– टेकेन्द्र अधिकारी
खोई किन हो !
आज-भोलि हामी
मृत्युदेखि डराउन छाड्यौँ ।
साँच्चै हामीलाई

मृत्यु सामान्य लाग्न थाल्यो
मृत्यु बाँच्दाबाँच्दै हामी
सायद् मृत्युअभ्यस्त भइसकेछौँ ।

गणतन्त्रको अभ्यासले होला
आफैंबाट भाग्ने र आफ्नैबाट तर्सने हामी
आज हामीबाटै परिष्कृत पनि हुँदैछौँ
समयको गतिसँगै हुइँकिएर
भावनाको भेलमा बग्यौँ, धेरै बग्यौँ
हिजो अरुलाई औँलो ठड्याउने हामी
आज आफैंसित कता-कता शंका गर्दैछौँ
क्याट्रिना र रीटाबाट आक्रान्त अमेरिकाजस्तै
हामी अजीव राष्ट्रवादको सुनामीले
आजीत छौँ यतिखेर
जनताकै अधिकारलाई बन्धकीमा राखेर
कोही हाम्रो राज्यसत्ता रजाइँ गर्दैछन्
हाम्रो मुख टाल्ने प्रयत्नमा छन्
हाम्रा कान थुन्ने ध्याउन्नमा छन् ।

हुनसक्छ यो क्रम
अझै बढ्नसक्छ/बढिरहन्छ
तैपनि हामी बेपर्वाह छौँ
हामी किन डराउने अब,
आँखा भएपनि देख्न नसक्नेहरुबाट ?
हामी किन भाग्ने त्यसै,
कान भएपनि सुन्न नसक्नेहरुबाट ?
अनि हामी किन तर्सिने अझै ?
मगजमा कागज खाँदिएकाहरुबाट ?

हामी डराउनुपर्छ
गल्तीहरुबाट
कपनमा कात्रो बाँधेर
संघर्षको मैदानमा उत्रिएका बेला
आत्मसमर्पणबाट
लोभ, लाप र असत्यबाट भाग्नुपर्छ
फूट, गुट र लूटबाट तर्सनुपर्छ
नत्र हामी, लक्ष्य छुन सक्दैनौं
गन्तव्य चुम्न सक्दैनौं
नयाँ इतिहास बनाउने हाम्रो चाहना
अब रोकेर पनि रोक्न सक्दैनौ ।

जनसागरको क्याट्रिना र रीटालाई
अनि पूर्णलोकतन्त्रको सुनामीलाई
अब कसैले छेकेर छेक्न सक्दैन यहाँ
ए ! जनताका हिमायती हूँ भन्नेहरु हो !
तिमीहरु सबैलाई केवल एउटा प्रश्न छ-
कति दिन छेक्छौ जनसागरको यो आँधीलाई ?
कहिलेसम्म रोक्छौ जनइच्छाको यो बाढीलाई ?

सक्छौ भने आऊ
हाम्रा छातिमा गोली वर्षाऊ !
आऊ सक्छौ भने
हाम्रा मुटुमा संगीन रोप !
अझ सक्छौ भने आऊ
हजारौँ/लाखौँलाई एकैचिहान बनाऊ !

तिमीलाई थाहा छैन होला,
राजनीतिक गणितको नयाँ नियम
एक र एक दुई होइन एघार हुन्छ
अर्थात् तिम्रा बादल लागेका आँखाले
हामीलाई केवल एकमात्र देख्न सक्छन्
तर हेर, अलि आँखा च्यातेर हेर !
तिम्रा अगाडि एक देखिने हामी
तिम्रै पछाडि दश भएर तिमीलाई घेर्दैछौँ ।

अब हामी हेर्दैछौँ
सत्ताको न्यानो बर्कोभित्र तिम्रो सक्कली अनुहार
हामी छरपष्ट पार्दैछौँ
तिम्रा वास्तविकता र सबै यथार्थ
च्यात्दैछौँ तिम्रो मुखौटो !

समय छँदै सोच तिमी
हामी दिँदैछौँ तिमीलाई
यो अन्तिम मौका
हामी दिँदैछौँ तिमीलाई
केवल एक मौका
हो, मात्र अब एक मौका ।

ज्यामिरे-८ खोटाङ
हालः विराटनगर, मोरङ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *