– हेमन्त परदेशी

“पूर्वी पहाडको सुन्दर नगरी फिदिम ३-५ चैतमा साहित्य र संस्कृतिको चास्नीमा डुब्यो। पाँचथर साहित्यिक/सांस्कृतिक महोत्सव मूल आयोजक समितिको कार्यक्रम र १४औं भाषासेवी महानन्द सापकोटा पुरस्कार वितरण समारोह एकै समयमा परेछ यसपालि जसमा भारतका समेत गरी २०० साहित्यकार र सङ्गीतकार भेला भए।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति बैरागी काइँला, साहित्यकारहरू कृष्ण धरावासी, कृष्णभूषण बल, विक्रम सुब्बा, समालोचक प्रा. डा. गोविन्दराज भट्टराई, राजेन्द्र सुवेदी, सङ्गीतकार मणिकमल क्षेत्रीलगायतको उपस्थितिले फिदिमलाई तीन दिनसम्म जिलो बनायो। पाँचथरकै पौवासरताप गाउँमा जन्मिएका प्रख्यात आयामेली कवि काइँलालाई पाँचथरवासीले नागरिक अभिनन्दन नगरी छाडेनन्। त्यस अवसरमा साहित्यका विविध विधाका सबै पाँचथरे कलमवीरहरू सम्मानित भए।

यस वर्षको महानन्द पुरस्कार पाउने दुईमध्ये एक सर्जक चाहिँ पाँचथरकै साहित्यकार पुष्प थाम्सुहाङ परे। १५ हजार राशिको उक्त पुरस्कार पाउने अर्का थिए, झापाका कवि तथा कार्टुनिष्ट पवन राजवंशी। कवि भवानी घिमिरेको सम्झ्नामा यसै वर्ष स्थापित १० हजार राशिको भवानी घिमिरे रङपुण्यस्मृति साहित्य पुरस्कार लिनेदिने सुयोग पनि यही जमघटमा जुर्यो जुन झापाका छविलाल खतिवडाले पाए।
महोत्सवमा १० वटा कृतिहरू विमोचन गरिए। पाँचथरका सबै पुराना साहित्यकार/ संस्कृतिकर्मीहरूलाई फूलमाला र अविरले सिँगारेर पञ्चेबाजासहित शोभायात्रा गरेपछि महोत्सव उद्घाटन भएको थियो। मूल-समारोह समितिका अध्यक्ष प्रेम ओझाका अनुसार पाँचथरमा यति भव्य जमघट यसअघि भएको थिएन। “
आफू नियमित पाठक रहेको खोजमुलक पाक्षिक खबर पत्रिका हिमालको वर्ष १९, अङ्क २३ (१६-३१ चैत २०६६) मा प्रकाशित हिमाल मिडियाका बिशेष संबाददाता मित्र डम्बरकृष्ण श्रेष्ठ (अनुशिल) जीको यो रिपोर्टमा नजर पर्ने बित्तिकै एकाएक बेचैन बनेँ म । अर्थात दुरोदेसमा उधारो जिन्दगी जिउन बिवश बन्नु पर्दाको प्रतिफल स्वरुप आफ्नै आँगनमा समादृतपूर्ण संपन्न भएको साहित्यिक महोत्सव र काब्यिक यात्राको दृस्यपान गर्न नपाउँदाको पीडाले नराम्ररी पिरल्यो मलाई । सम्झेँ मैले आफ्नो जन्मभूमिलाई अनि आफ्नै गृह जिल्ला मेरो फिदिमलाई । कति उल्लासमय बाताबरणहरु बीच संपन्न भयो होला त्यो काब्यिक यात्राको ऐतिहासिक साहित्यिक महोत्सव ? अनि फेरि असह्य गरि दुखेँ आफ्नै जीवनयात्राको अपरित्यक्त बिभ्रमण र बिपर्ययताहरुलाई सम्झेर ।
हो, यो बिभ्रमण मेरो रहरको उपज होइन नत निराकृत प्रकेवलताको धृष्टता । यद्धपि जीवनका दु:खहरुबाट मोक्ष प्राप्त गर्ने यो मिथ्या सपनालाई अस्वीकार गर्न नसक्नु नै मेरो कमजोरी हो । संझन्छु म ती दिनहरुलाई । जतिबेला म शब्दहरुको थुप्रोमा काब्यिकचेतको अभिशितन लगाउँन चाहान्थेँ । म सित अभाव थियो पानीको । अर्थात शब्दहरुमा काब्यिकचेतको अनुप्राणिता भरेर भोक भोकै मर्ने साहित्यकारहरुको जमातमा मिसिने आँट थिएन म सित । प्रतिफल पलायनबादको बाटो रोज्न बिबश बनेँ म र एक दिन मन भरि सुन्दर सपनाहरु सजाउँदै देस भन्दा टाढाको यो परदेससित मितेरी गाँस्न पुगेँ । अर्थात अभाव , गरिबी र अशान्ति बीच स्वाभाविक रुपमा जागृत हुन पुग्ने मानव महत्वाकांक्षाहरुले बिमुख गरायो मलाई साहित्यबाट ।
हुन त आफ्ना जीवनका संपूर्ण उर्बर समयहरुलाई बिदेसी भूमिमा खर्चेर अहिले आत्मग्लानिबोध र पश्चतापको ज्वालामा जल्नुको कुनै अर्थ हुदैन नै । यद्धपि मन न हो त्यति सजिलै कहाँ मान्दो रहेछ र? सायद केहि साल यता कलम सित रमाउँन थालेकैले होला कलमजीविहरुको चहल पहल सुन्ने बित्तिकै यो मन त्यसै त्यसै उद्वेलित बन्ने गर्छ । तर बिडम्बना ! समयले मलाई सधैँ अवसरबाट बिमुख बनाइरहेको छ । अरु त के कुरा र? आफ्नै कृतिहरुको बिमोचन गर्ने / गराउने उपयुक्त समय समेत कहिल्यै मिलाउन सकेको छैन मैले । फलस्वरुप पुस्ताकाकारमा प्रकाशित मेरो पहिलो र दोश्रो कृति अनारमनी-३, बिर्तामोड झापा निवासी श्रद्धेय दाइ ओमकृष्ण बिमलीको सहयोगमा मेरो अनुपस्थितिमै बजारमा आयो भने उहाँकै सहयोगमा प्रकाशित मेरो तेश्रो कृति “अनुभूतिका बिम्बहरु”ले पनि समयाभावको कारण अग्रज स्रष्टाहरुको बाहुलीबाट बिमोचित हुने सौभाग्य पाउन सकेन । यद्धपि यसको सार्बजनिकिकरणमा कमसेकम आफ्नो उपस्थिति दर्ज गर्ने अवसर भने प्राप्त गरेँ मैले ।
नियाल्छु आफ्नै जीवनका माइलेजहरुलाई । अविपुल, असादृश्य एबं अयुक्तिक जीवनका फेहरिस्तहरु एक पछि अर्को गर्दै फिल्मिकृत हुन थाल्छन् आफ्नै स्मृतिपटलमा । झनै असह्य गरि दुख्छु म । यद्धपि रिपोर्टिङ्गमा उल्लेखित अग्रज स्रष्टाका नामहरु नियाल्दै जाँदा अनायसै मन भित्र एक किसिमको खुशीको आगमन हुन्छ । प्रथमत झापाका कवि तथा कार्टुनिष्ट पवन राजवंशी महानन्द पुरस्कारबाट सम्मानित हुनु भएको कुराले बेसी खुशी बनेँ म । यस अर्थमा कि उहाँले नै मेरो पहिलो कृति उपन्यास “लक्ष्य एक गोरेटो अनेक” को आवरण चित्र तयार गरिदिनु भएको थियो र त्यही उपन्यासको बैसाखी टेकेर मैले आफ्नो पहिलो साहित्यिक यात्रा शुभारम्भ गरेको थिएँ २०६२ मा र आज पर्यन्त अनवरत यात्रारत छु आफ्नै काब्यिकचेतको स्वकीयतामा ।
त्यसै गरी अग्रज स्रष्टा एबं प्राज्ञ राजेन्द्र सुबेदीको उपस्थितिको समाचार पनि मेरो लागि खुशीको बिषय बन्यो । उहाँलाई त संझना छ छैन तर ४८ को दशक ताका उहाँसंग पाँचथरका गाउँ-बस्ती घुमेका थुप्रै दृश्य-चित्रहरु आज पनि ताजै छन् मेरा अन्तस्करणहरुमा । यद्धपि त्यो सहयात्रा साहित्यिक नभइ बिल्कुल फरक उद्धेश्यको थियो । एक अर्थमा भन्ने हो भने उद्धेश्य जे सुकै भए पनि उहाँ जस्तो अग्रज स्रष्टा एबं प्राज्ञ संगको संगतबाट मैले धेरै कुराको बैचारिक ज्ञान हासिल गरेको थिएँ त्यसबेला र त्यो बैचारिक ज्ञान समयको एउटा काल-खन्डमा मेरो लागि निक्कै नै महत्वपूर्ण साबित पनि भएको थियो ।
अग्रज स्रष्टा एबं कबि बिक्रम सुब्बा त मेरो प्रेरणा नै हुन्हुन्छ । आज पनि सम्झन्छु म ति दिनहरुलाई । जतिबेला म भारतीय राज्य पश्चिमबंगालको समाजबादी शिक्षाको कखरा छिचोलेर नेपाली हाईस्कुलमा प्रबेश गरेको थिएँ ठिक त्यति नै बेला देखि केही अग्रज दाइ र दिदीहरुसितको संगतले कबि बिक्रम सुब्बाका सिर्जनाहरुलाई आफ्नो जीवनदर्शनको रुपमा ग्रहण गर्न पुगेँ र समयान्तरमा उहाँका गीत तथा कबिताहरुको नियमित पाठक मात्रै होइन प्रचारक पनि बनेँ म ।
आयामेली कबि बैरागी काइँला , थाम्सुहाङ्ग पुष्प सुब्बा , खगेन्द्र सङ्ग्रौला , कृष्ण धराबासी ,राजेन्द्र परदेशी , बीरेन्द्र तुम्बापो लगायतका संपूर्ण अग्रज स्रष्टाहरु मेरा निम्ति त्यतिकै आदरणीय एबं प्रेरणादायी हुन्हुन्छ । र सन्दर्भबस कुरा ओकल्नु पर्दा बरिष्ठ साहित्यकार समालोचक तथा नेपाली साहित्यमा डायस्पोरा लेखन र उत्तर आधुनिक चिन्तनको ब्याख्याता प्राध्यापक डा. गोविन्दराज भट्टराईको नाम नलिइ मेरो यो आलेख निश्चय नै पुरा हुने छैन । बिशेष गरेर उहाँले ब्याख्या गर्दै आउनु भएको नेपाली साहित्यको डायस्पोरिक लेखनको अवधारणाले मेरो काब्यिकचेतमा एक किसिमको अनुकरणीय उर्जा प्रदान गरेको छ र त्यही प्राप्त उर्जालाई सदुपयोग गर्दै पछिल्लो केहि समय यता मैले आफूलाई अनलाइन साहित्य तर्फ डोर्यायउँने जमर्को समेत गरिरहेकोछु । जसलाई साथ दिइरहनु भएकोछ समकालिन डट कमका संपादक तथा अग्रज स्रष्टा कृष्ण बजगाइँ , अनलाइन लिटेरेचर्सका केदार सङ्केत , आलोपालो डट कमका देवराज राई र नेपाल प्लस डट कमका ददि लगायत अन्य अनलाइन वेब पत्रिकाका अग्रज एबं समकालिन साहित्यप्रेमी मित्रहरुले ।
हो, बिदेसमा बसेकै कारणले उपभोग गर्न पाइरहेको अनलाइन सुबिधा र यसको उपयोगबाट भविष्यमा नेपाली साहित्यमा पुर्याउँन सकिने संभावित योगदानहरुको लेखा जोखा गर्दा आफ्नै आँगनमा संपन्न भएको ऐतिहासिक साहित्यिक महोत्सवको दृश्यपान गर्ने सुअवसरबाट बन्चित बन्नु पर्दाको पीडामा भग्न हृदयको शून्यमनस्कता भित्र जलिरहेको मेरो मन निमेषभरमै प्रफुल्ल बनेर उद्धिप्त भविष्यको मिठो कल्पनामा एका एक सिर्जनशिल काब्यिकचेतमा अनुबाद हुन पुग्छ ।

चैत्र २२, २०६६

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *