कालरात्रीको त्यो शृंखला
एउटा आतेस अनि घात बनेर आयो
डर अनि मनको अस्थिर पन
मुटु दुखिरहेथ्यो
जिजीविषा झुकिरहेथ्यो
सर्पले खेदिरहेछ
डस्ने मनसाय बोकेर
फंडा फुलाउदै
नजर चारै तिर डुलाउँदै
मलाईनै लक्ष्य गरेर अघि बढिरहेछ सर्प
म अत्तालिएँ
होश हवाश गुमाएँ
त्यो कालो सर्प,बिषालु सर्प
हुन सक्छ त्यो गोमन सर्प
आफ्नो निसानामा स्पस्ट छ
म पसिना पसिना भएँ
पर्यावरणको कुरा
साझा पृथ्वीको कुरा
प्राणीहरुको बाँच्ने आधार
अनि इकोसिस्टम
मलाई हत्यारा बन्नु थिएन
मलाई सर्प संग भिड्नु पनि थिएन
बरु भाग्नु निको ठानेर भागिरहें
मनमा जीवन्त भंगलाहरु संगाल्दै
घरि दोबाटोमा छलिएँ
घरि झाडीमा अल्झिएँ
घरि जिन्दगीसंग बल्झिएँ
तर पनि सर्प प्रति आक्रोश थिएन
बिष अनि सर्प र औषधिको कुरा
सर्पको काँचुली र मान्छेको कायापलट
नानाथरि मनमा तरंगहरु छाइरहन्छन
इश्वरको सृष्टि
सुन्दर एवम डरलाग्दो आकृति हो सर्प
सपेराको संसार
सर्प नाचिरहेछन
तर मैले सर्पलाई चिन्न सकिन
सीधा बाटो हिंड्न खोजेर
सत्यलाई अंगालेर
न त सर्पकै बिष्लेषण गर्ने क्षमता राखें
सर्पले अगाडि बढ्दै गरेको देख्यो मलाई
म अघि अघि कुद्नुनै सर्पको लागि शंका बन्यो,
डर बन्यो अनि खतरा बन्यो
खतरा मुक्त हुन आज उ युद्ध मैदानमा छ
म भागिरहेछु
ओठ तालु सुकेर
अमनचैन दुखेर
मेरो धड्कन बढिरहेछ
म कसरी सम्झाउ सर्पलाई
घस्री घस्री ज्यान छोडेर मलाई डस्ने लक्ष्यमा छ सर्प
बटारिएको छ मोडिएको छ
थुक्क साला जिन्दगी
अरुलाई नमारेरै बाँच्ने रहर मेरो
अरुलाई नदुखाएरै जिउने रहर मेरो
पुरै हुन सकेन
अब मैले सर्प संग भिड्नु थियो
ठुलो साहश बोकेर लाठी सहित सर्प तिर फर्कने के खोजेको थिएँ
सर्प त्यहाँ थिएन
तर मेरा आँखाहरु सर्वत्र छरिए
अब पो म चिच्याउन पुगेछु
झल्यास्स बिउझिएँ
शरीर पानी पानी भएछ
दुनियाँको व्यस्त नगरी लण्डनमा
मान्छेहरु नियमनमा छन्
ट्रेनको उही परिचित आवाज
र गाडीहरु सडकमा घुइँकिरहेछन
सर्प डर अनि मान्छेका प्रवृतिहरु
मान्छेका भोगाइहरु
सर्पलाई हेर्ने मान्छेका दृष्टिकोण
एउटा वितृष्णा जीवनको
कहानी अधुरो रह्यो विहानको
(२)
“सङ्गीत ”
संसारको कुनै धरातलमा निक्लेको किन नहोस
जहाँ बिरह र व्यथाको कहानी हुन्छ
सृष्टिको सुन्दर बिहानी हुन्छ
हाँसो र खुसीको सिरानी हुन्छ
बसन्त वाटिकाहरुमा
सुनिने चिरबिर चिरबिर चराका आवाजहरु
झरना खोलाहरुका कल्कलाहट
अनि स्निग्ध मनको मझेरीमा
उडिरेका तिम्रा स्वप्निल तरंगहरू
मायालु बन्दै जब तिम्रो छातीमा आश्रित हुन्छन
रोमान्चित हुने मन
बिचलित हुने मन
सङ्गीत अनुसारको
नाचिन पनि सक्छ
भांचिन पनि सक्छ
फेरी गांसिन पनि सक्छ
भाव अनुसार यो जगतमा
सृजित यी इश्वरीय सुन्दरतालाई
म प्रणाम गर्छु
अंकमाल गर्छु
मान्छेको जुनी
बाँच्नुसंगको मित्रता
जीबनसंगको समिप्यता
प्रेमसंगको सापेक्ष्यता
दिनचर्यासंगको निस्पक्ष्यता
त्यस्को खोजीमा मान्छे हिड्छ
जहाँ हिड्छ र उ त्यस्तै सङ्गीत सुन्छ
मैले पनि आज एउटा सङ्गीत सुने
जसमा हृदय हल्लाउने धुन पाएं
शीतल छायां दिने जून पाएं
ओइलाएको फूल जब मुस्काउंछ
सुनसान लम्पसार बस्तीमा जब भाले बासेर दुनियां बिउंझाउंछ
त्यस्तै आनन्दको सङ्गीत थियो
एक्लै बस्दा पनि मायां संगालेको
कहिँ हिड्दा पनि हृदय पगालेको
एउटा कल्पनातीत भावको संसार
आखिर मान्छे कल्पनाले पनि बांच्दोरहेछ
ति अप्रतिम कल्पना!
सगरमाथा जस्तो उचाइमा
प्रशान्त जस्तो गहिराइमा
साथमा संगीतका तरंगहरू
कुनै दैविक फाहा स्पर्स
कुनै नौलो संसारको विचरण
प्रेमिल रंगमंच
मनहरु नांचिरहेछ्न
एक्लै एक्लै पुलकितभै
माला गांसिरहेछन
निस्फिक्री सहज अनि कुनै व्यथा बिनानै
यो खुला आकाशमा हांसिरहेछन