-अबीर खालिंग, हेमिल्टनगंज, डुवर्स ।

            इतिहासको यो ग्रुपफोटोमा

            मेरो फोटो चैं  खोई ?”

(‘मेरो स्पेस’ कविताबाट)

मूलधाराद्वारा उच्छेदित पीड़ाको चर्को स्वर बजेको छ उक्त पंक्तिमा।यसकै सम्यक ध्वनि ‘इतिहासमा कहिल्यै ठाउँ खोज्न नसक्ने पंक्ति पाईन्छ अर्को कविता ‘ म कहिले वुद्ध हुनु ?” शीर्षकीय कवितामा।  ‘अब पर…पर.. पन्साइएकाहरुको कथा ठूलो आवाजमा सुनाउनु छ , नदीको प्रवाहलाई किनाराले डोरयाउनुछ’  भनेर ‘शिवालिङ्ग अनि बगरका ढुंगाहरू’ कवितामा सोझै भाषामा कविले भनेका छन। अर्थात ‘किनाराका आवाजहरू’ कविता –संग्रह कवयित्री रेमिका थापासँग संयुक्त रूपमा प्रकाशित गरेपछि कवि मनप्रसाद सुब्बाको कविकर्म सबाल्टर्न लेखन र यसका समवर्ती विचार र सिद्धान्तको आविष्करण र पृष्टपोषणमा बढी समर्पित र आग्रही देखिन्छ। उपनिवेशितहरुले लिंग, वर्ग,वर्ण, धर्मको आधारमा परम्परादेखि भोग्दै आएको युग पीड़ाको सुक्ष्म काव्यिक अभिव्यजनामा कवि सुब्बाको कविता पंक्ति बढी संवेदनशील बन्दै गइरहेको छ। भारतेली नेपाली कविहरूमाझ आफ्नो अग्रज, आफ्नो समकालीन र आफ्नो अनुज कविहरुमध्ये सबैभन्दा सक्रीय, उर्वर, सृजनाशील कवि सुब्बाले नेपाली कविताको नौलो फाँट र क्षेत्र दखल गर्दै हिँड़िरहेका छन र उनको यो यात्राले भारतेली नेपाली कविता वैभवशाली बन्दै गईरहेको छ। त्यसैको अर्को थप माइलखुट्टी बनेर नयाँ कविताकृति ‘भुइँफुट्टा शब्दहरू’ आईपुगेको छ।

नवीनताका आग्रही, प्रयोगधर्मी औ पाठकलाई नित्य-नवीनरसले आलोकित पार्न चाहने वयले प्रौढ र विचारले तरुण  कवि हुन  मनप्रसाद सुब्बा । उनका हरेक कविता-कृतिले केही नव्यताका स्वर बोकेर आएको पाईन्छ। ‘बिप्ल्याँटो युगभित्र कार्टुन मान्छे ’ देखि शुरू भएको उनको काव्यिकयात्राले दीर्घकालीन व्याप्ति अंगालिसकेको छ  र दिनोदिन उनको कलमले नेपाली कविताको नयाँ शिखर र नव्य आयाम स्पर्श गरिरहेको छ।भारतेली नेपाली कविहरुबीच नैरन्तरको सृजन धर्मिताले, नवीन युग चेतनाले, कविताको अनउद्घाटित नयाँ क्षितिजको अन्वेषणले, वैश्विक नुतन सोंच र तत्विषयको कवितामा प्रयोगले कवि सुब्बालाई अलग्गै उभाएको छ। सँधै उर्वरशील उनको कलमले हामी पाठकको क्षुधा तृप्त पारिरहेको छ ।

‘लेख्नेले(कविता) एकै ठाऊँमा स्थापित भई नबसेर आफूलाई समयको प्रत्येक बिहान नवीकृत गर्दै नलगे उ चाँड़ै पुरानिन्छ, उसको ग्रहनशीलता बोधो हुन्छ र पछिल्लो समयको परिवर्तित मूल्यलाई उ चिन्न नसक्ने हुन्छ । त्यसैले उ पुरानै भाकामा बोल्छ, जसलाई सुन्न पछिकाहरू त्यति उत्सुक हुँदैनन।‘ आफ्नो विचार सपाट भाषामा कविले ‘भन्नुपर्ने केही’मा यसरी व्यक्त गरेका छन । कवितामा पनि-

“ बद्लिरहनुमा आनन्द छ । बद्लिरहनुमा त

गति छ  अनि जीवन छ” (मेरो शब्द )

भन्ने कविको सधेय-सन्धान नव्यताको पूजन हो, खोक्रो आडम्बरी प्रयोग र नवीनताकालागि नवीनता होइन, कविताको आभ्यन्तरिक तत्वकै रुपमा पाठकको सामु त्यो पुगोस भन्ने चहाना उनको कविताले     बोकेको दिव्यगुण हुने गर्दछ। ‘आदिम बस्ती’सम्म सुब्बाको कविताले बोकेको बिचारको गह्रौ भारी अबका कवितामा पाइन्न। समसामयिक स्वरले भिजेका उनका कविताले हामी उभिएको भुईं र हामीले स्वास फेर्दै गरेको वातावरण/ पर्यावरणलाई छोएको छ। हाम्रा दैनंदिनीका अपूगहरु, अभावहरु, आवश्यक्ताहरुले विशिष्ट अभिव्यक्तिमा व्यक्तिएर कविताका क्रममा खड़ा हुन्छन। हाम्रो विलाशीताले, अज्ञानताले, विपुल वैभवकों उत्कट चाहनाले हामीले ध्वंस पार्दै लागेको धरतीको चित्कार र क्रंदन, पर्यावरणको रुदनमय पुकार, सिमान्तिकृतहरुको व्यथा र उनीहरुको पक्षमा काव्यिक बुलन्द आवाज मुखरित भएको छ उनका कवितामा । ‘किनाराका आवाजहरु ’ कविता संग्रह  प्रकाशनपछि सर्वसमावेशी लेखनको वकालत गर्दै आउनुहुने कवि सुब्बाको कविचेतले ‘भुईफुट्टा शब्दहरू’ कविता संग्रहमा यसै विचार र परिपाटिका कविताहरु पस्कने  प्रयास गरेका छन।

भुईफुट्टा शब्दहरू’भित्र कुल ४७ ओटा कविताहरु संकलित छन। यी कविताहरुमा मूलत: धरतीको माया र धर्तिप्रति हाम्रो दायित्ववोध, पर्यावरण र प्रकृतिप्रति हाम्रो सोंच र कर्तव्य, नारीवादी चिन्तन, सीमान्ति –कृतहरुको अस्तित्व संकट र चिन्हारीको प्रश्न मुखरित भएको छ। कवितालाई सहज र समसामायिक  विषय वस्तुमा केन्द्रित बनाएर सधेय ‘आम पाठकको निम्ति कविता’ बनाउने कविकर्ममा    संग्रहका कविता साक्ष्य उभिएका छन । वस्तुत कवितासंग्रहले सहजताको बाटो पहिल्याएर आम सरोकारको विषय उठान गरेर बहुसंख्यक पाठकको लक्ष्य राखेको छ । वोधगम्यता, सरलता,सहजता, र सहज संप्रेष्यको आग्रहमा कवितालाई बलि चड़ाउँनु हुँदैन । शिल्पको दिवालियापनले कवितालाई जहिल्यै पनि शमशानमा पुरयाएको छ ।  कविको शब्दशरले सहृदयी  पाठकको हृदय भेदन् गर्न सकेन  भने कविताले अनाम बाटामा आफ्नो यात्रा टुङ्ग्याउनु पर्छ। कवि सुब्बाका कविताहरुले अनुज कविहरूलाई र आम पाठकलाई यही सन्दर्भमा आकृष्ट गर्छ की सहजतामा पनि यति गम्भीर र सुन्दर कविता भन्न सकिँदो रहेछ। सुब्बाका कविताहरुले मनोहारी उदाहरण र उलेख्य दृष्टांत यस सन्दर्भमा अघि सारेका छन।

बुबालाई सम्झेर’, “मुक्त-उन्मुक्त मेरी आमा’, र ‘मेरी किराँती आमा’, कविताले व्यैयिकताको संघारबाट बाहिर निस्केर सार्वभौम माटोको सत्ताको संवाद बोलेको छ। धरतीसितको मान्छेको तादात्मय सम्बंधको सुर यो भन्दा मिठो हुन नसक्ला । ‘मेरी किराँती आमा’ कवितामा  हाम्रो सांस्कृतिक विरासतता र आजको बजारवाद र औपनिवेशिक सस्कृतिले निमिट्यान्न पार्न खोजे पनि त्यसको विशिष्टता र महत्ताको ध्वनि सुन्न पाइन्छ। ओन्दोंग र सेकमारी फूल, तिगेनजोङना, आदिकिराँती नारी सुम्निमा, लिम्बू पितृदेव युमा, देव-देवता माङ, हाम्रो बनौषधि तितेपाती, खनक्पा, चिंफिंग, अबिजाल झन स्निग्ध भएर कविताको कथ्यमा  बसेको छ। मिथकीय र स्थानीय विम्बको अदभूत सम्मिश्रण यस  कविताको थप ऊर्जा हो। मातृप्रेमको मनमोहक विम्बमा औधोगीकरणको विक्षोभसंकेत पाईन्छ।स्थानिक विषय र विम्बले, सांस्कृतिक पुनर्स्थापनाको योजनले वैश्विकपटल छोएको छ ।

समकालीन कविताको सन्दर्भमा सुब्बाको कविताले यस संग्रहमा उठाएको अर्को मुद्दा हो पर्यावरण चेतना। उपान्तिकृतले झैं प्रकृतिका यावतघटकले पनि अस्तित्वसंकटको खतरा भोग्न परिरहेको छ । खेतबारी,बगर, जंगल, नद-नदी, पहाड़ मान्छेको विलाशिताको अपरिमित भोकले, असहिष्णुताले अब कंक्रीट्को जंगलमा परिणत भइरहेको बेला  समकालीन कविताले बोकेको औज़ार पर्यावरण चेतना हो। पर्यावरण र प्रकृतिलाई लिएर कविता धेरै अघिदेखि लेखिएपनि यस सन्दर्भमा सचेष्ट सृजना नेपाली कवितामा उत्ति  भएको थिएन। पश्चिमपट्टि नफ़र्की सोझो हाम्रो भारतीय नेपाली कविता इतिहासलाई पर्गेल्दा कवि सुब्बाको यो प्रक्षेप नौलो र थप माइलखुट्टी नै साबित हुन्छ।‘भोलिको गीत’ कवितामा कवि अविनाश श्रेष्ठले पर्यावरण चेतनाको शंख फुकेपछि केही कविहरूले फटाकफुटुक यस काँटीका कविता कोरे तर सिमान्तिकृत बन्दै गईरहेको मानिसको यो अनन्य सहचर सन्दर्भमा यति गंभीरतासहित ‘किनाराका आवाजहरू’ अघि कुनै सर्जकले लिएका थिएनन। ‘भुइँफुट्टा शब्दहरू’ भित्र यस सरोकारका केही कविताहरु संग्रहीत छन। कर्पोरेट जगतले निल्दै आएको खेतखलीहानको भिडियो क्लिपिंग हेर्न पाईन्छ कविता ‘खेतमाथि आक्रमण: केही भिडियो क्लिपिंग’मा। ध्वनि र चित्रको शाब्दिक संयोजनले कविता भिडियो क्लिपिंग नै बनेको छ। वर पिपलको बिहे गरेर पुज्ने औ जंगल विनाशको लीला रच्ने पाखण्डी संस्कारलाई व्यंग्य छ यो पंक्तिमा-“ अनि अरु नपुजिंने  असुरक्षित रुखहरुको

सन्चोबिसन्चो पनि ख्याल राख्नू । “ (बार-पिपलको बिहेमा)नोस्टाल्जियाको स्थापनाद्वारा मासिएर गएको काफल महा मृगतृष्णा भएको सिम्फोनी बज्छ “काफल पाक्यो “ कवितामा। ‘आदिम बस्ती’ कविता संग्रहमा संग्रहित ‘रातमुनि’ कविताकै विम्ब उनेर आजको चकाचौध बिजुलीको रोशनीबीच हराउदै गएको नैसर्गिक ऊर्वर अध्यारोको खोजी कवि सुब्बाले “अध्यारो खोज्दै” कवितामा गरेका छन।

यशोधराको अदालतमा सिद्धार्थ’, ‘अशिवलिङ्ग’, ‘आदमको बिन्ती अनि सिमोन द बोभाहरू’, आदि कविताले नारीको पीड़ा, नारी बलात्कार र नारीको शक्ति र उदारताको वकालत गर्छन् । सिद्धार्थको वुद्धत्व प्राप्तिमा कसरी वर्षौदेखि यसोधाराको पीड़ा गौण भएर रह्यो, पुरुषसत्ताले परपीडक रहेर आफ्नो स्वार्थ सिद्ध गरेको यथार्थ कविताले उठाएको आवाज छ । मौननारीको यातनामाथि हिँडेर पुरुषहरुले वोधी प्राप्त गरिरहेको यथार्थलाई ‘यशोधराको अदालतमा सिद्धार्थ’ कविताले उठाएको छ। यौनपिपासु हिंस्रक पुरुषको पौरुष नारी शरीरको शिकारमा लागेको यो कुघडीमा ‘अशिवलिङ्ग’ कविताले पुरुषको सवेदनहीनताको खिल्ली उड़ाएको छ ।

यो कुरो त्यै हिमालधोजकी स्वास्नीलाई थाह छ

जसलाई छोराको आशामा फेरि चौथोपटक

विशाल पेट बोक्न कर लगाइएको छ ।‘ ‘धरतीको नापजोख ‘ कवितामा धरतीसदृश उर्वरशील उर्वरा नारीको स्मरण गराउँदै छोराको आशा भनेर छोरीप्रतिको वितृष्णा औ नारी शरीरको शोषणतिर पनि सुब्बाले इंगित गरेका छन। समकालीन कविताले नारी सशक्तिकरणको वकालतमात्र होइन नारीको उदारता र नारी विमर्शको अखण्ड संभावनाको अन्वेषण पनि गर्छ। सुब्बाका कविताहरु यस दिशातिर पनि सौद्देश्य उद्द्यत छन।

भुइँफुट्टा शब्दहरू’ पुस्तकको नामाकरणको ध्वनि व्याजनार्थरुपमा किनारीकृत भन्ने नै लाग्दछ किन कि कवि मनप्रसाद सुब्बाभित्र अहंको गन्ध पाइन्दैन ताकि उनले आफ्नो शब्दहरुलाई रुढीलक्षणार्थ गुरु बिनाका मानुन् अथवा अमिधार्थ भुइँ फुट्टाएर निस्केका अर्थमा नै लिउन् । भुइँसँग अर्थात माटोसँग, भुइँमानेर टेकिएका, थिचिएकाहरुका  विनम्र शब्द नै हुन भुइँफुट्टा शब्दहरू। माया एञ्जोलोको कविता “ Still I rise” ले देखाएको अदम्य साहस झै भुइँफुट्टा शब्दहरू केन्द्रीय शब्दकोशमा सामेल हुन हुँकार भरिरहेका प्रतीत हुन्छन‘एक धुपौरो रातो अँगार’ कवितामा भुईफुट्टा शब्द प्रयोग भएको छ र त्यो नितान्त पारम्परिक अर्थमा नै प्रयोग भएको छ। भुइँफुट्टा झाँक्री नेपाली समाजमा अत्यन्त प्रचलित शब्द हो। यस कवितामा प्रयुक्त भुईफुट्टा शब्दले संग्रहको नामाकरणको औचित्यलाई अर्थ दिँदैन।  माटोको, माटोसँग सरोकार राख्ने उपांतिकृतहरुको धेरै कविता यस संग्रहमा संग्रहीत छन र भुईसित जड़ितहरुको शब्द भन्ने मन्साय कविको हुन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ।  भारतेली नेपाली कविताको परिप्रेक्ष्यमा किनारीकरणको कुरा धेरै भो, संगोष्ठी, चर्चा-परिचर्चा र यस सम्बन्धी विमर्श पनि पुस्तककारमा प्रकाशित भयो। कवि सुब्बा र कवयित्री रेमिका थापापछि  दोस्रो हाँचका प्रतिभाशाली कवि समूहले यस लेखनको क्षेत्रलाई विस्तृति दिने र उर्वर बनाइराख्ने कार्य गरिरहेकाछन। औचित्य,सिद्धान्त र लेखनको अभीष्टसिद्धिमा लागिपरेका छन। यस संग्रहका  “ मूलधारा अनि म’ ‘नाममा के छ र’’ थोपलों अर्थात डट’ ‘ मुक्त शब्दहरू’ ‘ मेरो स्पेस’ ‘ ‘शिवलिङ्ग अनि बगरका ढुंगाहरु’ ‘ती जंगलकाहरु’ कविताले अभिव्यक्तिको भिन्न स्वरूप र शिल्पमा त्यही किनारीकरणको मुद्दालाई उठाएका छन। त्यसैले यी कविताहरुको विमर्श यहाँ गरिएन । तिगेनजोंगा, फेदांगमा,सिद्धार्थ,नोस्ट्याल्जिक, कञ्चनजङ्घा, हिप्पोक्रेसी, शिवलिङ्ग, टाइगरहिल  शब्दहरू कवितामा घरीघरी प्रयुक्त भएका छन। कविताको कथ्य र शब्दहरुको पुनरावृत्तिले कविताको महक कम पार्ला कि?

निर्यातित / आयातित विचारबाट अलग्ग रहेर पाठ-पठनको अभीष्ट राखिएकोले यो कृति संवाद अधूरो लाग्ला तर निजत्वको रंगमा भिज्नुको आनन्द अर्कै हुन्छ। प्रभावित हेत्वाभासले ग्रसित पठनको ठप्पा पनि लाग्ला तर आनन्दको मार्गमा म यसरी हिँड्न चाहन्छु। मेरो सन्धान आनन्द्प्राप्ति हो र आमपाठकको यस कृति अधितिसँग मेरो पठनले सहमति राख्दैन ।सर्जकको हातबाट उम्केपछि सिर्जनाले पाठकको निर्वैयक्तिक ग्रहण र वोधनको तहमा झर्नुपर्छ। मेरो संवाद मेरै सीमितताको परिणति हो। अध्येता र समालोचकले  ‘भुइँफुट्टा शब्दहरू’मा अर्कै संभावनाको आकाश देख्नेछन्।अस्तु:।

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *