– राजेश्र्वर ढकाल
निश्चल कोमल, चंचल नयनी
यो पतझड अनि मरुभुमिबाट
मायाँका अथाह कोशेलीहरु
…शब्द गुच्छाका पुष्प थुङ्गाहरु
पलपल तिम्रो सम्झनाले
ब्याकुल काकाकुल झैं
भुतारिदै , छट्पटिदै बाँचिरहेछु ।
बिडम्बना यो दूरदेशमा,
जिन्दगीको बिस्कुन सुकाएर
तिम्रो खुसीहरु खरिद गर्दैछु
कहिले रासलाफानको च्याम्बर भित्र
कहिले सनैयाको गल्ली भिर
कहिले जमेलियाको मजरा तिर
हाम्रो सुन्दर भविष्य खोज्दैछु
तिम्रो खुसिका थोपाहरु टिप्दैछु ।
गुराँस टिपेर स्वागत गर्न
उत्साहित होलान् तिम्रो ओठ
सिन्दुर भरेर सिउँदो भिर
चढाउँन हतार होलान् तिम्रो बैंश
थोरै लाज अनि थोरै डरले
कामिरहेको तिम्रो शरिर
लजावति झार जस्तै
शीरमा होला बेहुलीको घुम्टो
त्यहि घुम्टो उठाउँन म आउँनेछु
बिहानीको झुल्के घाम बनेर
पूर्णिमाको चन्द्र बनेर
तिमी स्वर्णिम पलको प्रतिक्षामा
बाटो भरि आँखा बिछ्याई रहनु ।
हाल,-नवोदित साहित्यिक मोवाइल पुस्तकालय
दोहा, कतार ।
Please follow and like us: