन्द्रमा सधैं दाहिने भए!

संगत गुनको फल हो, आकाश ताकेर हुँदैन,

परिश्रम गर्नु को सट्टा, भगवान भाकेर हुँदैन,

हलीको पछि लागेर, बन्दैनन् हाकिम हजूर,

बनेन त्यो भनेर अब, ज्योतिषी डाकेर हुँदैन!

कैले काहीं जिन्दगि मा कति ठुलो चोट लाग्छ,

नसोचेको कुरो हुँदा, अति ठुलो चोट लाग्छ,

न त टार्न सकिन्छ नै, न त मल्हम हुन्छ कतै,

सहेर नै बस्नु बेस, जति ठुलो चोट लाग्छ!

उसले जस्तै दोहोर्याए, अर्को पुस्ता मर्ने भए,

सोच नया हुन पर्यो, खासै नौलो गर्ने भए,

जुधाएर, लडाएर, शरापेर कहाँ हुन्छ,

पुल हाल्न पर्छ हजूर, बर्खे कोशी तर्ने भए!

कहिले कालो चश्मा भित्र लुकाइन्छ अनुहार,

कहिले कसको वशमा झुकाइन्छ अनुहार,

बिना कसूर डराउन पर्ने, बाचुन्जेल, हरे!

मरे पछि मात्र निर्धक्क फ़ुकाइन्छ अनुहार!

पढ्न त धेरै कुरो पढियो, खासै काम लागेन,

अनुभव ‘नि उस्तै गरियो, खासै काम लागेन,

न आफ्नै घाउ निको भो, न कसैको मन संग पुल बन्यो,

डाक्टर, इन्जिनियर बनियो, खासै काम लागेन!

ढुंगा पुज्छौं, रुख पुज्छौं, घाँस पात पनि पुज्छौं,

जनावर पुज्छौं, धर्ति पुज्छौं, आकाश पनि पुज्छौं,

के ठिक के बेठिक, सोच्दै नसोची पच्छ्याउँछौं हामी,

ज्यूँदो हुँदा गोद्छौँ मान्छे, मर्दा लाश पनि पुज्छौं!

बिचार मान्दैन मान्छे, जात मान्छ अचेल,

प्रस्ताव मान्दैन मान्छे, लात मान्छ अचेल,

कसरि बन्छ समाज, बन्छ कसरि देश, जब,

भेडो बनेर मान्छे, उस्कै बात मान्छ अचेल!

उसले सोचेको जस्तो, उस्को देश भए पो,

उसले खोजेको जस्तो, परिवेश भए पो,

किन सोध्छौ ब्यर्थै, कहिले उ फर्कन्छ भनि,

तिमीले रोजेको जस्तो कालो केश भए पो!

जहाँ नेपाली, त्यहाँ केहि भद्र गोल छ कि,

झगडा को बिउ रोप्न, कसैको रोल छ कि,

चर्का चर्की, कहिले हात हाला हालै  हुन्छ,

शायद, उनीहरुको आफ्नै छुट्टै टोल छ कि!

कहाँ छ खै मेरो देश, मैले छोडे जस्तो,

टुक्रा टुक्रा जतन गरि, पैले जोडे जस्तो,

ढोका बन्द, गेट बन्द, बन्द चारै तिर,

सबै संग, बोलि चाली, नाता तोडे जस्तो!

के फल्छ खै, मलिला खेत छैनन्,

हली, बाउसे, खेताला समेत छैनन्,

भन्न छोडें सरकार लाइ, अचेल,

आफै खाउ, हाम्रा त भोका पेट छैनन्!

विश्लेषण गर्दैन उ, जसले जे भन्यो पत्त्याइहाल्छ,

लात हानेको देख्यो भने, उसले पनि लत्त्याइहाल्छ,

पक्कै पनि संस्कार होला, सोच्दै नसोची काम गर्ने,

आफ्ना लाइ मत्त्याइहाल्छ, अर्का लाइ अत्त्याइहाल्छ!

बर्षै भरि नै ज्युँदा हरुको, जात्रा हुन्छ मेरो देशमा,

बलियाले निर्धालाई थिच्ने, जात्रा हुन्छ मेरो देशमा,

ज्युँदाले ज्युँदा लाइ नै निचर्छन्, मार्छन् सधैं जसो,

मरे पछि सम्मानमा, गाइ जात्रा हुन्छ मेरो देशमा!

न फुर्सद छ, न खासै केहि, काम भा’छ अचेल,

फल छैन, दिन बेकार, बितेर गा’छ अचेल,

सकारात्मक सोच सधैं, हुन पर्छ भन्छु अझै,

तर पनि किन हो खै, ज्युनुं ब्यर्थै ला’छ अचेल!

म त पुरुषार्थी भन्दै, अरुलाई नपुंषक देख्ने पनि छन्,

पछाडी रहेर आफू, अरुलाई युद्दमा धकेल्ने पनि छन्,

जोगिनुस् यी वीर देखि, शरणार्थी बनाउलान् मातृ भूमिमै,

चिन्न सके कति, नलडौं आपसमा भनेर, छेक्ने पनि छन्!

घरि नाम नमिलेको, घरि काम बेठिक देख्छु,

उस्तै उस्तै काम गर्छु, तर दाम बेठिक देख्छु,

यस्तो भेद भएको छ, धेरै मान्छे पिडित छन्,

उनीहरु के देख्छन् खै, म त तमाम बेठिक देख्छु!

नपढ्ने हरु त त्यसै ‘नि मूर्ख छन्,

बाँकी पनि झन् पढेरै ‘नि मूर्ख छन्,

समानान्तर छैन, मूर्ख्यांइ र अशिक्षा,

देख्छु संसार मा धेरै ‘नि मूर्ख छन्!

पलेंटी कसेर हुर्काएनन, मेला पाता धाएरै हो,

सधैं दुध र भात भएन, ढिडो रोटो खाएरै हो,

स्थिति त्यस्तै थियो, भुलेर के ठुलो हुनु खै,

हिंडेको हामी आखिर, भोटो कछाड लाएरै हो!

राम्रो जागिर त पाउनै कठिन छ,

पाइ हाले ‘नी जोगाउनै कठिन छ,

गोरु हुन् नहुन् जोत्नु नै भन्छन,

हाकिम लाई रिझाउनै कठीन छ!

कहिले समय पुग्दैन, हतारै हतार मात्र हुन्छ,

कहिले बजेट पुग्दैन, अभावै अभाव मात्र हुन्छ,

पुग्ने हरुलाई ‘नि पुग्दैन, नपुग्ने को त झन् के कुरा,

चिन्ता गरेर के गर्नु खै, जीवन सखाप मात्र हुन्छ!

सlभार-उहाकै फेश बुकवाट

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *